भीड जुटेन ‘सुपथ मूल्य पसल’मा


मंगलवार चामल खरिदका लागि सुपथ मूल्य पसलमा पुगेकी सन्तोषी मगर रित्तै फर्किइन् । वीरेन्द्रनगर–३ निवासी उनलाई सुपथ पसलबाट चामल खरिद गर्न मन नै लागेन ।
यसअघिका वर्षहरुमा समेत उनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा वीरेन्द्रनगरमा सञ्चालित सुपथ पसलमा खाद्य सामाग्री खरिद गर्न पुग्थिन् । चाडपर्वको समयलाई लक्षित गर्दै सञ्चालन भएको सुपथ पसलमा उनले यसपटक चामल खरिद गरिनन् । उनले भनिन्, ‘वाहिरको जस्तै दरभाउँ भयो । यहाँबाट लैजान एक/दुई सय रुपैयाँ त अटो भाडा नै लाग्छ । वाहिरको भन्दा बोरामा दुई सय रुपैयाँ सम्म सस्तो लाग्यो ।’
खाद्य कम्पनीले वीरेन्द्रनगर बजारको तुलनामा सस्तोमा चामल बिक्रि गर्न नसकेपछि सन्तोषी जस्तै सुपथ पसलमा पुगेर फर्कने नागरिकहरु अरु पनि छन् ।
सुपथ पसलबाट सबै रित्तै फर्कने पनि गर्दैनन् । मंगलवार वीरेन्द्रनगर–३ का नरबहादुर रानाले दुई बोरा चामल किनेर फर्किए । खाद्य कम्पनीले अहिले सुपथ पसल मार्फत ‘स्टिम जिरा मसिनो चामल’ प्रति बोरा दुई हजार एक सय ५० रुपैयाँमा उपलब्ध गराईरहेको छ । यो चामल नागरिकहरुको लागि प्रति किलो ८६ रुपैयाँ पर्छ । यसअघि खाद्यले यो चामल ९३ रुपैयाँ प्रतिकिलो बिक्रि गर्दै आएको थियो ।
मंगलवार मध्यान्नको समयसम्ममा वीरेन्द्रनगर स्थित सुपथ पसलबाट तीन सय ५३ जनाले चामल खरिद गरिसकेका थिए । जिरा मसिनो चामलमा प्रति केजि सात रुपैयाँ छुट दिइएको छ । अघिल्लो आर्थिक वर्षमा सुपथ पसलमा चामल वाहेक अन्य खाद्य सामाग्रीहरु समेत बिक्रिका लागि राखिएका हुन्थे । ति वस्तुको मूल्यमा पनि धेरै सहुलियत दिइएको हुन्थ्यो । २०७९ मा सहुलियत पसलमा ३० किलो जिरा मसिनो चामल एक हजार पाँच सय रुपैयाँमा बिक्रि गरिएको थियो । त्यसैगरी बासमती चामल एक हजार नौ सय ६० र सोना एक हजार दुई सय ९० रूपैयाँमा बिक्री भएको थियो ।
२०७९ को सुपथ पसलमा ३० केजीकै मोटा चामल एक हजार दुई सय रूपैयाँ, मासको दाल प्रतिकेजी एक सय ३८, मल्का एक सय ४८ र अडहर प्रतिकेजी एक सय ७१ रूपैयाँमा बिक्रिका लागि राखिएको थियो ।
हालको समयमा वीरेन्द्रनगरको सुपथ पसलमा जिरा मसिनो चामल मात्र बिक्रिका लागि राखिएको छ । कर्णालीका अन्य जिल्लामा भने सोना, अरुवा मोटो, जिरा लगायतका चामल बिक्रिका लागि राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख माधव मिश्रले जानकारी दिए ।
कर्णालीभर ११ हजार क्विन्टल चामल
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीका नौं जिल्लामा ११ हजार क्विन्टल चामल सुपथ पसलमा बिक्रिका लागि व्यवस्था गरेको छ ।
वीरेन्द्रनगरमा दुई हजार क्विन्टल चामल सुपथ पसलका लागि छुट्टाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, कर्णालीका प्रमुख माधव मिश्रले जानकारी दिए । त्यसैगरी हुम्लामा दुई हजार पाँच सय, दैलेखमा पाँच सय, जाजरकोटमा ६ सय, मुगुमा एक हजार पाँच सय, कालिकोटमा एक हजार र डोल्पामा एक हजार दुई सय क्विन्टल सुपथ पसलका लागि छुट्टाइएको उनले जानकारी दिए ।
जुम्लामा समेत एक हजार दुई सय र रकुम पश्चिमका लागि पाँच सय क्विन्टल चामल सुपथ पसलका लागि छुट्टाइएको छ ।
दुई दिनमा एक हजार आठ सय क्विन्टल चामल बिक्रि
आईतवारबाट कर्णालीमा सुपथ पसलहरु सञ्चालनमा आएका थिए । सोमवारसम्ममा सुपथ पसल मार्फत कर्णाली भर एक हजार आठ सय ३३ दशमलव २० क्विन्टल चामल बिक्रि भएको खाद्य कम्पनीको तथ्यांक छ ।
बिक्रि परिमाणका आधारमा हेर्दा हुम्लामा सबैभन्दा धेरै ६ सय ८३ दशमलव २५ क्विन्टल चामल बिक्रि भएको छ । त्यसैगरी दैलेखमा ९६, सुर्खेतमा एक सय १८ दशमलव ५०, जाजरकोटमा ९९ दशमलव ९५, मुगुमा तीन सय २५ क्विन्टल चामल बिक्रि भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
त्यसैगरी कालीकोटमा एक सय ६ दशमलव ३५, जुम्लामा एक सय ५२ दशमलव पाँच, डोल्पामा दुई सय ४१ दशमलव नौं र रुकुम पश्चिममा नौं दशमलव ७५ क्विन्टल चामल दुई दिनको अवधिमा बिक्रि भएको हो ।





