संवेदनशील क्षेत्रमा कमान्डो सेन्टर सुरक्षामा चार हजार प्रहरी खटाइन


सुर्खेत, १७ असोज । दशैं र तिहार लगायतका ठूला चाडपर्व नजिकिएसँगै कर्णाली प्रदेशमा विशेष सुरक्षा योजना लागू गरिएको छ । दशैं–तिहार र छडपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागु गरेको हो । चाडपर्वमा हुने अपराधलाई न्यूनिकरण गर्न प्रहरीले ‘ चाडपर्व सुरक्षा योजना’ लागू गरिएको जनाएको छ ।
जुवातास नियन्त्रणदेखि विशेष अप्रेशनसम्म उक्त योजनामा समेटिएका छन् । दशैं र तिहारको बेलामा प्रदेशमा हुन सक्ने सम्भावित अपराध रोक्न चार हजारभन्दा बढी सुरक्षाकर्मीहरु खटाने भएको छ । अपराधिक गतिविधि नियन्त्रण तथा सडकमा हुने दुर्घटना रोक्ने उद्देश्यले कुल चार हजार तीन सय ५१ जना सुरक्षाकर्मी खटाइने प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता अर्जुन चन्दले जानकारी दिए ।
चाडपर्व अवधिभर जुवातास तथा घरेलु मदिरा नियन्त्रण, सरकारी तथा महत्वपूर्ण प्रतिष्ठानहरुमा हुनसक्ने अपराधिक घटना, बैंक तथा वित्तिय संघसंस्थाहरु हुनसक्ने चोरी डकतै, होटल, सुनचाँदी पसल, बसपार्क लगायतका क्षेत्रहरुमा विशेष सुरक्षा अपनाइएको छ ।
सुरक्षाको लागि सादा पोशाक, पैदल गस्ती, क्यूआरटी, स्ट्राईकिङ, पिकेट, मोबाइल गस्ति, कर्डन एण्ड सर्च, राजमार्ग चेकिङ, ट्राफिक प्रहरी सहितको आकस्मिक संयुक्त चेकिङ र नियमित चेकजाँच जस्ता रणनीति अपनाइएको हो ।
जसमा हरेक जिल्लामा विशेष सुरक्षाकर्मीसहितको कमान्डो सेन्टर राखिएको छ । अपराधिक गतिविधि हुनसक्ने क्षेत्र र सेन्टर प्वाइन्टमा कमान्डो सेन्टर राखिएको हो । घटनाको तत्काल उद्दार गर्नेगरी आवश्यक स्रोत साधनसहितको कमान्डो सेन्टर राखिएको प्रहरीले जनाएको छ । त्यस्तै बजार र मुख्य क्षेत्रहरुमा सीसीटिभी, लिडरस्पीड हिडर जस्ता आधुनिक प्रविधिको प्रयोग गरेर सुरक्षा निगरानी बढाइएको छ ।
बैंक, बित्तिय संघसंस्था तथा आर्थिक कारोवार बढी हुने स्थानहरूको सादा पोशासकसहितका सुरक्षाकर्मीहरु खटाइएको छ । राजमार्गमा हुने दुर्घटा न्यूनिकरणदेखि अपराधीलाई भाग्न नदिन नाकामा चेकजाँच, मोवाइल गस्ती लगायतका रणनीतिहरु अपनाएको हो । घटनाहरु अपराधीहरुलाई उम्किन नदिने उद्देश्यले नाका र विशेष स्थानमा आवश्यक चेकजाँच गरिने छ ।
तालिम प्राप्त कुकुरसहित सीमानाकामा चेकिङ गरिने छ । अपराधिक गतिविधिहरु हुन नदिन आकस्मिक चेक प्वाइन्ट, मोबाइल, पैदल एवं मोटरसाइकल गस्ती गर्ने प्रहरीको तयारी छ ।
त्यस्तै भिभीआइपी र भीआइपीको सुरक्षाका लागि छुट्टै प्रहरी टोली खटाइने छ । चाडपर्वमा खाली रहेका घरहरुकोसमेत प्रहरीले सुरक्षा दिनेछ यवस्थापन गरेको प्रहरीको दाबी छ ।
सुर्खेतको सुरक्षामा पाँचसय सुरक्षाकमी
प्रदेशको राजधानी सुर्खेत मात्रै प्रहरीले पाँचसय बढी सुरक्षाकर्मीहरु खटाएको छ । चाडपर्वमा हुने अपराधिक गतिविधि र सडक सुरक्षाका लागि सुरक्षाकर्मीहरु खटाइएको हो । आर्थिक कारोबार बढी हुने क्षेत्र, खाली रहेका घरहरु र विशिष्ट व्यक्तिहरुको क्षेत्रमा छुट्टै सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
चाडपर्व अवधिभर सादा पोशाकमा प्रहरीले हाइवेगस्ती र पैदल गस्ती गर्नेछ । सुर्खेतमा प्रहरीले बसपार्क, पूर्वमा छिन्चु र पश्चिममा बड्डीचौरमा नागरिक सहायता कक्षसमेत राखेको छ । यात्रुहरुको भिडभाड बढ्ने भएका कारण यात्रुहरुको सहजताका लागि यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।
राजमार्गको सुरक्षामा ध्यान दिन प्रशासनको निर्देशन
जिल्ला प्रशासन कार्यालय सुर्खेतले राजमार्गको सुरक्षामा ध्यान दिन प्रहरी, यातायात समिति तथा सडकसँग सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिएको छ । कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र यातायात समितिहरुलाई राजमार्गको सुरक्षामा ध्यान दिन निर्देशन हो ।
चाडपर्वमा अत्यधिक सवारीसाधनको चहलपहल हुने भएकोले राजमार्गको सुरक्षालाई ध्यान दिन प्रशासनले निर्देशन दिएको हो । यस्तै सडकका खाल्डाखुल्डी पुर्न तथा मर्मत गर्न बजेटको अभाव भन्न नपाइने भन्दै जसरी पनि मर्मत गर्न प्रशासनले निर्देशन दिएको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले अटोहरुले गति तीव्र, बढी भाडा लिएको गुनासो दिनहुँ आइरहेकोले यसको व्यवस्थापनमा सरोकारवाला पक्षबीच छलफल गरिने बताए । ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज उपेन्द्र आचार्यले नगरभित्रका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको, गाडीको गति बढ्दो रहेको बताए ।
नौ सय ७२ स्थानमा विशेष सुरक्षा
यस्तै प्रहरीले चाडपर्व अवधिभर कर्णाली प्रदेश प्रहरी कार्यालयले विभिन्न नौ सय ७२ वटा विशेष क्षेत्रमा सुरक्षाकर्मी खटाएको छ । अपराधिक गतिविधि हुनसक्ने सम्भावित स्थानमा २४ घण्टा नै सुरक्षाकर्मी खटिने छन् । त्यस्तै एकसय २९ स्थानमा मापसे चेकिङ व्यवस्था मिलाइएको छ । प्रदेशका ४६ स्थानमा ट्राफिक सहितको संयुक्त चेकिङ गर्ने रणनीति लिइएको छ । प्रदेश भित्रिने मुख्य तीन नाकासहित प्रदेशका सहायक नौं वटा सीमाना नाकाहरुमा चोरी तस्करी नियन्त्रणको लागि विशेष टोली खटाइएको छ । जसका लागि सादा पोशाक, मोवाइल गस्तीसहितको चेकिङ प्वाइन्टहरुमा प्रहरीहरु खटाइएका हुन् ।
यस्तै झै– झगडा हुनसक्ने, जुवातास खेलिने, चोरी तथा लुटपाट हुनसक्ने ७० स्थानमा पनि सुरक्षाकर्मीहरु खटाइने छ । जसका लागि जुवातास खेलिने र झ–झगडा हुने स्थानहरुको पहिचान गरिएको छ । शहर क्षेत्रमा जुवातास, ग्रामीण क्षेत्रमा झै– झगडा र आर्थिक कारोबार हुने स्थानमा चोरीडकैतीका घटना हुनसक्ने प्रहरीले अनुमान छ ।
राजमार्गको सुरक्षालाई ध्यान दिँदै तीनसय ८७ स्थानमा स्कर्टिङ, मोवाइल गस्ती, पैदल गस्ती थालेको छ । प्रदेशका विभिन्न ३८ स्थानमा यात्रु सहायता कक्ष राखिएको छ । बसपार्क तथा काउन्ट नजिक र राजमार्गमा यात्रु सहायता कक्षहरु राखिएको हो ।
त्यस्तै आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थलहरुको सुरक्षा तथा बजार अनुगमका लागि ९७ स्थान विशेष सुरक्षा टोली खटाएको छ । विशेष क्षेत्रमा चार हजारभन्दाबढी सुरक्षाकर्मी खटिंदै छन् ।






