वर्षापछिको बाढीले काठेपुलसँगै घट्ट बगायो
जाजरकोट । लगातार परेको अविरल वर्षाका कारण बुधबार बेलुकी डोल्पाको ठूलीभेरी नगरपालिका–६ दुरगाउँस्थित खोलामा काठेपुलसहित पानी घट्ट बगाएको छ।
कोठेपुल बगेसँगै स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ। घट्ट बगाएसँगै करिब ३५० घरधुरीले अन्न कुटानी, पिसानी गर्न मुस्किल परेको स्थानीयबासी लक्ष्मी कार्कीले जानकारी दिए । त्यस्तै, स्थानीय घट्टेखोला जलविद्युत आयोजनाको विद्युत सञ्चालन गर्नका लागि जाने बाटो नै अवरुद्ध भएपछि दुई घण्टा लामो बाटो प्रयोग गर्नुपरेको कार्कीले बताए।
त्यस्तै, दुरगाउँकै हिमालय आधारभूत विद्यालयको भवन पहिरोले भत्काएको छ। विद्याय भत्काएसँगै नयाँ कसरी बनाउने चिन्ता थपिएको छ। वडा नं ६ कै यार्सागुम्वा संकलन गर्ने रुपपाटनमा लिएका २० गाई, गोरु मरेका छन्। निरन्तर पानी पर्दा चिसोका कारण गाइगोरु मरेका हुन्।
त्यस्तै, जुफालबाट दुनै जाने सडकको बीचमा रहेको खोलामा पानीको मात्रा बढेका कारण अस्थायी रुपमा हालिएको काठेपुलमा क्षति भई समस्या भएको ठूलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले बताए।
टेलिफोन सेवा अवरुद्ध
जाजरकोट सदरमुकाम र अन्य ६ वटा स्थानीय तहको सञ्चार सेवा विच्छेद भएको छ। निरन्तर वर्षाका कारण टेलिफोन टावरमा रहेका सोलारमा चार्ज नहुँदा टावरहरु अवरुद्ध भएका हुन्। सदरमुकाममा समेत तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ। फोन सेवा नहुँदा कुशे गाउँपालिका ८ र ९ का ७ जना बेपत्ता स्थानीयको बारेमा जानकारी आउन सकेको छैन।





