हामीले बिगारेका केटाकेटी !
विजयमणि पौडेल । ‘हामी इञ्जिनियरहरूले बाटो र पुल बनायौं । बत्ती बाल्यौं । सडकले शिक्षा लानुपर्ने थियो । तर गाउँमा सडक आएपछि बियर, कोक, चुरोट र चाउचाउ मात्र पुगेछ । गाउँमा बत्ती बलेपछि बालबालिकाले पढ्न पाउनुपर्ने थियो । तर त्यही बत्तीमुनि जुवा र तास मात्र खेलिएछ ।’
आठ वर्ष अगाडि ग्रामीण ललितपुरको एउटा सार्वजनिक विद्यालयमा शिक्षकका रूपमा काम गर्न पुगेका एक सिभिल इञ्जिनियरले आफ्नो अनुभव सुनाउँदै भनेका थिए । उनले भनेजस्तै हामी देख्न सक्छौं– ठाउँठाउँमा सडक, पुल र भवनहरू बनेका छन् । मानिसहरूका हातहातमा मोबाइल फोन पुगेको छ । २००७ सालदेखि आजसम्म शासन व्यवस्थामा पनि उथलपुथल भएको छ। राणाशासन, पञ्चायत, राजतन्त्र हुँदै हामी लोकतान्त्रिक गणतन्त्रमा छौं ।
व्यवस्था परिवर्तनपछि त्यसलाई संस्थागत गर्न र दिगो बनाउन आज र भोलिको पुस्ता तयार हुनु पर्ने थियो । आजको पुस्ताले आफ्नो सोच र कर्ममाथि आत्मालोचना गर्दै दुःखले ल्याएको लोकतन्त्रका लागि भोलिको पुस्ता तयार गर्नु पर्थ्यो । तर त्यस्तो हुन सकिरहेको छैन । भोलि समाजको नेतृत्व लिने पुस्ता ओझेलमा छ । भन्न त बालबालिकालाई हामी भविष्यका कर्णधार भन्छौं ।
तर उनीहरूलाई हेप्छौं । कसैले केही अपरिपक्व काम ग¥यो भने ‘कस्तो बच्चाजस्तो’ भन्दै व्यंग्य गर्छौं। उनीहरूको आवाज सुन्दैनौं । घर, विद्यालय र समाजमा प्रश्न गर्न र आफूभन्दा ठूला मानिसलाई चुनौती दिन बन्देज लगाउँछौं ।
केटाकेटीलाई हेर्ने हो भने उनीहरू साना–साना खुसीमा रमाउँछन् । झुटो बोल्दैनन् । खुला भएर आफ्ना भावना अभिव्यक्त गर्छन् । रून्छन् । हाँस्छन् । बेफिक्री भएर हिँड्छन् । दौडिन्छन् ।
लड्छन् । फेरि उठ्छन् । बालबालिकालाई जीवनको लक्ष्यबारे सोध्ने हो भने अचम्मका कुरा गर्छन् असल मान्छे बन्ने, कसैलाई दुःख नदिने, भ्रष्टाचार रोक्ने, बालविवाह रोक्ने, समाज सेवा गर्ने, आफ्नो ठाउँ आफैंले बनाउने, आत्मनिर्भर बन्ने, समाज र देशलाई स्वाबलम्बी बनाउने । आजको जमानामा हामीले खोजेको आदर्श नागरिक बालबालिकाले सोचेजस्तै हो ।
दुःखको कुरा, उमेर बढ्दै जाँदा र कक्षा चढ्दै जाँदा बालबालिकाको मनको स्वच्छता विस्तारै हराउँदै जान्छ । शिक्षा पाएपछि उनीहरूको शरीर र मस्तिष्कको स्वच्छता बढ्दै जानुपर्ने हो, तर घट्दै जान्छ । समाजमा भिजेर ठूलो हुँदै जाँदा विस्तारै उनीहरू झुटो बोल्न सुरू गर्छन् । आफ्ना भावना लुकाउन थाल्छन् ।
अनि शनैः शनैः समाजका विकृतिहरूको दलदलमा फस्छन् । आफू बन्छु र देश बनाउँछु भन्दै विद्यालयको भित्तेपत्रिकामा निबन्ध र कविता लेख्ने तिनै बालबालिका ठूलो भएपछि भ्रष्टाचार गर्न सुरू गर्छन् । अपराधमा लाग्छन् । आफ्नो काममा गैर–जिम्मेवार देखिन्छन् । वादविवाद प्रतियोगितामा तर्कका आधारमा पक्ष र विपक्षमा बोल्ने बालबालिका ठूला भएपछि स्वार्थ र लहैलहैका आधारमा कुनै गुट वा समूहको पछि लाग्न थाल्छन् ।
यसको अर्थ हो, आज हामीले घर, विद्यालय र समाजमा केटाकेटी जसरी हुर्काइरहेका छौं, त्यो तरिका परिवर्तन हुनु आवश्यक छ । हालको अवस्थामा क्रमभंगता नहुने हो भने भोलि देश चलाउने विभिन्न ओहोदाका पात्र पनि आजभन्दा फरक हुने छैनन् । अनि आज जस्तो छ, भोलिको सडक, सदन, सरकार र समाज पनि त्यस्तै हुनेछ। भोलि पनि आज जस्तै लोकतन्त्रकै लागि लडिरहनुपर्ने छ ।
काडमाडौं, वाफलको ज्ञानोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा धेरै ठाउँमा एउटा अनुभव सुनाउँछन् । विद्यालयका प्रधानाध्यापक भएलगत्तै उनको विद्यालयले एसएलसीमा उत्कृष्ट नतिजा ल्याएछ । मानिसहरूले उनको प्रशंसा गरेछन् । तर उनी भन्छन्, ‘यो नतिजा म प्रधानाध्यापक भएर आएको होइन । विद्यालयमा यो ब्याच नर्सरीमा हुँदादेखि हामीले नयाँ अभ्यास थालेका थियौं। मिहिनेत बढी गरेका थियौं । त्यसैको प्रतिफल हो ।’
एउटा विद्यालय बनाउन नर्सरीदेखि सुरू गर्नु परेजस्तै देश बनाउन र लोकतन्त्र जोगाउन विद्यालय र बालबालिकाको शिक्षा र हुर्काइबाट सुरू गर्नुपर्छ । बालबालिकाको शिक्षा र हुर्काइको दायित्व शिक्षकको मात्र होइन । हो, शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ। पाठ्यक्रमको बोध गराउने, केही सीप, ज्ञान र चरित्र सिकाउने भूमिका शिक्षककै हो । तर शिक्षक मात्र लागेर हुँदैन। एउटा विद्यार्थी शिक्षकको नजिक त दिनको ६ घन्टा हुन्छ ।
बाँकी समय ऊ परिवार, साथी, समुदायका मानिस र मिडियासँग हुन्छ । उसले अरूले गरेको व्यवहार हेर्छ, सुन्छ, अन्वेषण गर्छ । सोहीअनुसार आफू पनि गर्न खोज्छ । एउटा अफ्रिकी उखान छ, ‘एउटा बच्चा हुर्काउन एउटा सिंगै गाउँ लाग्नुपर्छ ।’ सुरूमा त संसद र सरकारले केटाकेटीको सर्वांगीण विकासलाई प्राथमिकतामा राख्नैपर्छ । बालबालिकालाई केन्द्रमा राखेर छलफल, योजना निर्माण र त्यसको कार्यान्वयन गर्नुपर्छ ।
योसँगै देशमा समृद्धि र शान्तिको अपेक्षा गर्ने हो भने हरेक क्षेत्रका सचेत नागरिकले यो जिम्मेवारी लिनैपर्छ । बालबालिकाहरू त्यही सिक्छन्, जे हामी देखाउँछौं । विज्ञहरू भन्छन्, बालबालिकाले हामीले उनीहरूलाई के उपदेश दियौं भन्दा पनि कस्तो व्यवहार ग¥यौं, त्यसबाट सिक्छन् । व्यवहार र चरित्र पढाउने र सिकाउने कुरा होइन, देखाउने कुरा हो ।
धेरै सकिँदैन भने पनि आफ्नो कर्मबाट केही कुरा सिकाउन सकिन्छ । आज समाज बनाउन रगत बगाउनुपर्छ भन्ने छैन । फेरि शहीद बन्नु नपर्ला । तर आफ्नो घर, टोल र आफ्नो सम्पर्कमा आउने बालबालिकाका अगाडि इमानदार भएर सत्कर्म मात्र प्रदर्शन गर्न सकियो भने समाजको भलो हुनेछ ।
के हामी जिम्मेवारीबोध सिकाउन सक्छौं ?
विद्यालयमा विद्यार्थीहरूले घोक्नुपर्छ, आफ्नो कामको जिम्मेवारी आफैंले लिनुपर्छ भनेर सिकाउँछौं । उनीहरूले त्यो कुरा रट्छन्, परीक्षामा अंक पनि ल्याउँछन् ।
तर, समाजमा कसैले यो अभ्यास गरेको देखेनन् भने व्यवहारमा उतार्न सक्दैनन् । कुनै कामको जिम्मेवारी लिइसकेपछि त्यसको सफलता मात्र होइन, असफलताको पनि भागिदार आफैं हो । विभिन्न बहानाहरूबाट भाग्न पाइँदैन ।
तर, मिडियाहरूमा एकले अर्कालाई दोष थोपरेको समाचार धेरै नै आउँछन् ।
समाजको अग्रभागमा देखिने मानिसले जिम्मेवारीबोधको अभ्यास नगर्दा त्यसले केटाकेटीको मनस्थितिमा नकारात्मक प्रभाव पार्छ । परीक्षामा जवाफ लेखेर उत्कृष्ट अंक आए पनि उनीहरूले गैर–जिम्मेवार बन्न सिकिरहेका हुन्छन् ।
के हामी इमानदारिता सिकाउन सक्छौं ?
हालचालै संसद पुनःस्थापना हुनुअगाडि एउटा समाचार आएको थियो– मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान ।
उक्त समाचारका अनुसार धेरै मन्त्रीहरू निर्वाचन तयारीका लागि देश दौडाहामा थिए । हुन् त यो हाम्रो देशको लागि साधारण घटना हो । जुनसुकै राजनीतिक दलको भए पनि प्रधानमन्त्री र मन्त्रीहरू सरकारको काम छाडेर आफ्नो दलगत काममा सक्रिय सहभागी भएका बग्रेल्ती उदाहरण छन् ।
तर बालबालिकाले पाउने शिक्षाको नजरले हेर्ने हो भने यो निकै घातक छ । यस्ता घटनाबाट हामी नयाँ पुस्तालाई समेत गैर–इमानदारिता र स्वेच्छाचारिता सिकाइरहेका छौं ।
के हामी लोकतान्त्रिक चेतना सिकाउन सक्छौं?
हामीले कर्मले भन्दा पनि पदले सम्मानित हुने समाज बनाएका छौं । भोट दिएर जिताएको आफ्नै प्रतिनिधिलाई पनि माननीय र सम्माननीय भन्नुपर्छ ।
हेलिकप्टर वा गाडी चढेर आउनेलाई सजाएको मञ्चमा राख्छौं, आरामदायक सोफा वा कुर्सीमा राख्छौं । खादा र माला लगाइदिन्छौं । (सेतोपाटी)





