शीतयुद्धभन्दा खतरनाक हुँदैछ अमेरिका-चीन तनाव

एजेन्सी | अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङ प्रशासनका वरिष्ठ अधिकारीहरूबीच हुने वार्तालाई निकै महत्व दिइन्छ। किनकी, तनावपूर्ण सम्बन्ध झेलिरहेका विश्वका दुई महाशक्तिले अब के गर्लान् भन्नेमा सबैको चासो रहन्छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवनले बिहीबार (आज) चीनका विदेशमन्त्री वाङ यी र वरिष्ठ कूटनीतिज्ञ यङ जिइचीसँग भेटघाट गर्दैछन् । यो भेट हुँदैगर्दा बाइडेनको टीमले आफूहरू कुनै भ्रममा नरहेको बताइरहेको छ। ब्लिंकेनले यो कुनै रणनीतिक वार्ता नभएको र यतिखेर कुनै हल्लाका पछि नलाग्ने प्रतिक्रिया दिएका छन्। अमेरिकी चासो र चिन्तालाई चीनले ठीक ढंगले सम्बोधन गरे र त्यसमा प्रगति भएमात्रै दुई देशबीच समन्वयको बाटो थप फराकिलो हुनसक्ने उनले बताइरहेका छन्।
पछिल्ला केही वर्षयता अमेरिका र चीनबीचको सबन्ध निकै तनावपूर्ण रहिआएको छ। सुधार हुने कुनै संकेत देखिएको छैन । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार पदमा नियुक्त हुनुअघि सुलिवानले एसिया मामिलामा बाइडेनका शीर्ष सल्लाहकार कुर्ट क्याम्बेलसँग फरेन अफेयर्स पत्रिकामा एक सहलेखन गरेका थिए। सो लेखमा उनले चीनसँग वार्ताको सम्भावना समाप्त हुने अवस्थामा पुगेको दाबी गरेका थिए।
वासिङ्टन र बेइजिङबीच सम्बन्ध कस्तो छ भनी थाहा पाउन गाह्रै पर्छ। नीतिगत विकल्पको मानकलाई नै निर्धारण गर्ने यो सम्बन्धबारे धेरैको चासो रहिआएको छ। सम्बन्धमा तलमाथि हुँदा दुई देशबीच वार्तालापकै श्रृंखला टुट्ने गर्छ।
इतिहास सधैँ दोहारिन्छ भन्ने हुँदैन। चुलिँदो मतभेद आपसी समानतामै भारी पर्नसक्छ । अहिले अमेरिका–चीनबीच कायम तनावमा त्यतिखेर झैँ टकरावको आवाज सुनिएको छ। मौजुदा तनावलाई आम स्तरमा नयाँ शीतयुद्ध भन्न थालिएको छ। २० औं शताब्दीको झण्डै आधा समयसम्म अमेरिका र रूसबीचको शीतयुद्ध विश्वले ब्यहोर्नुपरेको थियो। सो युद्धको सन्त्रासपूर्ण छायाले विश्वलाई नै ढाकेको थियो ।
अहिले स्थिति लगभग त्यस्तै छ। बाइडेन प्रशासनले यसै महिना अन्तरिम विदेशी नीति सम्बन्धी रणनीति नोटिस जारी गरेको छ, जसअनुसार चौतर्फी मुखर भइरहेको चीनलाई नै आर्थिक, कूटनीतिक, सैन्य र व्यापार दृष्टिकोणले सम्भावित प्रतिद्वन्द्वी मानिएको छ। साथै, चीन अब खुला अन्तरराष्ट्रिय व्यवस्थालाई पार गर्ने अवस्थामा पुगेको उल्लेख छ ।
बाइडेन प्रशासनको मूलमन्त्र नै आवश्यक परेका बेला चीनलाई चुनौती दिने र विश्वमा जहाँ सम्भव हुन्छ : त्यहाँ सहयोग गर्ने रहेको छ । दोस्रोतर्फ, चीनले पनि यही रणनीति अपनाइरहेको छ। एकातर्फ बेइजिङ रचनात्मक सम्बन्ध कायम गर्न र अर्कातर्फ आफ्नो हितलाई ध्यानमा राख्दै आवश्यक कदम चाल्न तयार अवस्थामा देखिन्छ। हङकङको लोकतान्त्रिक प्रदर्शनमा गरिएको दमनदेखि देशभित्रै वीगर मुसलमान समुदायमाथि उत्पीडन मामिलामा चीनले आफ्नो हितलाई नै केन्द्रमा राखिरहेको छ ।
आफ्ना सामाजिक र आर्थिक मोडललाई थप प्रभावकारी बनाउन र प्रचार गर्न अमेरिकी कमजोरी चीनका लागि सहायकसिद्ध भइरहेका छन् । अमेरिका र चीनबीचको सम्बन्धलाई सर्सती नियाल्दा शीतयुद्धको संज्ञा दिन सकिन्छ। तर के, वास्तवमा स्थिति यस्तै हो त ?
शीतयुद्धताका तत्कालीन सोभियत संघ र उसका सहयोगी देश विश्व अर्थव्यवस्थाबाट अलग थियो। ती देशमाथि निर्यात प्रतिबन्ध लागेको थियो । अहिलेको स्थितिमा चीन विश्व अर्थव्यवस्थाको मुखिया बनिसकेको छ । त्यहाँको अर्थव्यवस्था निकै हदसम्म अमेरिकी अर्थव्यवस्थासँग जोडिइसकेको छ ।
अमेरिका र सोभियत संघबीच शीतयुद्ध हुँदा प्रयोगको क्षेत्र निकै महत्वपूर्ण थियो। पहिलो त हतियारलाई लिएर होडबाजी थियो र पछि त्यो अन्तरिक्षसम्म पुग्ने प्रतिष्पर्धासम्म फैलियो ।
अहिले अमेरिका र चीनबीच भइरहेको नयाँ शीतयुद्धमा पनि प्रयोगले नै महत्वपूर्ण स्थान ओगटेको छ। कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिलिजेन्स) र पाँचौं पुस्ताको इन्टरनेट (फाइभ जी) सेवा प्रयोगसम्म यो लडाइँ तन्किएको छ ।
शीतयुद्धको खतरनाक मोडल
अहिले वैश्विक परिदृश्य बदलिइरहेको छ। शीतयुद्धको समयमा विश्वभर दुई स्थिर गुट थिए । केही महत्वपूर्ण देश असंलग्न पनि थिए (पश्चिमाले यी देशहरूलाई सोभियत समर्थन नै भन्ने गर्थे।)
अहिले विश्व बहुध्रुवमा बाँडिएको छ। उदारवादीहरूमाथि अहिलेजस्तो खतरा कहिल्यै मडारिएको थिएन । यो क्रम जारी रहँदा विश्वभर नै चीन आफ्नो दृष्ट्रिकोण फैलाउन र कार्यान्वयन गराउन (लाद्न) सफल भइरहेको छ ।
तर शीतयुद्धको मोडल निकै खतरनाक छ। यो यस्तो राजनीतिक संघर्ष थियो–जहाँ दुवै पक्षले एक अर्कोको वैधता नै अस्वीकार गर्थे । अन्तिम स्थितिमा सोभियत संघ पराजित भयो। त्यतिखेर रूसमा रहेको व्यवस्था अब इतिहास भइसकेको छ ।







