बर्दियाका सय युवालाई करियर परामर्श र व्यवसाय अभिमुखीकरण

बर्दिया ,१५ कार्तिक ।
युवाहरूलाई बजारको मागअनुसार व्यवसाय छनोट गर्न, रोजगारीका अवसर पहिचान गर्न र आर्थिक रूपमा आत्मनिर्भर बनाउन बर्दियाका दुई स्थानीय तहमा करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।

बाँके युनेस्को क्लब (बीयूसी) ले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित युवा सशक्तीकरण तथा रूपान्तरणका लागि नवप्रवर्तन (YETI-II) परियोजनाअन्तर्गत मधुवन र ठाकुरबाबा नगरपालिकामा कार्यक्रम सञ्चालन गरेको हो।

एकदिने अभिमुखीकरण चारवटा छुट्टाछुट्टै सत्रमा सञ्चालन गरिएको थियो। प्रत्येक सत्रमा २५ जनाका दरले दुवै पालिकाका गरी एक सय जना युवाको सहभागिता रहेको थियो। कार्यक्रममा मधुवन नगरपालिकाका वडा नम्बर १ र २ तथा ठाकुरबाबा नगरपालिकाका वडा नम्बर ३, ४ र ५ का युवाहरू सहभागी भएका थिए।

कार्यक्रममा युवाहरूलाई स्थानीय बजारको माग, सम्भावित आयआर्जनका क्षेत्र, उपभोक्ताको रुचि तथा उपलब्ध स्रोतसाधन र सीपका आधारमा उपयुक्त व्यवसाय छनोट गर्ने विषयमा जानकारी दिइएको थियो। विशेषगरी कृषि, पशुपालन तथा स्थानीय परिवेशअनुकूल उत्पादनमूलक र सेवामूलक व्यवसायका सम्भावना पहिचान गर्न जोड दिइएको थियो।

सहभागितामूलक कार्यक्रम दृश्याङ्कन विधि (भीआईपीपी) मार्फत सञ्चालन गरिएको अभिमुखीकरणमा मेटाकार्ड अभ्यास, अन्तरक्रियात्मक छलफल तथा समूहगत क्रियाकलाप समावेश गरिएको थियो। सहभागीहरूलाई बजारको सम्भाव्यता मूल्याङ्कन, व्यावसायिक प्रतिस्पर्धा, सम्भावित जोखिम, लगानी क्षमता र व्यवसायको दिगोपनाबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

त्यसैगरी, वातावरणमैत्री व्यवसाय, जलवायु उत्थानशीलता, स्रोतसाधनको दिगो उपयोग, प्रभावकारी जोखिम व्यवस्थापन तथा उपभोक्ताको आवश्यकता बुझेर गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा समेत छलफल गरिएको थियो।

विनय दिल लामाले सहजीकरण गर्नुभएको कार्यक्रममा YETI-II परियोजनाका संयोजक राधेकृष्ण थारुले युवा उद्यमशीलता, रोजगारीका अवसर र आर्थिक आत्मनिर्भरता प्रवर्द्धनमा करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणको महत्वबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा परियोजनाका फिल्ड अफिसर सृजना थारु र सुनिता चौधरीले व्यवस्थापन, समन्वय तथा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा सहभागी कल्पना थारुले अभिमुखीकरणबाट आफ्नो रुचि, सीप, उपलब्ध स्रोतसाधन र बजारको सम्भावनाका आधारमा उपयुक्त व्यवसाय छनोट गर्ने विषयमा महत्वपूर्ण ज्ञान प्राप्त भएको बताउनुभयो। उहाँले कार्यक्रमले भविष्यको लक्ष्य स्पष्ट बनाउन तथा आर्थिक आत्मनिर्भरता र दिगो आयआर्जनका लागि अघि बढ्न प्रेरणा दिएको उल्लेख गर्नुभयो।

उहाँले तालिमबाट प्राप्त ज्ञान र मार्गदर्शनले आगामी दिनमा सही व्यावसायिक निर्णय लिन र आफू तथा आफ्नो परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमले युवाहरूलाई आफ्नो रुचि र क्षमतालाई बजारमा उपलब्ध आर्थिक अवसरसँग जोडेर उद्यमशीलतातर्फ अघि बढ्न प्रेरित गरेको आयोजकले जनाएको छ। युवाहरूलाई आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्दै स्वरोजगारका अवसर सिर्जना गर्ने तथा स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

युवा सशक्तीकरण तथा रूपान्तरणका लागि नवप्रवर्तन (YETI-II) परियोजना प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले कार्यान्वयन गरिरहेको छ।

बर्दियाका सय युवालाई करियर परामर्श र व्यवसाय अभिमुखीकरण

कर्णालीका जडीबुटीबाट चार करोड राजस्व सङ्कलन

बर्दियाका सय युवालाई करियर परामर्श र व्यवसाय अभिमुखीकरण

बर्दियाका सय युवालाई करियर परामर्श र व्यवसाय

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!