यसबर्ष दसैंमा टीकाको साइत बिहान १०ः१९ बजे
काठमाडौं, १६ असोज ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस बर्षको दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसैं शुरु हुँदैछ । घटस्थापनाको साइत कात्तिक १ गते बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । कात्तिक ७ गते शुक्रबार फूलपाती छ ।

फूलपाती भित्र्याउन साइत आवश्यक पर्दैन । कात्तिक ८ गते महाअष्टमी पर्व मनाइन्छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन् । बेलुकी कालरात्रि मनाइन्छ । कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ । दसैंको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १० ः११ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष गौतमले सुनाए ।
विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ । विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ । सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा नरहेको समितिको निर्णय छ ।





