कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलन चर्काउन
काठमाडौं, १५ असोज ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध सदन र सडकबाट आन्दोलन गर्ने तयारी सुरु गरेको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बुधबार बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने प्रस्ताव असोज १९ गतेको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेको हो ।

सह–महामन्त्री डा.प्रकाश शरण महतले भने, ‘सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम नै गरेन । भ्रष्टाचारमा लिप्त भयो । रोग र भोग दुवैले जनता मर्नुपरेको छ । केपी ओली नेतृत्वको सरकारलाई गुटबन्दी गर्न ठिक्क भएपछि सडक आन्दोलन गर्ने निर्णय भएको छ ।’
कांग्रेस केन्द्रीय समितिको बैठक असोज १९ मा बस्ने तय भएको छ । उक्त बैठकमा सभापति देउवाले नै सामाजिक दूरी कायम गरी सडक आन्दोलन गर्ने प्रस्ताव गर्नेछन् ।





