लेख : प्रचण्डका हरकतहरु 

उमालाल आचार्य

जेनजी आन्दोलनपछि माओवादी पार्टी भित्र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र उनकी छोरी गंगा दाहालको व्यापक विरोध र आलोचना हुनथाल्यो । क्यान्टोनमेन्टको पैसा,असी र पैंतीस लाखको घडी, महंगा गुची ब्याग  र विलासी जीवन यापनको हिसाबकिताब खोजिन थाल्यो । नेतृत्व छोडनुपर्ने दबाब एकातिर छँदैथियो अर्कोतिर नेता कार्यकर्तालाई हिजो को हिसाब पनि देखाउनु पर्ने भएपछि प्रचण्ड तनावमा थिए, त्यसकारण माओवादी पार्टीलाई नै पोलेर खरानी पारिदिए । न रहे बाँस न बजे बाँसुरी । आफ्नो र परिवारको स्वार्थका लागि कथित जनयुद्ध लडेको र निर्देशक सिद्धान्त बोकेको पार्टी नै ध्वस्त खरानी बनाउन सक्ने एक उदाहरण बन्न पुगे प्रचण्ड । माओवादीमा छँदा र रहँदा लोकप्रियताको निरन्तर ओरालो यात्रामा झरिरहेको थियो पार्टीको साख र प्रचण्डको ख्याति । त्यसर्थले उनी निर्मम बने पार्टीमा आगो झोसिदिए ।

समाजवादी पार्टीका माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम लगायत टेक्ने डालो र समाउने हाँगो नभएका केही  नेताहरुलाई फकाएर छुट्टै पार्टी  खोल्न थाले प्रचण्डले । कोही एकजनाको एउटा पार्टी र कोही त पार्टी नै नभएको एकजना बटुली २१/ २२ वटा पार्टी मिलाएर एकीकरणबाट  नेपाली कम्युनिस्ट पार्टी स्थापना गरियो । पहिलो नम्बरको पार्टी बन्ने छ भनेर पटकपटक उल्का हुंकार हाले प्रचण्डले । परिवारवादका हिमायती प्रचण्डले त्यो नयाँ पार्टीको केन्द्रीय समितिमा छोरी र बुहारीलाई पनि सुटुक्क घुसाइहाले । त्यहाँ विरोध नभएको  होईन, तर एक कानले सुनेर अर्को कानले उडाइदिए । नयाँ पार्टीको नामबाट जनतालाई फेरि थाङ्नामा सुताएर मत बटुल्न सकिन्छ भन्ने विश्वासमा हुँदाहुन् प्रचण्ड, चुनावको त्यो दौडधूप खटनपटन र धपेडिले त्यस्तै देखाउँथ्यो । पार्टीले दोस्रो वा तेस्रो स्थान हाँसिल गरेमा पहिलाको जस्तै मोलमोलाइ गरेर फेरि सत्तामा जान सकिन्छ भन्ने दाउपेचमा थिए उनी । चुनाव अगावै प्रचण्डले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग भेट्न खोजेको कुरा मिडियामा आएको थियो । आफ्ना छोरी र बुहारीको जितको निश्चित गर्नका लागि नै भेट्न खोजिएको थियो भनी सिधा अनुमान गर्न सकिन्छ ।

२०७९ को चुनावमा काँग्रेससँग गठबन्धन गरेका प्रचण्डले ओलीसँग मिलेर सरकारको नेतृत्व गरे । ओलीसँग स्वार्थ बाझिएपछि फेरि काँग्रेससँग मिल्न पुगे । कहिले एमाले र कहिले काँग्रेसको बैसाखी टेक्दै अपाङ्ग प्रचण्ड सरकारले पालैपालो काँग्रेस र एमालेलाई धोका दिन थाल्यो । त्यस्तो बेइमानीलाई सफलतामा नाप्दै प्रचण्ड मखलेल हुन थाले । आफू बिना राजनीतिमा कसैको दाल गल्न नसकोस् भन्ने मनसायले भोकानाङ्गा राजनीति पार्टी समेटेर समाजवादी मोर्चा गठन गरेका थिए । खासमा मोर्चा प्रचण्डको सत्ता यात्राको भर्‍याङ थियो । काँग्रेस र एमाले मिलेर प्रचण्डको सरकार उत्तानो पारिदिए । त्यसपछि प्रचण्डको हतास हैरानी र रोदन हेर्न लायक थियो । गणतन्त्र आएपछि प्रत्येक्ष परोक्ष रूपमा सत्ताकै वरिपरि थिए ऊनी । सत्ताको भोक प्यासले छट्पटाउन थालेपछि जनतासँग प्रत्येक्ष जोडिने भन्दै मेची महाकाली अभियानमा तराई झरे । पातमा भात खाएको कतै पान चपाएको र कतै सेतो धोती लगाएर नाचेको हास्यास्पद दृश्यले राजनीतिमा प्रचण्डको तमासा भैरहेको थियो । सत्ता मोहले विक्षिप्त बनाएपछि मान्छेले जस्तोसुकै चटक गर्न पनि  पछि पर्दो रहेनछ भन्ने दृष्टान्त बन्न पुगे त्यस्ता तमासा ।

आफ्नो गृह जिल्ला र प्रभाव क्षेत्रमा प्रतिस्पर्धा गर्न डराएर जित सुनिश्चित गर्न प्रचण्डलाई पूर्वरुकुम धाउन परेको कुरा दुनियाँले नबुझेका होइनन्  । नयाँ गठन गरेको नयाँ पार्टी पनि रसातल हालेर चुनावमा आफ्नो मात्रै जित निकालेका प्रचण्डले विश्व विजेता झैं देशको जुनसुकै क्षेत्रबाट उठेपनि आफ्नो एउटा जित निकाल्न सक्ने हुंकार गरेर जग हँसाए । तिनका त्यस्ता फतुर तिनकै कार्यकर्ताले कसरी पत्याइदिनु !

आफुले जित्दा पार्टीका अन्य उमेदवारको उनान्सय स्थानमा होकि सय स्थानमा हो जमानत जफत भएको कुरा मिडिया मा आएको थियो, उनको हविगत समयले छर्लङ्ग पारेको छ ।

अब रास्वपाको नेतृत्व गर्ने जिम्मेवारी  पनि आफ्नै काँधमा आएको भनी बोल्न उनलाई  पटक्कै लाज लागेन । संकोच  र लाज सरम मान्ने भए प्रचण्ड जीवित रहन सक्ने थिएनन् । एमसीसी प्रकरणमा दोगोला चरीत्र निभाएर  उदाङ्ग भए । भारतको महाकालेश्वर मन्दिरमा धोतिपाटा फेर्दै जनै लाएर पूजा गरे । सरदार प्रितम सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउन दौडधूप गरेका हुन भने । दौरा सुरुवाल कोट र टोपी लगाएर जहाज चढेका प्रचण्ड अमेरिकामा ओर्लंदा टाइ र शुटमा देखिए । यस्ता निर्लज्ज काम प्रचण्डले जीवन कालमा कति गरे कति  । सिंहदरबार देखि देशै पूरै जलाएर खरानी पार्नेहरुले पनि हामी नयाँ शक्ति हौं भन्दै आइरहेका छन भनी चुनावताका प्रचण्डले रास्वपालाई लाञ्छना लगाएको थियो । त्यसकारण पद र परिवारका लागि उनले जस्तोसुकै हरकत गर्न पछि पर्दैनन् भन्ने मान्यता स्थापित भएको छ ।

चुनावी परिणामले सत्ताको मोलमोलाइ गर्ने प्रचण्डको सपना चकनाचुर भएपछि उनी निकै छटपटाउन थाले । १८२ सांसद संख्या जितेको रास्वपा  सभापतिलाई भेटेर दुईतिहाइ पुग्न बाँकी सांसद आफ्नो पार्टीबाट मिलाइदिने सो बापत सत्तामा उक्लिन पाउनु पर्ने भन्ने खालको सर्त सायद रास्वपाले कतै टेरपुच्छर लगाएन । “प्रचण्ड क्रान्तिनायक हुन राष्ट्रनायक हुन् उनकै कारण जनताले बोल्न हाँस्न खान र लाउन पाएका छन । प्रचण्डले गणतन्त्र ल्याए, गणतन्त्रले त देशमा उधुम   विकास गर्‍यो “ भन्ने ढंगबाट देवत्वकरण गर्ने प्रचण्डका केही उपासक र समर्थकहरुको चुनावमा कन्तबिजोक देखियो । चुनावी प्रतिस्पर्धामा कतै ११ हजारका विरुद्ध ४२ हजारले जित हासिल गरिरहँदा कन्तबिजोकले १४ सय मत प्राप्त गर्न सकेनन् , कस्तो रहेछ जनाधार भन्ने यहीँबाट छर्लङ्ग हुन्छ ।

प्रचण्ड पुत्री रेनु दाहाललाई विकासप्रेमी भनेर सामाजिक सञ्जालमा जतिसुकै बाजा बजाए पनि रास्वपाकी सोभिता गौतमले ३८ हजार थप ज्यादा मत ल्याएर उत्तानो पारिन् । रेनुको मेयर पदमा जित निकाल्न पहिलो पटक मतपत्र नै च्याति धाँधली गरेको र दोस्रोपटक राज्यसत्ताको पूरापूर दुरुपयोग गरेर प्रचण्डले जिताएका थिए । संसदीय चुनाव बाट सांसद बन्न लोभिएकी रेनुले बल्ल बुझिन कस्तो हुन्छ प्रतिस्पर्धा ! बोकेको कुकुरले सिकार गर्न सक्दैन भन्ने उखान प्रचलित छ समाजमा । आफ्ना उपासक र एसम्यानहरुबाट युगपुरुष बनाइएका प्रचण्ड परिवारवादमा फसेर हेर्दाहेर्दै छोरी र बुहारीको मात्रै नेता बन्न पुगे । तर छोरी र बुहारी पनि चुनावमा नराम्ररी हारेपछि उनी घर न घाटका हुँदै गए ।

हतारमा उनी एमाले अध्यक्षलाई भेट्न गएको खबर पनि सतहमा आयो । पार्टी एकीकरण गरेर एमालेका प्रमुखलाई नै अध्यक्ष स्वीकार गरि आफू संसदीय दलको नेता बन्न उनी हतारीएको बुझिन आयो । प्रचण्डको मनोबिज्ञान अनुमान गर्न गाह्रो छैन । एमालेसँग प्रचण्ड मिल्दा आकारमा काँग्रेस भन्दा ठूलो पार्टी बन्न  पुग्छ । ठूलो पार्टी हुनुको हैसियतले प्रतिपक्षमा संसदीय दलको नेता फुत्काउन पाइन्छ । नियम ले प्रतिपक्षी नेतालाई सेवा र सुविधाको प्रबन्ध गरेको छ । जनपक्षीय काम गर्न करिब दुई तिहाईको सरकारलाई कोही कसैले छेकबार लाउन सक्ने अवस्था हुँदैन । राम्रो काम गर्न सरकारलाई प्रतिपक्षले सहयोग र समर्थन गरिरहेको छ भनी लोकमा फोस्रो धाक लगाएर जस आफ्नो भागमा खन्याउँदै प्रचण्ड राजनीतिको आगो सेक्न चाहन्छ भन्ने बुझिन्छ । एक उदाहरण सभामुख पदमा डिपी अर्याललाई नेकपाले निःसर्त समर्थन गर्ने कुरा मिडियामा आयो ।

लगभग दुई तिहाइको विशाल पार्टीलाई सत्र सिटको पार्टीले निःसर्त समर्थन गर्नु र नगर्नुमा के फरक पर्छ ? बिल्कुल फरक पर्दैन, जान्दाजान्दै  राजनीतिको रोटी सेक्ने चलाकीमा देखिन्छन सातिर प्रचण्ड तर उनले रहर गर्दैमा यो सपना पूरा हुन सक्दैन । किनकि रास्वपाले छामिसकेको छ नाडी । किनकि एमाले अध्यक्ष यतिखेर आफै त महादेव उत्तानो पर अब कसलाई दिन्छन बर को स्थितिमा पुगेका छन ।

पछिल्लो चुनावमा नेपाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता ले पनि चुपचाप घण्टीमा छाप लगाइदिए भन्ने खबर सतहमा आयो । त्यसको ठोस प्रमाण भेटिए पार्टीले कडा कारबाही गर्ने भनी प्रचण्डले गर्जन हालेका थिए । त्यस्तो  हास्यास्पद कारबाहीबाट कोही डराउनु त परै जाओस् उल्टै  पेरिसडाँडा बैठकमा नेता कार्यकर्ताले नैतिकताको आधारमा  राजीनामा मागेपछि ऊनी हैरान परे । तत्काल रास्वपाका एक सांसद रहबर अन्सारीले पनि प्रचण्डलाई भोट होइन आफ्नो चरीत्र जाँच्न सुझाएका थिए ।

अन्तर्राष्ट्रिय स्तरको त्यत्रो विकास गर्दा पनि आफ्नी छोरी रेनु दाहाल चितवन ३ मा हारेको भनी केही दिन प्रचण्डले निकै रोष प्रकट गरे । स्वाभिमानलाई लालचले सिध्याउँछ भने झैं प्रचण्ड आफ्नै कारणले थला पर्दै गैरहेका छन ।  संसदमा यतिखेर एमाले संसदीय दलका नेता रामबहादुर थापासँग कुम जोडेर एउटै बेन्चमा बस्नुपर्दा प्रचण्डले निकै अप्ठ्यारो महसुस गरेका छन ।सत्ताको लागि मरिहत्ते गर्दागर्दै समयले प्रचण्डलाई केन्द्रबाट किनारातिर हुत्याइदिएको छ । जुत्ता र लुगा फेर्दैमा वा पार्टी नयाँ बदल्दैमा माओवादीको कलंकको टीका पुछिन सक्दैन । माओवादीले समाजमा मच्चाएको विध्वंस वितण्डा र गरेको अपराधबाट नयाँ पार्टी खोल्दैमा प्रचण्ड उम्कन पाउने छैनन् । समयले प्रचण्डसँग एक एक हरकतको हिसाब माग्ने छ, परिस्थितिले चुकाउन उनलाई बाध्य पर्ने छ ।

(लेखक : वीरेन्द्रनगर–१२, नेवारे निवासी हुनुहुन्छ)

लेख : प्रचण्डका हरकतहरु 

सम्पादकीय : कानुन कार्यान्वयनलाई प्रभावकारी बनाऊ 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds