जुम्लामा ‘प्रथम स्ववियू कप’ हुँदै
गाेल्डेन बुढा
जुम्ला,२२ चैत।
जुम्लामा खेलकुद गतिविधि सुस्त बन्दै गइरहेका बेला युवालाई मैदानतर्फ फर्काउने प्रयासस्वरूप ‘प्रथम स्ववियू कप’ खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। जुम्ला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले आगामी वैशाख ९ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको हो।आइतबार आयोजित पत्रकार सम्मेलनमा स्ववियू अध्यक्ष लोकेन्द्रराज बुढाले क्याम्पसको शैक्षिक पहिचानसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै खेलकुदमार्फत समुदायबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखिएको बताए। “जुम्लामा खेलकुदका यस्ता नियमित गतिविधि कम छन्। युवालाई सकारात्मक दिशातर्फ उन्मुख गराउन र आपसी सद्भाव बढाउन प्रतियोगिता महत्वपूर्ण हुनेछ,” उनले भने।प्रतियोगिता केवल खेल प्रतिस्पर्धामा सीमित नरही सामाजिक एकताको माध्यम बन्ने अपेक्षा गरिएको छ। जुम्लाका ८ वटै स्थानीय तह र विद्यालयहरूलाई सहभागिताका लागि खुला गरिएको प्रतियोगिताले गाउँ–गाउँका खेलाडीलाई एउटै मञ्चमा ल्याउने विश्वास आयोजकको छ। यसले लुकेका प्रतिभा पहिचान गर्न र जिल्लास्तरमै खेलकुद संस्कृतिको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको स्ववियू सचिव दत्तराज रावतले बताए।उनका अनुसार पुरस्कार राशिले पनि प्रतियोगिताको आकर्षण बढाएको छ। प्रथम हुने टोलीले एक लाख एक हजार एक सय एक रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले ५१ हजार एक सय एक रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ घोषणा गरी पुरस्कृत गरिनेछ।यद्यपि, सीमित स्रोतसाधनका बीच प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण रहेको आयोजकको भनाइ छ।
करिब ३ देखि ४ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका लागि आवश्यक व्यवस्थापन गर्न स्ववियू पदाधिकारीहरूलाई जिम्मेवारी बाँडफाँट गरिएको छ। स्थानीय स्तरमै स्रोत जुटाउने र समुदायको साथ खोज्ने रणनीति लिइएको छ।जुम्लामा खेलकुद पूर्वाधार र नियमित प्रतियोगिताको अभावले धेरै प्रतिभा ओझेलमा पर्ने गरेका छन्। यस्तो अवस्थामा ‘स्ववियू कप’ जस्ता पहलले खेलकुदलाई पुनर्जीवित गर्ने मात्र होइन, युवामा नेतृत्व, अनुशासन र सहकार्यको भावना विकास गर्न समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।यदि यस्ता प्रतियोगिता निरन्तर सञ्चालन हुन सके, जुम्लाले भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने आधार तयार पार्न सक्ने देखिन्छ।





