कर्णालीमा गठवन्धनका उम्मेदवार विजयी

सुर्खेत, ११ माघ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । राष्ट्रियसभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा दुई दलबीच बनेको गठवन्धनबाट उम्मेदवार बनेका ललितजंग शाही र मिनासिं रखाल विजयी भएका हुन् ।
शाही कांग्रेस र रखाल एमालेकी हुन् । अन्य कलष्टरबाट उम्मेदवार बनेका शाहीले प्रदेशतर्फ २६ र स्थानीयतर्फ सय मतभार प्राप्त गरी विजयी बन्दा नेपाली कम्युनिष्ट पार्टीका बुद्विप्रसाद शर्माले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५० मतभार प्राप्त गरी पराजित बने । त्यस्तै, एमालेकी रखालले प्रदेशतर्फ २६ र स्थानीयतर्फ ९३ मतभार प्राप्त गरी विजयी भइन ।
उनकी प्रतिद्वन्द्वि नेकपाकी अन्जु महतारा शाहीले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५५ मतभार प्राप्त गरी पराजित भइन । रखाल महिला कलष्टरबाट विजयी भएकी हुन् । मतदानमा प्रदेशसभातर्फ ३९ र स्थानीय तहका एक सय ५२ जनाले भाग लिएका थिए ।
शाही नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति हुन् । उनी २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित भएका थिए । यस्तै, उनी २०७९ मा सम्पन्न कर्णाली प्रदेशसभा सदस्यमा कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र चुनाव लडेका देवेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए ।
त्यस्तै, रखाल २०७४ मा समानुपातिकतर्फ एमालेबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी गएको मंसिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
नेकपाबाट राष्ट्रियसभा उम्मेदवार बनेका शर्मा र महतारा नयाँ अनुहार हुन् । यसपटकको राष्ट्रियसभा निर्वाचनमा कर्णालीबाट नेकपाले भएको एक सिट गुमाएको छ । एमालेले आफ्नो यसअघिको एक सिट जोगाउँदा कांग्रेसले भने कर्णालीबाट एक सिट थपेको छ ।






