नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी माघ १४ देखि

बाँके,८ माघ ।
महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीको तयारी तीव्र पारिएको छ। महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा हुने प्रदर्शनी यही माघ १४ देखि १८ गतेसम्म सञ्चालन हुनेछ।
महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रदर्शनीले महिला दिदीबहिनीहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। संघकी अध्यक्ष रेवती सिंहले दशौं संस्करणलाई अझ भव्य र प्रभावकारी बनाउने तयारी भइरहेको बताउँदै विगतका वर्षहरूमा जस्तै यसपटक पनि सबैको सहयोग अपेक्षा गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रदर्शनीले महिला उद्यमीहरूका उत्पादनलाई बजारसँग जोड्ने बलियो माध्यम बनेको छ।
दशौं संस्करणको प्रदर्शनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको पार्कमा आयोजना हुनेछ। नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र केएल दुगडको मुख्य प्रायोजनमा हुन लागेको यस प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्लासहित कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब २०० महिला उद्यमीहरूको सहभागिता रहनेछ।
प्रदर्शनी संयोजक तथा महिला उद्यमी संघ नेपाल बाँकेकी प्रथम उपाध्यक्ष आभा गौतमका अनुसार करिब ७० वटा स्टल रहनेछन्। ती स्टलहरूमा कृषिजन्य सामग्री, हस्तकला सामग्री, खाद्य सामग्री, अल्लो तथा ढाका कपडा, फ्लोरीकल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, श्रृंगार सामग्री र गर–गहना लगायतका वस्तुहरू बिक्री तथा प्रदर्शनका लागि राखिनेछ।
महिला उद्यमी संघ नेपाल बाँकेकी महासचिव बिन्दु चर्तिमगरले करिब ६ लाख रुपैयाँ बजेटमा आयोजना हुने लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८२ अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिनुभयो। प्रदर्शनी अवधिभर विज्ञहरूको उपस्थितिमा महिला उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि बैंकिङ कारोबार, उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरिनेछ।
महिला उद्यमी महासंघ नेपालको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले प्रदर्शनीले महिला उद्यमीहरूको आत्मनिर्भरता र आर्थिक सशक्तीकरणमा योगदान पुर्याउँदै आएको बताउनुभयो। त्यसैगरी महिला उद्यमी संघ नेपाल बाँकेकी निवर्तमान अध्यक्ष सावित्रा पोखरेल बस्नेतले हरेक वर्ष यस प्रदर्शनीबाट नयाँ उद्यमी उत्पादन भइरहेको उल्लेख गर्दै यसको निरन्तरताले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको बताउनुभयो।
दशौं संस्करणको यो प्रदर्शनीले महिला उद्यमशीलताको प्रवर्द्धनसँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा क्षेत्रीय बजारसम्म पु¥याउने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।






