घाँस–दाउराबाट पाहुना सत्कारसम्म डल्ला होमस्टेले फेरिँदै थारु समुदायको जीवन

बर्दिया, ११ पुस ।
बर्दिया जिल्लाको डल्ला गाउँमा सञ्चालनमा रहेको होमस्टे (घरबास) कार्यक्रमले थारु समुदायको जीवनशैली, आम्दानी र सामाजिक संरचनामा उल्लेखनीय परिवर्तन ल्याएको छ । कहिल्यै घाँस–दाउरा, मेलापात र जंगलमा निर्भर दैनिकीमा सीमित थारु समुदाय अहिले आन्तरिक तथा विदेशी पर्यटकको स्वागत–सत्कारमा रमाउन थालेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको छेउमै रहेको यो गाउँ आज “डल्ला होमस्टे” का नामले चिनिन थालेको छ ।

डल्ला गाउँमा २०६७ सालदेखि होमस्टे कार्यक्रम सुरु गरिएको हो । सुरुका दिनमा सीमित घरधुरी र न्यून सुविधासहित सञ्चालनमा आएको होमस्टेले पछिल्ला वर्षहरूमा गति लिँदै थारु समुदायको आर्थिक सबलीकरणको बलियो आधार बन्न पुगेको छ । अहिले यहाँका थारु परिवारहरू होमस्टे सञ्चालनमार्फत नियमित आम्दानी गर्न थालेका छन्, जसले उनीहरूको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको छ ।
होमस्टे सञ्चालक मङ्गल थारुका अनुसार, “पहिला हामी जंगलमै निर्भर थियौँ । घाँस, दाउरा र मेलापातमै दिन बित्थ्यो । जंगली जनावरको जोखिम सधैँ थियो । अहिले पाहुना सत्कार गर्दै आयआर्जन गर्न पाउँदा जीवन नै फेरिएको महसुस हुन्छ ।” उनको भनाईमा, होमस्टेले मात्र आम्दानी बढाएको होइन, आत्मसम्मान र सामाजिक पहिचान पनि बढाएको छ ।

होमस्टे सञ्चालन अघि डल्ला गाउँका अधिकांश परिवारको जीविकोपार्जन जंगलमा निर्भर थियो । यसले मानव–वन्यजन्तु द्वन्द्वको जोखिम बढाउनुका साथै दैनिक जीवन असुरक्षित बनाएको थियो । तर तराई भूपरिधि तथा संरक्षण कार्यक्रम लगायतका संघ–संस्थाको सहयोगमा होमस्टे प्रवद्र्धन सुरु भएपछि अवस्था क्रमिक रूपमा परिवर्तन हुँदै गएको छ । सुरुदेखि नै होमस्टे सञ्चालन र प्रवद्र्धनमा सहयोग पुगेकाले यहाँका महिलाहरू विशेष रूपमा लाभान्वित भएका छन् ।
होमस्टे सञ्चालक सर्मिला थारु भन्छिन्, “पहिला घरभित्र सीमित थियौँ । होमस्टेपछि बाहिरका मानिससँग भेटघाट बढ्यो, बोलचाल र व्यवस्थापन सिक्यौँ। अहिले आफैँ कमाएर घर चलाउन सक्ने भएको छु ।” उनको अनुभवमा, होमस्टेले महिलाहरूलाई आर्थिक रूपमा मात्र होइन, सामाजिक रूपमा पनि सशक्त बनाएको छ ।
डल्ला होमस्टेमा पाहुनाको स्वागतसँगै स्थानीय उत्पादनको बजारीकरण पनि बढेको छ । स्थानीय परिकार, कृषि उपज, हस्तकला तथा थारु संस्कृतिसँग जोडिएका सामग्रीले बजार पाउन थालेपछि महिलाहरू आर्थिक रूपमा चलायमान बनेका छन् । यसले गाउँमै रोजगारी सिर्जना हुनुका साथै युवाहरूलाई पनि गाउँमै टिकाइराख्न सहयोग पुर्याएको छ ।

होमस्टे सञ्चालक लिखिनी थारुका अनुसार, “होमस्टे सुरु भएपछि मानव–वन्यजन्तु द्वन्द्वमा कमी आएको छ । जंगलमा जाने बाध्यता घटेपछि जोखिम पनि घटेको छ ।” उनका अनुसार, पछिल्लो समय डल्ला होमस्टेमा जर्मनी, फ्रान्स, इटालीलगायत विभिन्न देशका पर्यटकहरू आउन थालेका छन् । विदेशी पर्यटकको आगमनले स्थानीय संस्कृतिप्रति गर्व बढ्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा डल्ला गाउँको परिचय फैलिएको छ ।
डल्ला होमस्टेको मुख्य आकर्षण स्थानीय खानाको स्वाद, थारु संस्कृतिको रहनसहन, नाचगान र सरल जीवनशैली हो । माछा, ढिक्री, घोंघी, सिद्रा लगायत परम्परागत थारु परिकारले पर्यटकलाई लोभ्याउने गरेको छ । साथै, थारु समुदायको मौलिक संस्कृति, पोसाक र आतिथ्य सत्कारले पाहुनालाई फेरि–फेरि आउन प्रेरित गरिरहेको छ ।
पर्यटन र संस्कृतिको समन्वय गर्दै डल्ला होमस्टे थारु समुदायको आम्दानीको दिगो आधार बन्दै गएको छ । यसले केवल व्यक्तिगत परिवारको जीवनस्तर सुधार गरेको छैन, समग्र गाउँको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याएको छ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सरसफाइमा समेत सकारात्मक प्रभाव देखिन थालेको स्थानीयको भनाइ छ ।

डल्ला होमस्टे आज थारु समुदायका लागि मात्र होइन, ग्रामीण पर्यटन विकासको सफल नमुनाका रूपमा स्थापित हुँदै गएको छ । स्थानीय सहभागिता, संस्कृति संरक्षण र दिगो आम्दानीको उदाहरण बनेको डल्ला होमस्टेले भविष्यमा अझै व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।






