कुलतमा डुबेका सुवास, आज उद्धारका सहारा बन्दै

गाेल्डेन बुढा

जुम्ला,४ चैत ।
जुम्लाको पातारासी गाउँपालिका–७ पटमारागाउँमा जन्मिएको एउटा बालक, जसले ११ वर्षको उमेरमै जीवनको दिशा गुमायो।आज त्यही बालक अरूका जीवनलाई दिशा दिने प्रयासमा छ। जुम्लाको सदरमुकाम खलंगाको कालेखोलीमा रहेको सानो सुधार केन्द्र कुनै संस्थागत संरचना मात्र होइन, यो एउटा जीवनले अर्को जीवनलाई सम्हाल्ने मौन संघर्ष हो। नगरपालिका -२ मा संचालनमा छ।सुवास बुढाको कथा सामान्य उतारचढावको कथा होइन। यो त्यस्तो कथा हो, जहाँ एउटा मानिस बिस्तारै आफ्नै अस्तित्वबाट हराउँदै जान्छ,र फेरि आफैंलाई खोज्दै फर्किन्छ।११ वर्षको उमेर, त्यो उमेर जहाँ बाल्यकाल अझै खेल्नुपर्थ्यो, सपना देख्नुपर्थ्यो। तर सुवासका लागि त्यो उमेर कुलतको ढोका बन्यो। चरेस, रक्सी, गलत संगत,यी सबैले उनलाई विस्तारै आफ्नो नियन्त्रणमा लिए। सुरुमा रमाइलो, पछि बानी, अनि अन्ततः आवश्यकता।“म बाँचिरहेको थिएँ, तर मेरो जीवन मेरो नियन्त्रणमा थिएन,” उनी भन्छन्।उनको परिवारका लागि त्यो समय असह्य थियो।

बुवाआमा छोरालाई बचाउन सबै सम्भव प्रयास गरिरहेका थिए। बुवा हुलाकमा जागिरे, आमा होटल चलाउने,दिनरात मेहनत गरेर कमाएको पैसा छोराको भविष्यका लागि हो?भन्ने विश्वास थियो। तर त्यो पैसा पढाइमा होइन, कुलतमा सकिँदै गइरहेको थियो।परिवारले उनलाई सुधार्न अनेक उपाय अपनायो,सम्झाइ, दबाब, यहाँसम्म कि हिरासतसम्म। “मलाई जोगाउनकै लागि हिरासतमा राखियो,” उनी सम्झन्छन्, “तर त्यतिबेला त्यो पीडा जस्तो लाग्थ्यो, आज बुझ्दा त्यो माया थियो।”२०७० सालतिर उनी पूर्ण रूपमा विखण्डित भइसकेका थिए। “म कामै नलाग्ने भइसकेको थिएँ,” उनी भन्छन्। मानसिक अवस्था बिग्रिँदै गयो। आफन्त, समाज, चिनेजानेका सबैका लागि उनी ‘समस्या’ बने।त्यसपछि उनलाई भारतको लखनउस्थित ‘टिन च्यालेन्ज’ सुधार केन्द्रमा लगियो। त्यो केवल उपचारको ठाउँ थिएन्।त्यो उनको जीवनको सबैभन्दा कठिन परीक्षा थियो। दुई वर्ष भित्र र एक वर्ष बाहिर बिताउँदा उनले आफ्नो जीवनलाई नयाँ दृष्टिले हेर्न थाले।“त्यहाँ मैले पहिलो पटक आफूलाई भेटेँ,” उनी भन्छन्, “मैले आफूलाई स्वीकार्न सिकेँ।”फर्किएपछि जीवन सहज थिएन। समाजको नजर बदलिएको थिएन। पहिले जस्तै शंका, अविश्वास, हेपाइ,यी सबै अझै थिए। तर उनी बदलिएका थिए। भित्रैबाट।२०७५ पुस २१ गते उनले जीवनलाई स्थिर बनाउने अर्को निर्णय गरे,विवाह। छिमेकी जिल्ला हुम्लाकी कल्पना बुढा केवल जीवनसाथी मात्र होइनन्, उनी संघर्षकी सहयात्री बनिन्। आज उनीहरू दुवै जना मिलेर सुधार केन्द्र सञ्चालन गरिरहेका छन्।खलंगाको कालेखोलीमा रहेको ‘कर्णाली टिन च्यालेन्ज ड्रग रिह्याविलिटेसन सेन्टर’ कुनै ठूलो भवन होइन, न त अत्याधुनिक सुविधा छ। तर त्यहाँ एउटा कुरा छ,अनुभवबाट जन्मिएको विश्वास।“हामी बिरामीलाई नियमले होइन, अनुभवले सम्हाल्छौं,” सुवास भन्छन्।अहिले केन्द्रमा चार जना बिरामी छन्। हालसम्म ४ महिला र ३० पुरुषले यहाँबाट सेवा लिइसकेका छन्। १० जनासम्म अट्ने क्षमता भएको भवन आफ्नै २ सय ५० वर्गमिटर जमिनमा बनेको छ। सहयोग सीमित छ,चन्दननाथ नगरपालिकाबाट ३ लाख ५० हजार, गुठिचौरबाट १ लाख, सामाजिक विकास कार्यालयबाट ५० हजार रुपैयाँ,तर आवश्यकता त्योभन्दा धेरै ठूलो छ।यहाँ आउने बिरामीहरू केवल लतमा फसेका मानिस मात्र होइनन्।तिनीहरू परिवारबाट टाढिएका, समाजबाट अलगिएका, आफैंबाट हराएका मानिस हुन्। १२ वर्षदेखि ६४ वर्षसम्मका मानिसहरू यहाँ आइपुग्छन्। डोल्पा, कालिकोट, पोखरा, काठमाडौं,दूरी फरक भए पनि पीडा उस्तै हुन्छ।“उनीहरू केवल औषधि चाहँदैनन्,” कल्पना भन्छिन्, “उनीहरूलाई सुन्ने मान्छे चाहिन्छ।”तर त्यो सुन्ने जिम्मेवारी सजिलो छैन। रातभर जाग्राम, बिरामी भाग्न खोज्ने, मानसिक उतारचढाव,यी सबै दैनिक जीवनका हिस्सा हुन्। “कर्मचारी राख्ने पैसा छैन,” उनी भन्छिन्, “त्यसैले हामी आफैं सबै गर्छौं।”महिलाका लागि छुट्टै व्यवस्था गर्नुपर्ने भएकाले थप चुनौती छ। स्रोत सीमित छन्।टीभी छैन, कम्प्युटर छैन, खानपान पनि सामान्य। तर त्यसबीच पनि उनीहरू एउटा कुरा जोगाइरहेका छन्,आशा ।प्रति बिरामी मासिक १० हजार रुपैयाँ लिइन्छ। त्यही रकमबाट औषधि, पानी, बिजुली र काउन्सिलिङ चलाइन्छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरू, पोखरा, काठमाडौं र विदेशबाट समेत विशेषज्ञहरू आउने गरेका छन्।तर सबैभन्दा ठूलो उपचार भनेको औषधि होइन्।सम्बन्ध हो।“जब बिरामीले आफूलाई बुझिएको महसुस गर्छ, त्यहीँबाट सुधार सुरु हुन्छ,” सुवास भन्छन्।उनको आफ्नै जीवन यसको उदाहरण हो।आज केही बिरामी सुधार भएर घर फर्केका छन्।

कोही विवाह गरेर स्थिर जीवनमा छन्। ती प्रत्येक कथाहरू सुवासका लागि पुरस्कार जस्तै हुन्।“जब उनीहरू फर्किन्छन्, म आफू फर्किएको महसुस गर्छु,” उनी भन्छन्।सुवास बुढाको कथा केवल व्यक्तिगत पुनर्जन्मको कथा होइन्।यो एउटा समाजको ऐना हो। जहाँ एउटा बालकलाई समयमै सम्हाल्न नसक्दा ऊ हराउँछ, तर फेरि अवसर पाएमा ऊ अरूलाई बचाउने शक्ति बन्न सक्छ।अँध्यारोले नै उनलाई सिकायो,उज्यालो कति मूल्यवान हुन्छ।र आज, उनी त्यही उज्यालो अरूका लागि बालिरहेका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds