चौरजहारीका नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
सुर्खेत, ४ चैत ।
रूकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । करार म्याद थप गर्ने प्रयोजनका लागि एक लाख रुपैयाँ घुस लेनदेन गरेको पुष्टि भएपछि आयोगले मंगलबार आरोपपत्र दायर गरेको हो ।
असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहले विगत आठ वर्षदेखि करारमा कार्यरत रहेकोमा आर्थिक वर्ष २०८१/०८२ को म्याद थपका लागि नगर प्रमुख पुष्प वादीले एक लाख रुपैयाँ मागेको र उक्त रकम बैंक खातामा जम्मा गरेपछि मात्र म्याद थप भएको दाबी गर्दै उजुरी दिएका थिए । पुनः आर्थिक वर्ष २०८२/०८३ को नवीकरणका लागि पनि रकम माग गरिएको र सो रकम बुझाउन नसक्दा आफूलाई बर्खास्त गरिएको शाहको जिकिर थियो ।
अनुसन्धानका क्रममा, शाहले २०८० साउन ८ गते नगर प्रमुख वादीको बैंक खातामा एक लाख रुपैयाँ जम्मा गरेको भौचर र अन्य प्रमाणहरूबाट घुस लेनदेन भएको पुष्टि भएको आयोगका प्रवक्ता सुरेन्द्र न्यौपानेले जानकारी दिए । नगर प्रमुख वादीले आफ्नो पदको दुरुपयोग गरी शाहलाई मोलाहिजा (अनुनय–विनय वा स्वार्थ सिद्ध) गर्दै व्यक्तिगत लाभ लिएको आयोगको ठहर छ ।





