बर्दिया राष्ट्रिय निकुञ्जमा सिकारी हराएको प्रकरण : १० दिन अघि नै मारिएका थिए टोपबहादुर

ओम शाही
सुर्खेत, ३ चैत ।
२३ फागुनमा सुर्खेतका ६ जना व्यक्ति सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरे । जिल्लाको बराहताल गाउँपालिका–१, का पाँच र लेकवेशी नगरपारिकाल–८, का एक गरी ६ जना भरुवा बन्दुक र आवश्यक घरेलु हातहतियारसँगै बास बस्ने गरी झण्डै १७ किलोमिटर दुरी पार गरेर सिकारका लागि निकुञ्जमा प्रवेश गरेका थिए ।
उक्त सिकारी समूहमा थिए, बराहतला गाउँपालिका–१, का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री ।
यस्तै, लेकवेशी नगरपालिका–८, का ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि उनीहरुसँगै थिए । देश प्रतिनिधिसभा निर्वाचनमा होमिएको समयमा उनीहरु सिकारका लागि जंगल छिरेका थिए ।
स्थानीयका अनुसार उनीहरु मौका छोपेर सिकारका लागि निकुञ्जमा पसिरहन्थे । पूर्वयोजना मुताविक निकुञ्ज प्रवेश गरेका उनीहरु अकस्मात २३ फागुनमै घर फर्किए । तर घर फर्कने मध्येमा थिएनन्, ३३ वर्षीय टोपबहादुर खत्री । चोरी सिकारी गर्न नपाइने कडा कानुनको नजरअन्दाज गरेर निकुञ्ज पसेकाहरु घर फर्कदा भने निकै हतास देखिन्थे । यसको कारण थियो, सँगै गएका टोपबहादुरको मृत्यु । बिहान सिकार गएकाहरु एक्कासी घर फर्के, तर टोपबहादुर फर्केनन् ।
घर फर्केकाहरुले उनी उतै जंगलमा मरेको सुनाए । तर मृत्युको कारण भने खुलाएनन् । आफ्ना परिवारका सदस्यसँग केही नभन्नु भन्दै सोही दिन उनीहरु भारततर्फ भागे । यो घटना सोमबार मात्र सार्वजनिक भएको हो । पिडकहरुले परिवारका सदस्यलाई टोपबहादुरको मृत्यु भएको खबर कसैलाई नभन्नु भनेका थिए ।
तर घटनाका बारेमा सिकार खेल्नसँगै गएका सुनिल समसेलीकी आमाले टोपबहादुरका भिनाजु आसे महतरालाई घटनाका बारेमा सुनाइन । घटनाका बारेमा थाहा पाउना साथ महतरा तत्काल प्रहरी चौकी रानिघाट पुगेपछि घटनाको रहस्य बाहिर आएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार स्थानीय आसे महतराले सोमबार बिहान आफ्ना साला नाता पर्ने टोबहादुर खत्रीसहित ६ जना सिकार खेल्न गएको अवस्थामा सम्पर्कविहन भएको जानकारी गराएका थिए ।
महतराले आफ्ना साला टोपबहादुरको मृत्यु भएको जानकारी गराएसँगै प्रहरी चौकी रानिघाटबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको कमाण्डमा चार जनाको प्रहरी टोली खोजतलासमा खटिएको थियो । उक्त टोलीले घटनाका बारेमा थप बुझेर जिल्ला प्रहरी कार्यालय बर्दियालाई खबर गरेको छ । प्रवक्ता बुढथापाका अुनसार घटनास्थल बर्दिया जिल्लामा पर्दछ । उनले १० दिनअघि अर्थात २३ फागुनमा घटना घटेको र अभियूक्त पाँचै जना भारततर्फ लागेको हुनसक्ने बताए । उनका अनुसार एक आपसमा झगडा भएको वा जनावरलाई हानेको गोली मृतक भनिएका टोपबहादुरलाई लागेको हुनसक्ने प्रारम्भिक अनुमान छ । उनीहरुको खोजि कार्य सुरु भइसकेको उनको भनाई छ ।
घटना घटेको बर्दिया राष्ट्रिय निकुञ्ज र बराहताल गाउँपालिकाको वडा नम्बर १ सिमावर्ती क्षेत्र हुन् । उत्तरी पानी ढलो सुर्खेत र दक्षिण पानी ढलो बर्दिया राष्ट्रिय निकुञ्ज पर्दछन् ।
यता बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ खोजतलास जारी राखिएको बताए । उनले निकुञ्जका तर्फबाट अुनसन्धान अधिकारी तोकेर प्रक्रिया अघि बढाइएको
जानकारी दिए ।
‘घटनाका बारेमा समाचार आएपछि हामीलाई थाहा भएको हो । हामीले आवश्यक मुभ लिइसकेका छौं । मंगलबार नेपाल प्रहरी, नेपाली सेना, निकुञ्जका कर्मचारी लगायतको टोली ड्रोन क्यामेरासहित घटनास्थलमा खटिएर खोज तलास गर्छ,’ सूचना अधिकारी
पौडेलले भने ।






