डोल्पामा बोलेरो दुर्घटना : चालकको मृत्यु

गाेल्डेन बुढा
जुम्ला ,३ चैत ।
कर्णालीको दुर्गम भुभाग डाेल्पाकाे मुड्केचुला गाउँपालिका–३, काङ्ग्रे खोलामा सवारी दुर्घटनाले एक युवा जीवनलाई अचानक आफ्नो गर्तमा खसाल्यो।मंगलबार साँझ करिब ५:१८ बजे ईल (खर्क) बाट त्रिवेणी तर्फ जाँदै गरेको बा.१७ च. ३९७० नम्बरको बोलेरो जिप अचानक अनियन्त्रित भई करिब ३०–४० मिटर तल खस्दा चालक सल्मान रोकाया (२३) को घटनास्थलमै मृत्यु भएको हो।स्थायी बास मुड्केचुला–३ भोटगाउँ भए पनि, सल्मान हाल रुकुम पश्चिम, त्रिवेणीमा बसोबास गर्दै आफ्नो भविष्य बुन्दै थिए। तर, जीवनको आशा र योजना अकल्पनीय दुर्घटनाले रोक्यो। जिपमा अन्य कुनै यात्री थिएनन्, तर सल्मानको मृत्युले गाउँ र परिवारमा ठूलो शोक छाएको छ।प्रहरीको टोली तुरुन्त घटनास्थलमा पुगेको थियो। इलाका प्रहरी कार्यालय कालिका डोल्पाबाट प्रहरी सहायक निरीक्षक हरक सिंह लोथ्यालको नेतृत्वमा ५ जना र प्रहरी चौकी ईलबाट प्रहरी सहायक निरीक्षक विनोद कुमार थापाको नेतृत्वमा ४ जनाको टोली खटिएको थियो।
मृतकको शव घटनास्थलमै रहेको छ, र दुर्घटनाका कारणहरूको थप अनुसन्धान जारी छ।डोल्पाका दुर्गम सडक र चुनौतीपूर्ण भू-भागले बारम्बार यात्रुलाई जोखिममा पार्दै आएको छ। सल्मानको जीवनले स्मरण गराउँछ,कि, यी पहाडी बाटोहरूमा यात्रा भनेको साहस मात्र होइन, कहिलेकाहीँ नियतिको खेल पनि हो।






