मृतक सिकारी खोज्न खटियो बर्दिया राष्ट्रिय निकुञ्जको टोली
सुर्खेत,४ चैत ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सिकार खेल्न गएर मृत्यु भएको भनिएका टोपबहादुर खत्रीको खोजीमा बर्दिया राष्ट्रिय निकुञ्जको टोली घटनास्थलतर्फ खटिएको छ । नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली मृतक भनिएका टोबहादुरको खोजीमा मंगलबार विहान घटनास्थलतर्फ खटिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले जानकारी दिए ।
उनका अनुसार सम्भावित क्षेत्रहरूमा ड्रोन क्यामेराको सहायताले खोजी कार्य गरिएको भएपनि मृतकको शव फेला परेका छैन । घटनास्थल बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयबाट १७ कोष उत्तरमा पर्दछ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएको २३ फागुनमा टोपबहादुरसहित ६ जना सिकार खेल्न निकुञ्ज क्षेत्रमा प्रवेश गरेका थिए ।
जिल्लाको बराहताल गाउँपालिका–१, का पाँच र लेकवेशी नगरपारिकाल–८, का एक गरी ६ जना भरुवा बन्दुक र आवश्यक घरेलु हातहतियारसँगै सिकारका खेल्न निकुञ्जको कोर एरियामा प्रवेश गरेका थिए ।
जसमा बराहताल गाउँपालिका–१, का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री र लेकवेशी नगरपालिका–८, का ४५ वर्षीय दुर्गाबहादुर सिजाली थिए । बराहताल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बमबहादुर बडुवालले परिवार स्रोतलाई उदृत गर्दै उनीहरू बर्दिया राष्ट्रिय निकुञ्जको कोरा एरिया सुगुरखाल नजिकको रातिमाटे क्षेत्रमा पुगेका थिए ।
परिवारले बताएअनुसार हिँड्ने क्रममा भरुवा बन्दुक पड्किएर टोपबहादुरको मृत्यु भएको हो । तर कसले बोकेको बन्दुक पड्किएको हो भन्ने विषय भने खुलेको छैन । टोपबहादुरको मृत्यु भएपछि अन्य पाँच जना सोही दिन घर फर्केका थिए । उनीहरूले परिवारका सदस्यहरूलाई घटनाका बारेमा कसैलाई नभन्न भन्दै घरबाट भागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
तर घटनाका बारेमा सिकार खेल्न सँगै गएका सुनिल समसेलीकी आमाले टोपबहादुरका भिनाजु आसे महतरालाई जानकारी गराकी थिइन् । घटनाका बारेमा थाहा पाउनासाथ महतरा तत्काल प्रहरी चौकी रानिघाट पुगेपछि घटनाको रहस्य बाहिर आएको हो । घटनाको विस्तृत विवरण मृतक भनिएका टोपबहादुरको शव फेला परेपछि मात्रै आउने प्रहरीले जनाएको छ ।





