प्रथाजनित हानिकारक  सोचले अझै हटेन छाउ बार्ने प्रथा

दिनेश बुढा 

सुर्खेत, २ चैत । 

कर्णाली प्रदेशमा अझै पनि प्रथाजनित हानिकारक सोचका कारण छाउपढी प्रथा हट्न नसकेको पाइएको छ । वीरेन्द्रनगरमा दुई दिनसम्म चलेको छाउपढी सम्बन्धिको एक कार्यशालाका सहभागिहरुले महिनावारीको समयमा घरभित्र पस्दा देउता रिसाउछन् भन्ने मनोविज्ञान हटाउन सकेका छैनन् ।

आठबीस नगरपालिका–१, सातलाका अधिकारी देवताका धामी तेजबहादुर विकले महिनावारी भएका महिलालाई घरमा राख्दा देवताले स्वीकार नगर्ने दावी गरे । ‘महिनावारी भएपछि सुरक्षित राख्ने कुरा ठिक हो । तर, घरमा सबैसँग राख्न मिल्दैन्‌’, धामी तेजबहादुरले भने, ‘देवताले स्वीकार्दैनन्, भनेको नमानेपछि उ (महिनावारी भएको महिला) आफै बिरामी पर्छन् ।’

साथै उनले आफ्‌नो घरमा रहेका श्रीमति र तीन जना छोरीहरु महिनावारी भएको समयमा बाहिर बस्ने र सातदिनपछि मात्रै घरमा आउन दिने गरेको बताए । उक्त कार्यशालामा प्रस्तुत अध्ययन र प्रतिपेदनमाथि विस्तृत रुपमा बहस र छलफल गर्दै सरोकारवालहरुले महिनावारी सम्बन्धी सामाजिक कुरीति न्यूनीकरण तथा महिलाको स्वास्थ्य अधिकार सँगै छाउपडी प्रथा अन्त्यका लागि देखिएका चुनौती र समाधानका उपाय औलाएका थिए ।

कार्यशालामा बोल्दै दैलेखको आठबीस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले प्रत्येक व्यक्तिका सोचका कारण छाउपडी पर्थाको अन्य गर्न नसकिएको बताए । उनले समाजमा जाने बुझेका शिक्षित व्यक्तिहरुले नै व्यवहारमा लागू नगर्दा छाउपडी अझै कायमै रहेको औलाए । प्रमुख बडुवालले महिनावारीलाई घरकै राख्दा देविदेवता रिसाउने पराम्परागत सोच समाजमा रहेको बताए ।

‘महिनावारी भएको समयमा घरमा बस्दा देविदेवता रिसाउँछन् भन्ने छ । तर, त्यो होइन्‌’, उनले भने, ‘हाम्रा आस्थालाई मार्नुहुन्न, महिनावारी भएको बेला बाहिर पनि राख्नुहुँदैन् ।’ त्यस्तै, आठबीस नगरपालिका–१, का वडाध्यक्ष बमबहादुर रावतलले छाउपडीले समाजमा जरा गाडेर बसेको बताउँदै यसलाई न्युनिकरणका लागि धेरै समय खर्चिनुपर्ने बताए ।

आठबीस नगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख देवराज तिमिल्सेनाले छाउपडी प्रथाको अन्त्यका लागि निरन्तर जनचेतना र अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । यस्तै, विकास स्रोत केन्द्रका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका प्रध्यापक प्राडा भीमसेन देवकोटाले महिनावारीको रोग सानो ठूलो गरी सबै ठाउँमा छरिएको बताए । ‘महिनावारी बार्ने चलन सबै ठाउँमा भएको देखिन्छ । कतै ठूलो छ, कतै सानो’, उनले भने, ‘हामीले महिनावारी भएका महिलाहरुलाई सेवासुविधा, सुरक्षाका हिसाबले परिवार र समुदायमा सँगै राख्नुपर्ने छ ।’

प्रथाजनित हानिकारक सोच हटाउनुपर्नेमा जोड

कार्यशालाका सहभागीहरुले छाउपडी प्रथाको अन्त्यका लागि प्रथाजनित हानिकारक परम्परागत सोच हटाउनुपर्नेमा जोड दिइएको छ । वीरेन्द्रनगरमा छाउपडी प्रथा सम्बन्धि भएको दुइ दिने कार्यशालाले यसको अन्त्यका लागि परम्परागत मूल्यमान्यता तथा सोचलाई हटाउनुपर्नेमा जोड दिइएको हो ।

‘हाम्रो आवाजः छाउपडी अन्त्य, परिवर्तित जीवन’ भन्ने सन्देशका साथ महिनावारी स्वास्थ्य प्रवद्र्धन कार्यक्रम ‘समिप’ अन्तरगत अमेरिकास्थित पिट्सवर्ग विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, विकास स्रोत केन्द्र, एमएचएमपीए नेपाल लगायतका संस्थाको आयोजना र एनआईएच फोगार्टी इन्टरनेशनल सेन्टरको आर्थिक सहयोगमा कार्यशाला गरिएको थियो ।

शनिबार र आइतबार गरी दुई दिन चलेको कार्यशालमा समिपले गत जेठमा दैलेखको आठबीस नगरपालिका–१, सातलाका विभिन्न टोलमा १० दिनसम्म अध्ययन तथा अनुसन्धान गरेर छाउपडी प्रथाका बारेमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

आठबीस नगरपालिकामा गरिएको अध्ययन प्रतिवेदनको बारेमा त्रिभुवन विश्वविद्यालयका सुधा घिमिरे र अमेरिकाका अनुसन्धानकर्ता साराले चर्चा गरेकी थिइन् । महिला समुदायका विषयमा रहेर १२ वर्षदेखि नेपालमा काम गर्दै आएकी अमेरिकाका अनुसन्धानकर्ता साराले ‘समिप’ कार्यक्रमले समुदायमा रहेका महिलाहरुलाई धामी, झार्की, विद्यालय, शिक्षक लगायतका बुद्धिजिवि व्यक्तिहरुलाई नजिक ल्याउने काम गरेको बताइन् ।

‘सबैको आवाजलाई एक ठाउँमा ल्याउन सक्छौ भन्ने हाम्रो उदेश्य हो’, उनले भनिन्, ‘महिलाहरु महिनावारी भएर बाहिर बस्दाका पीडा तथा भोगाइहरुलाई सबै व्यक्तिहरु नजिक ल्याउने कुरामा हामीले ध्यान दिएका छौँ ।’

यस्ता छन् मस्या पहिचानदेखि समाधानका उपाय

दुई दिनसम्म चलेको कार्यशालाबाट छाउपडीको अन्त्यका लागि देखिएका समस्या र चुनौतीहरूको पहिचानसँगै समाधानका उपायबारे पनि छलफल गरिएको छ । कार्यशालाको पहिलो दिनमा सहभागीहरूले समुदायमा अझै कायम रहेका छाउपडीसँग सम्बन्धित समस्या र चुनौतीहरूको पहिचान गरिएका थिए ।

ती महिनावारीका समयमा महिलालाई गरिने विभेद, धार्मिक विश्वासका कारण हुने बहिष्कार तथा सुरक्षित संरचनाको अभावजस्ता विषयहरू उठाइएको थियो ।कार्यशालामा सहभागी समुदायका मानिसहरूसँग छलफल गर्दै समस्याको समाधानका सम्भावित उपाय तथा उपलब्ध स्रोतहरूको पहिचान गर्ने काम गरिएको छ । छलफलका क्रममा शिक्षा, पूर्वाधार, सामाजिक सञ्जाल र सांस्कृतिक कार्यक्रममार्फत जनचेतना फैलाउने विभिन्न प्रस्तावहरू आएका त्रिभुवनविश्व विद्यालयका प्राध्यापक प्राडा भीमसेन देवकोटाले जानकारी दिए ।

उनका अनुसार स्थानीय तहहरुले विद्यालयको पाठ्यक्रममै महिनावारी र धार्मिक आस्थासँग सम्बन्धित जनचेतनामूलक विषय समावेश गर्ने, स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले विद्यालयमा पुगेर महिनावारी स्वास्थ्यसम्बन्धी कक्षा सञ्चालन गर्ने लगायतका समाधानका उपायहरु कार्यशालामा आएका छन् ।

यस्तै, नयाँ घर निर्माण गर्दा छुट्टै शौचालयसहितको सुरक्षित ‘आराम कक्ष’ निर्माण गर्न अनुमति दिने व्यवस्था गर्ने, महिनावारीसम्बन्धी सकारात्मक सन्देशसहितका भिडियो सामग्री उत्पादन गरेर सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने, गीत–संगीतमार्फत महिनावारीलाई सकारात्मक रूपमा बुझाउने सन्देश समुदायमा फैलाउने कार्यक्रम सञ्चालन गर्ने लगायतका समाधानका उपायहरु खोजिएका छन् ।

कार्यशालामा आठबीस नगरपालिका नगरप्रमुख बडुवाल, आठबीस नगरपालिका–१ का वडाध्यक्ष रावतसँगै त्रिभुवन विश्वविद्यालय वीरेन्द्रनगर बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. बेलपत्रनाथ योगी, मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक त्रिभुवन बि‍‍सी स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, धामी, पुजारी, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न समुदायहरुको सहभागिता थियो ।

प्रथाजनित हानिकारक   सोचले अझै हटेन छाउ बार्ने प्रथा

अन्तर्वार्ता :  पुराना दलले पनि आत्तिनु पर्दैन,

प्रथाजनित हानिकारक   सोचले अझै हटेन छाउ बार्ने प्रथा

मध्यपूर्व युद्धको प्रभावको आशंका :  पेट्रोल पम्पमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds