जुम्लामा एलपी ग्यासको अभाव आशंका: डिलरलाई अभिलेख राख्न प्रशासनको निर्देशन
गाेल्डेन बुढा
जुम्ला,२९ फाल्गुन ।
जुम्लामा एलपी ग्यासको कृत्रिम अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार नियमन कडा पार्दै ग्यास डिलरलाई किनेको र बेचेको ग्यासको विस्तृत अभिलेख अनिवार्य राख्न निर्देशन दिएको छ।निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाहरूको बैठकले ग्यासको आपूर्ति व्यवस्थापनलाई पारदर्शी बनाउने र कृत्रिम अभाव हुन नदिने उद्देश्यले यस्तो निर्णय गरेको हो। ‘जिल्लामा ग्यासको कृत्रिम अभाव देखिन थालेको गुनासो आएको छ, यसलाई नियन्त्रण गर्न डिलरहरूले ग्यास किनेको र बेचेको स्पष्ट अभिलेख राख्न भनिएको छ,’ निमित्त प्रमुख जिल्ला अधिकारी रावलले भने।पछिल्लो समय सदरमुकाम खलंगामा ग्यास अभाव देखिन थालेपछि उपभोक्ताहरू चिन्तित बनेका छन्। कतिपय व्यापारीले प्रतिनिधिसभा निर्वाचनका कारण मालवाहक गाडी सञ्चालनमा समस्या भएको तर्क गर्दै ग्यास नल्याएको दाबी गरिरहेका छन् भने केहीले आगामी दिनमा ग्यास महँगिन सक्ने आशंका देखाउँदै आपूर्ति रोकेको आरोप उपभोक्ताले लगाएका छन्।उपभोक्ताहरूका अनुसार बजारमा मागअनुसार ग्यास उपलब्ध नभएपछि दैनन्दिन जीवन नै प्रभावित हुन थालेको छ। उनीहरूले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न प्रशासनले कडा निगरानी गर्नुपर्ने माग गरेका छन्।जिल्ला प्रशासन कार्यालयका अनुसार खलंगामा मात्रै दैनिक करिब २ हजार सिलिण्डर ग्यास आवश्यक पर्ने अनुमान गरिएको छ। तर बजारमा ग्यासको माग उच्च हुँदाहुँदै पनि आपूर्ति कमजोर देखिनु र बजारमा कृत्रिम अभाव देखिनुले व्यापारीहरूले ग्यास लुकाएर राखेको आशंका समेत बढाएको छ।निमित्त प्रमुख जिल्ला अधिकारी रावलले भने, ‘ग्यासको कृत्रिम अभाव हुन नदिने र उपभोक्ताले सहज रूपमा ग्यास पाउनुपर्ने व्यवस्था मिलाउन प्रशासन सचेत छ। बजारमा अनावश्यक हाहाकार सिर्जना हुन नदिन आपूर्ति व्यवस्थापनलाई व्यवस्थित बनाइनेछ।’बैठकले जिल्लामा ग्यास आपूर्ति गर्ने डिलरहरूको पहिचानसमेत गरेको छ।
प्रशासनका अनुसार बुढा जनरल स्टोर र लगन स्टोर एण्ड सप्लायर्सले जुम्लामा ग्यास बिक्रीवितरण गर्दै आएका छन्।अब यी डिलरहरूले ग्यास जिल्ला भित्र्याएदेखि उपभोक्तासम्म बिक्री भएको प्रत्येक सिलिण्डरको अभिलेख राख्नुपर्नेछ। डिलरबाट कति सिलिण्डर आयो, कसलाई कति वितरण भयो भन्ने विवरणसमेत प्रशासनलाई उपलब्ध गराउनुपर्ने निर्णय बैठकले गरेको छ।‘ग्यास जिल्ला भित्रिएकोदेखि उपभोक्तासम्म पुगेको विवरणसम्मको अभिलेख प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ,’ रावलले भने। उनका अनुसार यसले ग्यासको आपूर्ति शृंखलालाई पारदर्शी बनाउने र कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।डिलरहरूका अनुसार शनिबार मात्रै करिब ८ सय सिलिण्डर ग्यास जुम्ला आइपुग्ने तयारी रहेको छ।
हाल जुम्लाको सदरमुकाम खलंगामा प्रतिग्यास सिलिण्डर २ हजार २ सयदेखि २ हजार २ सय ५० रुपैयाँसम्ममा किनबेच भइरहेको छ। आपूर्ति कमजोर हुँदा मूल्य बढ्ने चिन्ता पनि उपभोक्तामा बढेको छ।जुम्लामा ग्यास अभाव हुने संकेत देखिएपछि स्थानीय प्रशासनले उद्योग वाणिज्य संघ, उद्योग तथा उपभोक्ता कार्यालय तथा ग्यास डिलरबीच समन्वय बैठक गरी सम्भावित अभाव रोक्न आवश्यक पूर्वतयारी थालेको जनाएको छ। प्रशासनले बजारको अवस्था नजिकबाट अनुगमन गर्दै उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन पहल गरिरहेको बताएको छ।




