ड्रागन फ्रुटतर्फ आकर्षित बर्दियाका किसान : आम्दानी र रोजगारीको नयाँ सम्भावना

बर्दिया ,१४ कार्तिक ।

पछिल्लो समय बर्दियाका किसानहरू विदेशी फल मानिने ड्रागन फ्रुट खेतीतर्फ आकर्षित भएका छन्। लाभदायक मूल्य, बढ्दो बजार माग र सजिलो व्यवस्थापनका कारण किसानहरू यसलाई भविष्यको मुख्य विकल्पका रूपमा लिन थालेका छन्।

गुलरिया नगरपालिका–८ सुरजपुरका किसान हिमबहादुर पुनले दुई वर्षअघि ड्रागन फ्रुट खेती सुरु गर्नुभएको हो। करिब दुई कट्ठा क्षेत्रमा गरिएको खेतीबाट उहाँले खर्च कटाएर करिब पाँच लाख रुपैयाँसम्मको आम्दानी लिन सफल भएको अनुभव सुनाउनुभयो। उहाँका अनुसार ड्रागन फ्रुटले प्रारम्भिक लगानी बाहेक विशेष कठिनाइ नहुने र वर्षैभरि आम्दानी लिन सकिने भएकाले किसानको रुचि बढिरहेको छ।

हिमबहादुर भन्नुहुन्छ,“पहिला हामीले कोही खाइदिन्छ कि भन्ने डर थियो, तर अहिले मागले गर्दा फल बजारमा पुर्‍याउनै मुस्किल छ। नेपालगञ्ज, सुर्खेत, दैलेखसम्म ग्राहक आफैं खोज्दै आउँछन्। प्रति किलो ५०० रुपैयाँभन्दा कममा बेच्नु परेको छैन। एक पटक बोट उत्पादनमा आएपछि वर्षैभरि फल पाइन्छ। यो खेतीले मलाई मात्र होइन, गाउँका अरु किसानलाई पनि आकर्षित गरेको छ।”

यस्तै, स्थानीय महिला किसान लता मल्लले पनि केही बोट लगाएर परीक्षण गर्नुभएको छ। उहाँले भन्नुभयो,“ड्रागन फ्रुट खेती गर्न खासै मेहनत छैन। एक पटक रोपिसकेपछि हेरचाह सजिलो हुन्छ। फूल आएको एक महिनामै फल पाक्छ र बजारमा बिक्री गर्न सकिन्छ। स्थानीय बजारमा मात्र नभई बाहिरी जिल्लामा समेत माग बढेको छ। यसले महिला कृषकलाई आत्मनिर्भर बन्ने अवसर दिएको छ।”
कृषकहरूको भनाइमा ड्रागन फ्रुट खेतीले परम्परागत बालीको तुलनामा धेरै नाफा दिने गरेको छ। धान, मकै वा तरकारी खेती गर्दा लागत धेरै र नाफा कम हुने तर ड्रागन फ्रुटमा भने उल्टो परिस्थिति देखिएको छ। यस कारण पछिल्लो समय धेरै किसान यसतर्फ आकर्षित भएका छन्।

तर, यद्यपि सम्भावना उज्ज्वल देखिए पनि केही चुनौती भने बाँकी छन्। बजार व्यवस्थापन दीर्घकालीन रूपमा सुनिश्चित नभएको किसानहरूको गुनासो छ। “अहिले त मूल्य राम्रै पाइन्छ, तर यदि ठूलो मात्रामा उत्पादन हुन थाल्यो भने किन्नेलाई कहाँ खोज्ने? सरकारले बजार विस्तार र प्रशोधनमा दीर्घकालीन योजना बनाउन सके किसानलाई थप फाइदा हुनेछ।”
कृषि विज्ञहरूका अनुसार बर्दियाको माटो र मौसम ड्रागन फ्रुट खेतीका लागि उपयुक्त छन्। कृषकलाई तालिम, प्राविधिक सहयोग र भण्डारण सुविधा उपलब्ध गराइएमा यसले स्थानीय रोजगारी र आयआर्जनमा ठूलो योगदान पुर्‍याउन सक्ने सम्भावना रहेको छ।

स्थानीय कृषक कृति खत्रीले पनि समूहमा आधारित खेतीको आवश्यकता औंल्याउँदै भन्नुभयो
“हामी महिला किसानलाई समूहमा खेती गर्ने अवसर मिले राम्रो हुन्छ। यसरी उत्पादन बढ्यो भने बजारमै साझेदारी गरेर ठूलो फाइदा लिन सकिन्छ। अहिले व्यक्तिगत स्तरमा गर्दा धेरै टाढासम्म बजार खोज्न गाह्रो पर्छ।”

हाल बर्दियामा केही किसानले मात्र व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती थालेका भए पनि यसको नतिजाले अन्य किसानहरूलाई समेत प्रेरित गरेको छ। यदि सरकार र सम्बन्धित निकायले दीर्घकालीन बजार योजना, तालिम, प्रशोधन उद्योग र भण्डारण प्रणालीमा ध्यान पुर्‍याए, ड्रागन फ्रुट खेती बर्दियाका किसानका लागि रोजगारी र आम्दानीको प्रमुख स्रोत बन्न सक्ने देखिन्छ।
किसानहरूको उत्साह, बजारको बढ्दो माग र प्राकृतिक अनुकूलताका आधारमा ड्रागन फ्रुट खेती बर्दियाको कृषक समुदायका लागि उज्ज्वल भविष्यको ढोका खोल्ने संकेत देखिन थालेको छ।

 

ड्रागन फ्रुटतर्फ आकर्षित बर्दियाका किसान : आम्दानी र रोजगारीको नयाँ सम्भावना

शुक्लाफाँटा निकुञ्ज विस्थापितका पीडा : ३३ आयोग

ड्रागन फ्रुटतर्फ आकर्षित बर्दियाका किसान : आम्दानी र रोजगारीको नयाँ सम्भावना

चितवनमा बस दुर्घटना, ३३ जना घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds