कोहलपुरमा ट्राफिक व्यवस्थापन अस्तव्यस्तः जनचेतना अभावले दुर्घटना बढ्दै

सरला सुवेदी

पछिल्लो समय कोहलपुरमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ । सवारी चालकको ट्राफिक जनचेतनाको अभावले दुर्घटना दरमा वृद्धि भएको छ । विशेष गरी जेब्रा क्रसिङ, चोकहरू र पैदल यात्रुका लागि सुरक्षित स्थानहरूमा सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्दा समस्या झनै गम्भीर बन्न पुगेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख पुस्कर राज पन्तका अनुसार, “सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन सवारी चालकलाई जनचेतना जगाउनु अहिलेको आवश्यकता हो । ट्राफिक नियम पालना नगर्दा पैदल यात्रु, साइकल यात्री र मोटरसाइकल प्रयोगकर्तामा सबैभन्दा धेरै असर परिरहेको छ । जेब्रा क्रसिङमा गाडी नरोकिने समस्या प्रमुख रूपमा देखा परेको छ, जसले गर्दा पैदल यात्रुले सास्ती भोग्नु परिरहेको छ ।’’
प्रमुख पन्तले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालयले चाँडै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । उनले भने, “सवारी चालकले जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिनुपर्छ। यदि यो नियम पालना गरिएन भने, ट्राफिक प्रहरीले कडा कारबाही अघि बढाउनेछ ।”

प्रमुख पन्तले भने, “सडक दुर्घटनाबाट बच्न सबै पक्षले आफ्नो भूमिका निभाउनुपर्छ । यसका लागि ट्राफिक नियमबारे प्रशिक्षण कार्यक्रम र सचेतना अभियान चलाउनु अत्यन्त आवश्यक छ ।” कोहलपुरको बसपार्क प्रवेशद्वार, न्युरोड चोक, इलाका प्रहरी कार्यालय चोक, र हाइस्कुल चोकमा ट्राफिक नियम उल्लंघनका घटनाहरू प्रायः देखिन्छन् । जेब्रा क्रसिङको अवधारणा सवारी चालकले अझै पूर्ण रूपमा नअपनाएकाले दुर्घटनाको जोखिम बढेको छ । पैदल यात्रीले सुरक्षितरूपमा बाटो काट्न कठिनाइ भोग्नु परिरहेको छ भने कतिपय गाडी चालकले जेब्रा क्रसिङलाई सवारी रोकिने स्थानका रूपमा प्रयोग गर्ने गरेका छन् ।

स्थानीय मिलन शाहीका अनुसार, “ट्राफिक जनचेतना अभावकै कारण दुर्घटना बढेको हो । यस्ता समस्याहरूलाई सम्बोधन गर्न स्थानीय तह र ट्राफिक प्रहरीले नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।” सवारी दुर्घटनाको प्रमुख कारण जेब्रा क्रसिङमा सवारी नरोकिनु, ओभरट्याक गर्ने गलत बानी, र ट्राफिक संकेतको पालना नगर्नु रहेको छ । स्थानीय अगुवा केशव शाहीका भनाईमा, “ट्राफिक नियमको पालना गरिएमा दुर्घटनाको दर स्वतः घट्नेछ । साना सवारी साधन, अटो र मोटरसाइकल चालकहरूले नियम उल्लंघन नगरेमा समस्या कम गर्न सकिन्छ ।”

स्थानीय भूराज भण्डारीले सवारी चालकहरूको लापरवाहीका कारण साइकल र पैदल यात्रु बढी पीडित भएको बताए । उनले भने “ट्राफिक जनचेतना अभियान तीव्र बनाउन सबै सरोकारवालाले ध्यान दिनुपर्छ । जनचेतना नजागेसम्म ट्राफिक व्यवस्थापन सुधार हुन गाह्रो छ ।”

कोहलपुरमा ट्राफिक व्यवस्थापनलाई सुधार गर्न ट्राफिक जनचेतना अभिवृद्धि अनिवार्य छ । सवारी चालकले नियम पालना गरे मात्र दुर्घटनामा कमी आउनेछ । ट्राफिक प्रहरी, स्थानीय निकाय, र सरोकारवाला समूहले सामूहिक प्रयास गरेमा कोहलपुरको ट्राफिक व्यवस्थापन सुदृढ हुँदै जानेछ । त्यसैले सडक दुर्घटना न्यून गर्न सवारी चालक, पैदल यात्री, ट्राफिक प्रहरी, र स्थानीय निकायबीच सहकार्य अपरिहार्य देखिन्छ ।

कोहलपुरमा ट्राफिक व्यवस्थापन अस्तव्यस्तः जनचेतना अभावले दुर्घटना बढ्दै

अछाममा दुई किशोरी मृत्यु प्रकरण : दुई