सम्पादकीय : न्याय प्रभावित नहोस् !

सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु भएको १९ दिनपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । यो सँगै अब यो प्रकरण औपचारिक रूपमा न्यायिक परीक्षणको चरणमा प्रवेश गरेको छ । तर अनुसन्धानका निष्कर्ष, परिवारको असहमति र सामाजिक संवेदनशीलताबीचको दूरीले यस घटनालाई केवल आपराधिक मुद्दा नभई न्यायप्रतिको विश्वाससँग जोडिएको विषय बनाएको छ । प्रहरी अनुसन्धानले इनिशाको मृत्यु सामूहिक बलात्कार नभई मुख्य अभियुक्तसँगको शारीरिक सम्पर्कपछि यौनाङ्गमा लागेको गहिरो चोटका कारण भएको अत्यधिक रक्तस्रावबाट भएको निष्कर्ष निकालेको छ । सोही आधारमा मुख्य अभियुक्तविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउने तयारी गरिएको छ भने घटनास्थलमा रहेका अन्य व्यक्तिहरूमाथि पनि कर्तव्य ज्यानसम्बन्धी अभियोग लगाइएको छ ।
कानुनी दृष्टिले हेर्दा यदि जबरजस्ती करणी पुष्टि हुन्छ र त्यसैको परिणामस्वरूप मृत्यु भएको देखिन्छ भने नेपालको प्रचलित फौजदारी कानुनअनुसार कडा सजाय जन्मकैदसम्मको व्यवस्था छ । तर यस प्रकरणको जटिलता यतिमै सीमित छैन । मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन् र उनीहरूले दोषीलाई कडा कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । यसले अनुसन्धानको निष्कर्षप्रति अविश्वास देखाउँछ । यस्तो अवस्थामा प्रश्न उठ्छ, के अनुसन्धान पर्याप्त पारदर्शी र विश्वसनीय ढंगले सम्पन्न भयो ? के पीडित पक्षलाई न्यायिक प्रक्रियामा समुचित रूपमा समेटिएको छ । कानुनी रूपमा, पोष्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण, सीसीटिभी फुटेज र डिजिटल प्रमाणहरू अनुसन्धानका महत्वपूर्ण आधार हुन् । तर यस्ता प्रमाणहरूको व्याख्या र निष्कर्षमा पुग्ने प्रक्रिया पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र वैज्ञानिक हुन आवश्यक छ । विशेषगरी यौनजन्य हिंसा र किशोर संलग्न घटनामा, प्रमाण संकलनदेखि अभियोजनसम्मको प्रत्येक चरणमा संवेदनशीलता र विश्वसनीयता अत्यावश्यक हुन्छ ।
अर्को महत्वपूर्ण पक्ष कर्तव्य ज्यान सम्बन्धी अभियोग हो । घटनास्थलमा उपस्थित अन्य व्यक्तिहरूले पीडितलाई बचाउन प्रयास नगरेको आरोपमा मुद्दा चलाइनु कानुनी रूपमा सम्भव भए पनि यसको पुष्टि गर्न स्पष्ट प्रमाण आवश्यक हुन्छ । केवल उपस्थित भएको आधारमा दायित्व निर्धारण गर्नु न्यायसंगत ठहरिन गाह्रो हुन्छ । जबसम्म उनीहरूको भूमिकाले प्रत्यक्ष रूपमा मृत्युमा योगदान दिएको प्रमाणित हुँदैन । अब ध्यान जिल्ला सरकारी वकिल कार्यालय र अदालततर्फ केन्द्रित भएको छ । अनुसन्धान प्रतिवेदनको गहिरो अध्ययनपछि मात्र अभियोगपत्र दर्ता हुनेछ र त्यसपछि अदालतले प्रमाणको मूल्याङ्कन गर्नेछ । यही चरणमा न्यायिक निष्पक्षता, प्रमाणको विश्वसनीयता र कानुनी व्याख्याको परीक्षण हुनेछ । यदि अनुसन्धानप्रति शंका रहिरह्यो भने अदालतको निर्णय पनि विवादमुक्त रहन सक्दैन । अन्ततः, इनिशा विकको मृत्यु केवल एउटा फौजदारी मुद्दा होइन; यो हाम्रो न्याय प्रणालीप्रतिको विश्वासको परीक्षा हो । सत्य तथ्य जे भए पनि, न्याय निष्पक्ष, देखिने र महसुस हुने गरी हुनुपर्छ । किनकि न्याय केवल गरिनु मात्र होइन, गरिँदैछ भन्ने अनुभूति दिलाउनु पनि उत्तिकै आवश्यक छ ।






