सम्पादकीय : नसर्ने रोगको जोखिम
कर्णाली प्रदेशमा वषेर्नी नसर्ने रोगका विरामीहरु बढ्दै गएका छन । प्रदेश सरकारले नसर्ने रोगलाई समयमै रोकथाम, उपचार तथा परामर्श गरी न्यूनीकरण गर्ने उद्देश्यका साथ गत बैशाखबाट शुभारम्भ गरेको निःशुल्क नागरिक स्वास्थ्य परीक्षण कार्यक्रममा सहभागी भएका २२ हजार सात सय ५१ जना मध्ये चार हजार सात सय ५८ जनामा दीर्घ रोग पहिचान भएको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक देखाउँछ । मन्त्रालयले कर्णाली प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने ४० वर्षमाथिका नागरिकमा नसर्ने रोगको जोखिम न्यूनीकरण, रोकथाम, उपचार तथा परामर्श गर्न नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम अघि बढाएको थियो । ४० वर्ष कटेका प्रदेशभरका नागरिकमा नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगको निःशुल्क परीक्षण गरी भविष्यमा आउन सक्ने जोखिमलाई समयमै व्यवस्थापन गर्र्ने उद्देश्यले निशुल्क नागरिक स्वास्थ्य कार्यक्रम शुभारम्भ भएको थियो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार नागरिक स्वास्थ्य परीक्षण तथा स्कृनिङ्ग कार्यक्रमबाट प्रदेशभर २२ हजार सात सय ५१ जना लाभाविन्त भएका छन् । जसमा दुई हजार पाँच सय ३६ जना उच्च रक्तचाप, एक हजार चार सय २८ जना मधुमेह र सात सय ९४ जना मृगौलाका रोगीहरु पहिचान भएका छन् ।
कर्णालीमा हरेक वर्ष नसर्ने रोगहरूको भार बढ्दै जानुले यहाँका नागरिकको जीवनशैली तथा खानपान अस्वस्थ बन्दै गएको संकेत गर्छ । नसर्ने रोगको मुख्य कारण अस्वस्थ खानपान र जीवनशैली हो । नसर्ने रोगको बढ्दो ग्राफले भविष्यमा राज्यलाई थप आर्थिक व्ययभार बढ्ने देखिन्छ । समुदायस्तरमा समयमै रोगको पहिचानमार्फत प्रभावित जनसंख्यालाई उपचारको पहुँचमा ल्याउन नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी हुनसक्छ । नसर्ने रोगहरू जस्तै, उच्च रक्तचाप, मधुमेह र मृगौलाको परीक्षण तथा दीर्घ श्वासप्रस्वास सम्बन्धी रोगको समुदायस्तरमै पहिचान गरी नजिकको अस्पतालमा समयमै पठाउन सकिएको खण्डमा परिवार तथा राज्यलाई थप व्ययभार हुनबाट जोगाउन सकिन्छ । नसर्ने रोग र तिनको जोखिम समयमै पहिचान गरी उचित परामर्श र उपचार सेवा दिई नागरिक समक्ष स्वास्थ्य सेवाको दायरा विस्तार गर्नु राज्यको पहिलो दायित्व हो ।
यसका साथै योग र ध्यानका माध्ययमबाट शारीरिक मजबुती र मानसिक स्वास्थ्यमा सुधार ल्याउने खालका कार्यक्रमलाई समेत अघि बढाइनु पर्दछ । प्रदेश सरकारले सुरु गरेको नागरिक स्वास्थ्य परीक्षणबाट प्राप्त तथ्यांकका आधारमा कर्णालीको भावी स्वास्थ्य रणनीति तय गर्न ढिला गरिनु हुँदैन । आवश्यक पूर्वाधार, दक्ष जनशक्तिको अभावका कारण कर्णालीको स्वास्थ्य प्रणाली सबल बन्न सकेको अवस्था छैन । सरकारले गरेको निशुल्क स्वास्थ्य परीक्षणबाट आएको तथ्यांकलाई केलाउने हो भने कर्णालीमा ४० कटेको ठुलो जनसंख्या दीर्घ रोगलाई लुकाएर बसेको देखिन्छ । यो सकरात्मक पक्ष होइन । आफ्नो स्वास्थ्यको ख्याल नागरिक स्वयमले पनि गर्नुपर्दछ ।
कम्तीमा वर्षको एक पटक आफ्नो स्वास्थ्य अवस्थाको अनिवार्य जाँच गर्ने बानी नागरिकमा बसाल्न सकिएको खण्डमा परिवार र राज्यलाई नसर्ने रोगको उपचारमा थपिने व्ययभार कम गर्न सकिन्छ । कतिपय अवस्थामा बाहेक अन्य समयमा राज्यको मुख ताक्ने नागरिक प्रवृत्तिको समेत अन्त्य हुन जरुरी छ । यसर्थ, कर्णालीको वर्तमान स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउँदै नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्रदेशका सबै पालिकामा प्रभावकारी विस्तारमा सरकारले विलम्ब गर्नु हुँदैन ।





