जौ भित्र्याउने चटारो


यहाँका किसानलाई हिउँदे बाली जौ भित्र्याउने चटारो छ । गुठिचौर गाउँपालिकाका चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिका लगायत भित्रका विभिन्न बस्तीका किसानलाई बाली भित्र्याउन भ्याइनभ्याइ छ । जुम्लाको गुठिचौर गाउँपालिका–५ देपालगाउँकी गीता सार्कीले खेतबारीमा जौ पाकेपछि दैनिकजसो व्यस्त हुन थालेको बताइन् । बिहानदेखि राति अबेरसम्म खेतबारीमै व्यस्त हुने गरेको उनको भनाइ छ ।
जौ काटेर कालीमार्सी धान रोप्न सुरु गर्नुपर्ने हुनाले किसानहरु यतिबेला व्यस्त छन्।ससानातिना बालबालिका देखि वृद्धहरु जौ काट्दै गरेको दृश्य देख्न पाइन्छ । बालबालिका दिउँसोको समय विद्यालय जाने गरेपनि विहान बेलुका जौ भित्र्याउन सहयोग गर्ने गरेको जुम्लाको गुठिचौर गाउँपालिका–५ का कृष्णबहादुर महतले बताए ।
’दिउँसो पढ्न विद्यालय जान्छु,विहान बेलुकाको समयमा घरमा बुबाआमालाई सघाउनु पर्छ । अरुले खेतीमा काट्ने काम गर्छन्, घरमा ल्याउन सघाउछु ।’ महतले भने । जौ भित्राएपछि कालिमार्सी धान रोपाई सुरु हुने भएकोले किसान धमाधम जौ काट्न हतारोमा देखिएका हुन् ।
तर धेरै ठाउँ रोपाई भने जेठ महिनाको दोस्रो हप्ताबाट सुरु हुन्छ । जुम्लाका ८ वटै स्थानीय तहमा जौ खेती गरिन्छ।अन्य बालि भन्दा जौ को खेती केही कम मात्रामा हुन्छ । तर समग्रमा गरिने जौ को खेतीमा कमी नआएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा बताउँछन् ।
उनले भने, ‘जौँको निकै महत्व पुर्ण छ । जौँलाई एकदमै पौष्टिक आहारको रुपमा लिइन्छ ।’ सबै गाउँ बस्तीमा झन्डै ९५ प्रतिशत किसानले र जौ बाली भित्र्याइ सकेको चन्दननाथ नगरपालिका –४ की पञ्चकली सुनाले बताइन् ।
उनले भनिन् जौ भित्र्याएपछि किसान धान रोप्न व्यस्त छन्। यता जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा तीन हजार ८ सय ७० हेक्टर जमिनमा जौ उत्पादन हुने गरेको छ । वार्षिक ७ हजार मेट्रिकटन जौ बाली उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।
किसानका अनुसार अहिले यहाँका ग्रामीण क्षेत्रमा समेत ३० रुपैयाँ मानाका दरले जौ बिक्री हुने गरेको छ।कार्यालयका अनुसार जिल्लामा उत्पादन हुने जौ ६ देखि ८ महिना सम्म मात्र खाना पुग्ने गरेको किसान बताउँछन् । आफ्नै उत्पादनले नपुग्ने भएपछि किसान व्यापारिक चामल खरिद गरी जीविकोपार्जन गर्न बाध्य छन् ।






