तीन वर्षपछि मार्सी रोप्ने तयारीमा रामबहादुर नेपाली


पहिरोले ठिन्के कुलो बगाएपछि जुम्लाको चन्दननाथ नगरपालिका भित्रका तीन गाउँका किसानले तीन वर्षदेखि काली मार्सी धान रोप्न सकेको छैनन् । भण्डारीबाडा,आचार्यबाडा र तलीचौर गाउँका किसानले धान रोप्न नपाएका हुन्। सिँचाइ सुविधा बन्द भएपछि उनीहरु खेतमा जौं, गहुँ र सिमी रोप्दै आएका छन् ।
२०७८ साल असोज १९ गतेदेखि २५ गतेसम्म (एक साता) परेको अविरल वर्षासँगै आएको बाढीले कुलो छेदविछेद भएपछि किसानहरूले धान लगाउन अप्ठ्यारोमा परेका थिए।जुम्लाको चन्दननाथ नगरपालिका – १ आचार्यबाडा गाउँका किसान रामबहादुर नेपालीले खेतमा धान रोप्न नपाएको तीन वर्ष भएको गुनासो गरे।कुलो भत्किएको ठाउँमा मर्मत गर्न नसक्दा काली मार्सी फल्ने फाँट बाँझो छाडेको उनले गुनासो पोखे।उनले भने,यो वर्ष ६० लाख बजेट उपलब्ध भए पछि ठिन्के कुलो मर्मत सम्भारका लागि काम भइरहेको छ।तर,रोपाइको सिजनसम्म कुलो निर्माण सम्पन्न हुने नहुने निश्चित छैन्।
उनका अनुसार जेठ महिनाको १,२ गतेदेखि रोपाई शुरु गरिन्छ।अर्की किसान नानी थ्याइतका अनुसार ठिन्के कुलोले भण्डारीबाडा, आचार्यबाडा र तलिचौरको जिउलोमा सिँचाइ भइरहेको थियो । खेत बाँझो छाड्नु परेपछि मजदुरी गरेर गुजारा चलिरहेको सुनाइन्।मार्सीधान र चामलको बजारमा अत्यधिक माग बढिरहेको बेला खेत बाककझै देख्दा मन खिन्न हुने गरेको नानी बताउँछिन्।कुलोको नियमित रेखदेख र खेतमा सिँचाइ व्यवस्थापन गर्दै आइरहेका कर्णसिंह कुलाल पहिरोले कुलो भत्काउँदा सयौं किसानको उत्पादन प्रभावित भएको बताउँछन् ।कुलाले भने, तीन गाउँमा ८ सय ७२ मुरी खेत सिँचाइ हुन सकेको छैन् ।
सिँचाइ अभावकै कारण आचार्यबाडा, ठिन्के, देउतीमाडी, पाल्तीसरा र लयापानी जिउलोमा धान रोपाइँ भएको छैन्। तीन वर्षदेखि कुलो मर्मत नहुँदा झण्डै २ हजार ५ सय हेक्टर जमिन बाझो छ।जुम्लाको सदरमुकाम खलंगादेखि पातारासी जाने सडक बनाउँदा थर्किएको जमिनमा बर्षाले पहिरो गएपछि मार्सी फलाइरहेका दुई सय घरधुरीका किसानले अहिले बजारको सेतो चामल किनेर खानु परेको गुनासो गरिरहेका छन्।कर्णसिंहका अनुसार यो पटक सिँचाइ डिभिजन कार्यालय जुम्लाले ६० लाख रुपैयाँ बिनियोजन गरेर कुलोमर्मतसम्भार भइरहेको छ।तर,कडा चट्टा भएकोले समयमै काम सकिएर कुलो संचालनमा आउनेमा अन्यौल नै देखिन्छ।
१६ मुरी खेतमा जौं, गुहँ र सिमी रोप्दै आएका उनले कुलो बन्ने आशमा यो पटक मार्सी रोप्ने तयारी गरिरहेका छन्।पातारासीको कोटभीरदेखि झण्डै ५ किलोमिटर दूरी हुदै सिँचाइ कुलो बनाइएको हो।गत सिजनमा सिमी लगाएर १६ हजार रुपैयाँ बेचेको कर्णसिंहले सुनाए।यता जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले तीन वर्षको पहलकदमी पछि मर्मतको बजेट निकासा भएपछि रोपाइँको समयअघि कुलो संचालनमा ल्याउने गरी काम भइरहेको बताए।






