नीतिहरु बनाउँदा कर्णालीको वस्तुगत अवस्था बुझेर अघि बढ्नुपर्ने


आइतवार कुडा कर्नालीमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ‘कर्णाली दृष्टि’ नामक सत्रमा आ–आफ्नोबुझाइ राखे ।

एमालेका उपमहासचिव ज्ञवालीले कर्णाली पहिलेको तुलनामा परिवर्तन भएको बताए । सम्भावनाको ढोका खुल्न लागेको तर उघ्रिनसकेको प्रदेशका रुपमा आफूले कर्णालीलाई बुझेको उनले बताए ।

नेपालको मूलधारले राजनीतिमा कर्णालीलाई कसरी हेरिन्छ भन्ने सहजकर्ता बबिता बस्नेतको प्रश्नमा ज्ञवालीले भने, ‘हिजोको कर्णाली इतिहास हो, आजको कर्णाली हामीले भोगिरहेको वास्तविकता हो, भोलिको कर्णाली सम्भावना हो ।’

उनले थपे, ‘यहाँबाट उत्पत्ति भएको भाषा नेपालको मूल भाषा बनेको छ, कर्णालीकै भूगोलको जगमा उभिएर आजको नेपाल निर्माण भएको छ ।’

नेता ज्ञवालीले गौरवपूर्ण इतिहास भएको कर्णाली आज विविध कारणले पछाडि परेको बताए । समन्यायिक र समुन्नत विकासको अवधारणाभित्र कर्णाली पर्नुपर्ने तर्क ज्ञवालीको छ ।

पछिल्लो समय कर्णाली परनिर्भर भएको आभास आफूले गरेको उनले बताए । खाद्यान्न भनेकै भात खानु हो भन्ने बुझाइ बनेपछि कर्णालीमा परनिर्भरता बढेको उनको धारणा छ । नेता ज्ञवालीले कर्णालीको रैथाने बालीलाई खानाका रुपमा नलिइनु बिडम्बना भएको बताए ।

कर्णाली केन्द्रित भई काम गरेका सरोकारवालाहरु र संघीय नेतृत्वको ध्यान नजाँदा कर्णालीमा बन्नैपर्ने संरचना नबनेको ज्ञवाली बताउँछन् । कर्णाली पछि पर्नुको यो एउटा कारणको रुपमा रहेको उनी बताउँछन् ।

राजनीतिज्ञहरुले नीतिहरु बनाउँदा कर्णालीको वस्तुगत अवस्था बुझेर अघि बढ्नुपर्ने र यसका लागि बहस पनि सुरु भएको ज्ञवालीले बताए ।

प्रदेशमा भएको सम्भावनालाई हेरेर विकासको ढोका खोलिदिने बाटोमा दलहरु हिँडेमा कर्णाली समृद्ध हुन समय हुन नलाग्ने उनले बताए ।

संघीयताको अभ्यासका क्रममा यो व्यवस्था बोझिलो भयो भन्ने कतिपयको बुझाइ गलत भएको बताउँदै उनले राज्यको प्रशासनिक प्रणालीलाई आधुनिक बनाएर यसलाई सजिलो बनाउनुपर्ने ज्ञवालीले बताए ।

‘कर्णालीले सुविधा नै नपाएको भन्ने होइन, भएका नीति कार्यान्वयन नभएकाले बाग्मतीलाई दिइने जति सुविधा कर्णालीले नपाएको हुन सक्छ’, उनले भने ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कर्णालीमा राजनीतिक दलहरुले प्रतिवद्धता गरेअनुसार विकास भएको आफूले आभास गर्न नसकेको बताए । ‘कर्णालीवासी भात खान मन पराउँछन्, त्यसैले चामल पठाइदिए हुन्छ’ भन्ने संघको बुझाइ कर्णालीको विकासको बाधक भएको उनले बताए ।

‘कर्णालीलाई मैले सुन्दा गरिब देशको पनि गरिब बस्तीका रुपमा सुनाइराखियो, त्यतिबेलादेखि नै कर्णालीको विकासका निम्ति ठोस योजना बनेको देख्दिन’, पौडेलले भने, ‘कर्णाली गरिब होइन, गरिब हो भनेर चिनाइएको हो । कर्णालीले मात्र देशलाई समृद्ध बनाउन सक्छ ।’

कर्णालीका सांस्कृतिक बस्ती, हिमाल र पर्यटकीय स्थल, स्याउ उत्पादन, कृषि जस्ता सम्भावनालाई खोतल्नतिर राज्य सञ्चालन गर्ने राजनीतिज्ञहरु लाग्नुपर्ने नेता पदैडेलले बताए ।

कर्णालीलाई सही ढंगले चिनेर त्यसअनुसारको योजना बनाउने अभ्यास नभएको उनले बताए ।

पौडेलले कर्णालीको स्रोत पहिचान गरी त्यसअनुसार योजना बनाएर अघि बढ्न सकियो भने कर्णालीलाई देशकै समृद्ध बनाउन सकिने औंल्याए । उनले संघीय व्यवस्थाले कर्णालीलाई समृद्ध बन्न अवसर सिर्जना गरेको बताए ।

नीतिहरु बनाउँदा कर्णालीको वस्तुगत अवस्था बुझेर अघि बढ्नुपर्ने

नेपालमा झन्डै २६ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको

नीतिहरु बनाउँदा कर्णालीको वस्तुगत अवस्था बुझेर अघि बढ्नुपर्ने

कर्णाली सरकारले प्रजातन्त्र दिवसमा विविध कार्यक्रम गर्दै