बालविवाह विरुद्ध जुम्लामा देउडा प्रतियोगिता

जुम्लाको चन्दननाथ नगरपालिका –१० पिपल गाउँकी देवकी (खत्री) गिरी गाउँ बस्तीमा बालविवाह विरुद्धको देउडा भाका घन्काइकी छिन् । गिरीसँग ४ जना महिलाहरुको टिम नै छ । त्यो टिमले बालविवाह लगायतको सामाजिक कुरीतिविरुद्धको सचेतना फैलाइरहेको छ ।
मेला पर्वहरुमा,विवाह,भोजहरुमा वा कुनै पनि सुखद कार्यहरुमा गाइने देउडा भाकाहरु उनीहरुले सन्देशमुलक बनाइरहेका छन् । उसो त उनको समूह सन्देशमुलक देउडा प्रतियोगिताहरुमा भाग लिएर राम्रो स्थान ल्याउँदै आएको छ । सामान्य बोलीचालीका शब्दहरू देउडाभाडामा प्रस्तुत हुने भएकोले स्थानीयले सहजै बुझ्ने गरेका छन् ।
‘भाषण गर्दा,प्रशिक्षण दिइरहँदा धेरै शब्दहरु नबुझिने हुन सक्छन्,’देवकीले भनिन्,‘गाउँटोल भित्रै बोलिने भाषाको प्रयोग हुने भएकोले छिटो सन्देश फैलाउन सकिन्छ । यो अहिलेसम्मको अनुभव पनि हो ।’
देउडाबाटै उनीहरुले सामाजिक कुरीतिहरुको अवस्था दर्शाउने गर्छन् । कुरीतिहरुले गर्ने हानीनोक्सानी र जोगिने उपायका बारेमा राम्ररी लय मिलाएर सन्देश दिइरहेका हुन्छन् । पछिल्लो समयमा बालविवाह,छाउपडी प्रथा विरुद्धको सन्देश देउडाबाटै फैलाउने स्थानीय देउडा कलाकारको रुपमा परिचित छिन् ।
यता गुठिचौर गाउँपालिका–४ उखाडी गाउँकी रामछाया पाण्डे । उनी धुम्रपान वा मध्यपान,छाउपडीप्रथा ,बालविवाह,बहुविवाह अन्त्य गर्नेदेखि लोप हुँदै गइरहेको रैथाने बालीहरु जोगाउने उपायका बारेमा समेत देउडाभाका सुनाइरहेकी छिन् ।

सात जनाको उनको टिमले देउडाका विभिन्न भाकाहरुको प्रयोग गरेर जनचेतना फैलाइरहेको छ।रामछाया भन्छिन्,‘बालविवाह फैलँदो अवस्थामा छ । जसले किशोरकिशोरीहरुको स्वास्थ्य खतरामा देखिन्छ ।’ अब सबै मिलेर समाजमा रहेको हानिकारक अभ्यास रोक्न हातेमालो गर्नुपर्छ । समाजमा सचेतना फैलाउने जे जति माध्यम छन । ति सबैको प्रयोग गरेर अघि बढ्नुको विकल्प छैन ।’
१३ ओैँ विश्व रेडियो दिवशका अवसरमा जुम्लामा तीन दिनदेखि बालविवाह विरुद्धको सचेतनामुलक देउडा प्रतियोगिता भइरहेको थियो । देउडा मार्फत् महिलाहरुले बालविवाह अपराध हो । बालविवाह गर्ने गराउने दुवैलाई कानुनी कार्बाही हुनुपर्छ भन्ने सचेतना फैलाए ।
उनीहरुले आूहरुले बालविवाह गरेका कारण पाठेघर खस्ने,बच्चामा कुपोषण हुने,शैक्षिक प्रगतिमा बाधा पुग्ने जस्ता समस्या भोगेको अनुभव सुनाउँछिन् । बालविवाह गर्दा, छाउपडी प्रथा मान्दा हुने नोक्सानीहरुले समाजमा अपूरणीय क्षति व्योहोरीरहेको भाकाहरुमा समेटिएका थिए ।
२० वटा देउडा समूह सहभागी भएको सो प्रतियोगितामा बालविवाह नगर्न आग्रह गरे । उनीहरुले सबै मिले मात्र रोक्न सकिने भएकोले हातेमालो गरेर अघि बढ्न सुझाव दिए । उक्त प्रतियोगितामा चन्दननाथ नगरपालिका –१० पिपल गाउँकी देवकी (खत्री) गिरी कार्तिक स्वामी महिला देउडाको टिमको लिडर थिइन् ।
उनको देउडा टिमले प्रथम स्थान हासिल गरेको थियोे।भने,झगुठिचौर गाउँपालिका –४ उखाडी गाउँकी रामछाया पाण्डेको सहिद गेट महिला देउडा टिम द्वितीय भएको मुल्यांकन समितिका संयोजक विश्वराखत्रीले बताए । यस्तै दोहोरी गित प्रतियोगिता पनि गरिएको थियो ।
५ वटा टिम सहभागी भएका थिए । गुठिचौर –४ को राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्ला प्रथम भएको हो।भने चन्दननाथ –८ जातिभिड दोहोरी समुह द्वितीय भएको छ ।
क्रमश देउडा र दोहोरी प्रतियोगितामा प्रथम,द्वितीय हुने टिमलाई प्रन्ध र दस हजार र प्रमाणपत्र उपलब्ध गराईएको खत्रीले बताए । उनीहरुले अत्यधिक मदिरापान,लागुऔषधको दुर्व्यसनी रोक्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा जुट्न आव्हान समेत गरे ।
जनप्रतिनिधि,कर्मचारीहरु,संघसंस्थाका प्रतिनिधिहरु एकै थलोमा भेला भएको अवसरमा कानुन कार्यन्वयनको अवस्था फितलो भएको गुनासो सुनाए ।
जुम्लाका एक नगरपालिका,सात गाउँपालिकाका ६० वटै वडाहरुमा सुन्देशमुलक कार्यक्रमहरु गरेर हानिकारक अभ्यासहरु रोक्न समेत देउडाबाटै उनीहरुले भनेका छन् । जुम्लाका तीन सामुदायिक रेडियोहरुले देउडा प्रतियोगिताको आयोजना गरेर बालविवाह विरुद्धको सन्देश फैलाउन मद्दत गरेका थिए ।






