सामाजिक अभियन्ता खगेन्द्र सुनार रिहा


सामाजिक अभियन्ता खगेन्द्र सुनार रिहा भएका छन् । संसद भवन प्रवेश गर्न खोज्दा पक्राउ परेका दलित अभियन्ता खगेन्द्र सुनार रिहा भएका हुन् ।
मंगलबार संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। बुधबार उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।
उनी हातखुट्टा साङ्लाले बाँधेर धर्ना बसिरहेका थिए । सरकारी निकायका दलितको प्रतिनिधित्वको विषय उठाउँदै उनले धर्ना सुरु गरेका हुन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि दलित आयोगले एक विज्ञप्ति निकालेर उनलाई तत्काल रिहा गर्दै उनका उठाएका माग सम्बोधन गर्न माग गरेको थियो ।
संवैधानिक हक बमोजिम राज्यका निकायहरूमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै सुनारसहितका अभियन्ताहरूले प्रदर्शन गर्दै आएका थिए ।
उनीहरूले गएको शनिबारदेखि ‘दलितलाई मन्त्री खै?’, ‘दलितलाई बजेट खै?’, ‘दलितलाई राजदूत खै?’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै आएका थिए ।
संघीय सरकार, प्रदेश सरकार र विभिन्न संवैधानिक निकायको नियुक्तिमा दलित समुदायलाई संवैधानिक व्यवस्था बमोजिम समानुपातिक प्रतिनिधित्व दिनुपर्ने उनीहरूको माग छ ।






