अनेस्ववियुद्वारा ‘तालामुक्त एमयु’ अभियान शुरु


अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेस्ववियु) ले मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा ‘तालामुक्त एमयु’ अभियान शुरु गरेको छ । विश्वविद्यालय भित्र पठनपाठन संस्कृतिलाई विकृत पार्दै आफ्नो स्वार्थ प्राप्तिका लागि विभिन्न दवाव समूहद्वारा लगाईएका ताला फोड्दै अनेरास्ववियुले बुधबारदेखि ‘तालामुक्त एमयु’ अभियान शुरु गरेको हो ।
विद्यार्थीको उज्वल भविष्य तथा नियमित पठनपाठनसँगै गुणस्तरीय शैक्षिक गतिविधिको पक्षमा वकालत गर्दै आईरहेको अनेरास्ववियुले आंशिक प्राध्यापकहरुले स्वतः करार हुनुपर्ने माग सहित लगाईएको ताला फोडेको छ ।
अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य तथा मध्यपश्चिम विश्वविद्यालयका सह–इन्चार्ज आशिषकुमार रेग्मीले विश्वविद्यालय केन्द्रीय क्याम्पसका विभिन्न ग्रयाजुएट स्कूलहरुमा आंशिक प्राध्यापकहरुले फागुन १८ गतेदेखि लगाईएको ताला फोडिएको बताए ।
उनले विद्यार्थीका दैनिक काम कार्वाहीसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विभागहरुमा ताला नखोली विश्वविद्यालयलाई अस्तव्यस्त बनाउनेहरु विरुद्ध अभियान सञ्चालन गरिएको जनाए ।






