जुम्लामा श्रमदानबाट स्याउका बिरुवा उत्पादन

जुम्लाको तातोपानी गाउँपालिकाले श्रमदानबाट स्याउका बिरुवा उत्पादन गर्ने अभियान सुरु गरेको छ । यसका लागि गाउँपालिकाले प्रत्येक महिनाको दोस्रो शनिबार श्रमदान गर्दै आएको छ ।

पालिकाको आफ्नो परिसरमा बिरुवा उत्पादनको काम भइरहेको र यस कार्यलाई अभियानका रुपमा प्रभावकारी बनाइने पनि पालिकाले जनाएको छ । श्रमदानअन्तर्गत पालिका परिसरभित्र तत्कालका लागि ६५ वटा स्याउका बिरुवा रोपिएको र यो अभियानलाई अझै बढाउँदै लगिने बताइएको छ ।
पालिकाको श्रमदानबाट स्थानीय जातका स्याउका बिरुवा लगाउने काम सुरु भएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । पालिका परिसरको वातावरण हरियाली बनाउने र अबको पाँच वर्षपछि सेवा लिन आएका सेवाग्राहीलाई स्याउ टिपेर खानसक्ने गरी बिरुवा रोपिएको छ ।

अध्यक्ष चौलागाईंले भने, “हामीले विभिन्न क्षेत्रमा श्रमदान गरी काम गरिरहेका छौँ । श्रमदानले टुक्रे योजनामा लगानी गर्नुपर्ने रकम बचेको छ । यस पटकको श्रमदानबाट गाउँपालिका परिसरको जमिनमा स्याउका बिरुवा रोपिएको हो ।”

पहिलो चरणका स्याउका बिरुवा रोप्न उच्च अदालत सुर्खेत इजलास जुम्लाका न्यायाधीश जगदीश घिमिरे, जुम्ला जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवाल, गाउँपालिकाका अध्यक्ष चौलागाईं, उपाध्यक्ष रेवती रावल, वडा अध्यक्षहरु, कर्मचारी, शिक्षक र पत्रकारहरु उपस्थित रहेका थिए ।

गाउँपालिकाले श्रमदान अभियानबाट बाढी पहिराले भत्केका तथा पुरिएका सिँचाइ कुलो, मठमन्दिर, प्रतीक्षालय र बाटोघाटो निर्माणको काम विगत नौ महिनादेखि गर्दै आएको छ । स–साना योजना श्रमदान अभियानमार्फत निर्माण तथा मर्मत गर्दा स्थानीय सरकारको रकम बचत भएको अध्यक्ष चौलागाईंको भनाइ छ । (रासस)

जुम्लामा श्रमदानबाट स्याउका बिरुवा उत्पादन

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

जुम्लामा श्रमदानबाट स्याउका बिरुवा उत्पादन

अनेस्ववियुद्वारा ‘तालामुक्त एमयु’ अभियान शुरु