एमाले सल्यानको अध्यक्षमा भीम बहादुर सेन निर्वाचित


नेपाल कम्युनिष्ट पार्टी (एमाले) सल्यानको अध्यक्षमा भिम बहादुर सेन विजयी भएका छन् । गत आइतबारदेखि सुरु भएको दशौं जिल्ला अधिवेशन अन्तर्गत बिहीबार राती सम्पन्न मतदानबाट १८२ मत प्राप्त गर्दै सेन जिल्ला कमिटी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
अध्यक्ष पदका अर्का प्रतिस्पर्धी कुल बहादुर गिरिलाई ४३ मतले पछि पार्दै सेन निर्वाचित भएका छन् । प्रतिस्पर्धी गिरीले १३९ मत प्राप्त गरेका हुन् ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको मत परिणाम अनुसार उपाध्यक्षमा ओज बहादुर बुढाथोकीले १९३ मत प्राप्त गरेर विजयी भएका हुन् । सचिवमा पुष्पा बोहराले १७३, उपसचिवमा गणेशमान सिंहले १८० र महिला उपसचिवमा सनशिलता वली डिसीले १७३ मत ल्याएर निर्वाचित भएका हुन् । निकटतम् प्रतिस्पर्धी उपाध्यक्ष पदका उम्मेदवार दान बहादुर केसीले १२७, सचिव पदका उम्मेदवार दिपेन्द्र डिसीले १४३, उपसचिव गन्जमान बुढाले ११३ र महिला उपसचिव बुद्ध कुमारी खत्री केसीले १४१ मत प्राप्त गरेको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पर्शुराम वलीले जानकारी दिए ।
उनका अनुसार जिल्ला कमिटीका सदस्य लगायतका पदमा ५८ जना निर्विरोध निर्वाचित भएका हुन् । २५ पदका लागि ४६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । जिल्ला निर्वाचन कार्यविधि अनुसार एमाले सल्यानको ७५ सदस्सीय जिल्ला कमिटी र ७ सदस्यीय लेखा आयोग गठन हुने छ ।






