रोजगारी खोज्दै भारत पस्नेहरु बढें

जुम्लाको सिंजा गाउँपालिका– ६ का देविलाल रावत मजदुरी गर्न भारत गएका छन् । देविलालसँगै गाउँका १८ देखि २५ जना युवाले एकैदिन घर छाडेको स्थानीय बुनकला रावतले बताइन् ।

‘यतिबेला हाम्रो सिंजा गाउँपालिकामा पुरुष भेटिने घर कमै छन्’, सिंजा–४ का मिसन बुढा भन्छन् । छिमेकी गाउँपालिका कनकासुन्दी र हिमा गाउँपालिकाको अवस्था पनि उस्तै छ । सिंजा–६ मा मात्रै चार सय ४१ घरधुरीको बसोबास छ । तर, सबै पुरुष मजदुरीका लागि भारत पुगेको सिंजा–६ का वडा अध्यक्ष लालबहादुर बुढाले बताए ।

उनले भने, ‘यतिबेला गाउँमा युवा कोही छैनन् । ज्याला मजदुरी गर्नसक्ने उमेरका सबै पुरुष भारत पसेका छन्, गाउँमा महिला, वृद्धावृद्व र बालबालिका मात्रै छन् । कामको खोजीमा पुरुष भारत गएपछि ग्रामीण क्षेत्रका अधिकांश गाउँघरमा महिला मात्रै भेटिन्छन् ।’

गाउँघरमा आयआर्जनका गतिविधि नभएकाले पुरुषहरुले गाउँ छाडेको स्थानीय दिउली रोकाया बताउँछिन् । गाउँघरमा रोजगार तथा ज्याला मजदुरीका कुनै गतिविधि नभएपछि युवा भारत पलायन भएका हुन् । ज्याला मजदुरी गर्नसक्ने सिंजा क्षेत्रका सबै पुरुषहरु कार्तिक र मंसिरदेखि रोजीरोटीका लागि भारत पस्न थाल्छन् ।

गाउँबस्ती पुरुषविहीन भएकाले महिला निकै समस्यामा हुन्छन् । ‘हाम्रो गाउँमा त मर्दापर्दा पनि समस्या छ’, रोकायाले भनिन् ।

घर छाडेकाहरू फागुनदेखि नयाँ वर्ष शुरु हुनेबेला मात्रै घर फर्किन्छन् । गरिबी सूचकांकमा सबैभन्दा पछाडि रहेको सिंजा क्षेत्रमा बेरोजगारी अत्यधिक छ । आयआर्जनका अन्य उपाय नभएपछि भारत पस्नुपर्ने बाध्यता रहेको गाउँले बताउँछन् ।

अहिलेसम्म यहाँ एउटै पनि उद्योग वा कलकारखाना छैनन् । न त मजदुरहरू आवश्यक हुने कुनै आयोजना नै छ । कृषि क्षेत्रमा व्यावसायिक खेतीका लागि कुनै प्रविधिसमेत कार्यान्वयन नभएकाले स्थानीयले आफूलाई व्यावसायिक बनाउन सकेका छैनन् । ‘गाउँघरमा केही काम नभएपछि पलायन हुनुको विकल्प छैन’, अर्का युवा बिस्न बुढा भन्छन् ।

काम गर्नसक्ने युवा जनशक्तिलाई गाउँमै टिकाइराख्न उनीहरूलाई व्यावसायिक सीप तथा लगानीको वातावरण आवश्यक रहेको स्थानीय अगुवाहरू बताउँछन् । कृषि पेशामा रुची भएकालाई प्रविधि सिकाएर उत्प्रेरित गर्नुपर्ने तथा अन्य सर्वसाधारणको श्रमशक्ति जिल्लामै खर्च गराउन ठूलो आयोजना शुरु गर्नेपर्ने देखिन्छ ।

रोजगारी खोज्दै भारत पस्नेहरु बढें

गोरु काटिरहेको अवस्थामा तीन जना पक्राउ

रोजगारी खोज्दै भारत पस्नेहरु बढें

चिसोले दुई जना भूकम्प पीडितको मृत्यु