चिसोले भूकम्प पीडित थप प्रभावित

भूकम्पले घर भत्किएपछि सल्यानको दार्मा गाउँपालिका–२, लिरापाजाकी ३५ वर्षिय लीला खत्री पाँच जनाको परिवारसहित त्रिपालमा बस्दै आएकी छिन् ।
त्रिपालमा बस्दा चिसोले उनीसहित चार वर्षिया छोरीलाई ज्वरो आएको थियो । औषधि खाएपछि सन्चो भएपनि हवात्तै बढेको चिसोसँगैको वर्षातले उनको परिवारै थप प्रभावित भएको छ ।
त्रिपालमा बस्नुपर्ने बाध्यता र ओढ्ने ओछ्याउने गतिलो नभएपछि दार्मा गाउँपालिका–२, लिरापाजाकै २८ वर्षिय नीमा केसी पनि विरामी भएकी थिईन् । स्वास्थ्य सेवा कार्यालय सल्यानबाट डाक्टर, स्वास्थ्यकर्मीको टोलीले घरघर गएर स्वास्थ्योपचार गरेपछि निको भइन् । उनलाई ज्वरो आउने, शरिर दुख्ने समस्याले सताएको थियो । हवात्तै बढेको चिसो र वर्षातले गर्दा उनलाई पुनः ज्वरो आएको छ ।
यी दुई मात्र होइनन् दार्मा गाउँपालिकामा भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका परिवार थप प्रभावित भएका छन् । ह्वात्तै बढेको चिसो र वर्षातका कारण भूकम्पपीडित परिवार थप प्रभावित भएका हुन् ।
दार्मा गाउँपालिकाको तथ्यांकअनुसार भूकम्पका कारण पालिका भरी झन्डै चार हजार घर क्षति भएका थिए । एक हजार एक सय ७९ घर बस्नै नमिल्ने गरी क्षति भएपछि दुई हजार बढी त्रिपालमा बस्दै आएका थिए । चिसोका कारण उनीहरु रुघाखोकी, भाईरल ज्वरो र बालबालिका निमोनिया जस्ता रोगबाट प्रभावित भएका थिए ।
वर्षातसँगै बढेको चिसोले शरिरमा जटिल समस्या देखिन थालेको बछेलाका ४४ वर्षिय ज्ञानबहादुर खड्काले बताए । केही दिन अघि आएको ज्वरो ठीक भएपनि चिसोले समस्या बल्झिन थालेको उनले जानकारी गराए । ‘न्यानो कपडा पर्याप्त नभएकाले चिसोबाट बच्न गाह्रो भएको छ’, उनले भने, ‘खुला स्थानमा आगो बालेर खाना पकाउने हुन्थ्यो । त्रिपाल भित्र आगो बाल्दा धुवाँले बस्नै नसक्ने हुन्छ ।’ वर्षातले वरपर चिसो भएको र बाहिर आउजाउ गर्दा भित्र झनै फोहर भएको उनको भनाई छ ।
भालुखोलाकी वर्ष २१ की गर्भवती खिमा खड्का भन्छिन्, ‘एक केही दिन अघि हवात्तै बढेको चिसोले समस्या भएको छ । ओढ्ने ओछयाउने गतिलो कपडा छैनन् ।’
सोमवारको वर्षाले भूकम्पपीडितलाई थप समस्या निम्त्याएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । वर्षासँगै बढेको चिसोले झाडापखाला, निमोनिया, टाईफाईड जस्ता रोगको महामारी बढनसक्ने भएकाले सबैलाई सचेत रहन उनले आग्रह गरेका छन् ।






