सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई विप्लवको आग्रह
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफूहरुबीच भएको सहमति कार्यान्वयनको माग गरेका छन् ।
सोमबार बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना साथीहरुको रिहाइ र मुद्दा फिर्ताका लागि आग्रह गरेका हुन् ।

उनीहरुबीच करिब एक घण्टा भेटवार्ता भएको नेकपाका नेता उदय चलाउने ‘दिपक’ले जानकारी दिए । उनले भने, ‘आज महासचिव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानुभएको थियो ।
भेटमा महासचिवले सरकारसँग भएका सहमति कार्यान्यनका लागि जोड दिनुभएको छ ।’ ओली र विप्लवबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बुझिएको छ ।





