हिमपातका कारण हवाई उडान अवरुद्ध
हुम्ला, २५ फागुन ।
उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि सोमबारदेखि निरन्तर हिमपात भएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ । आइतबार बिहानबाट जिल्लामा बाक्लो बादल लागेसँगै सोमबार बिहान ७ बजेदेखि निरन्तर हिमपात भए पनि हिउँ जम्न नपाउँदै पग्लँदै गएको छ । उत्तरी नाम्खा 
गाउँपालिकासहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बिहानैदेखिको हिमपातले हिमाल सेताम्ये देखिएका छन् भने जिल्लाको तल्लो होचो क्षेत्रमा पानी परिरहेको यहाँका स्थानीयवासीले बताएका छन् । जिल्लाको माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परिहेको स्थानीयवासी शंकर रावलले जानकारी दिए । पुस, माघमा सोचेजस्तो हिमपात नभए पनि फागुनको अन्तिम समयमा आएर हिमपात
हुँदा चिसो निकै बढेको रावलले बताए । बिहानैदेखि हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोटको जनजीवन चिसोले कष्टकर बनेको छ । फागुनमा हिमपात हुँदा तापक्रम माइनसमा झरेर चिसो अत्यधिक बढेपछि यहाँका स्थानीयवासी बाक्लो कपडा लगाउनुका साथै न्यानो भएर बसेका छन् ।





