सुनसान रातमा भिआइपीको भव्य स्वागत
जाजरकोट, २५ फागुन ।
सोमबार बेलुकी एक दर्जन जीपहरू सिर्पाचौरस्थित मगर बस्तीमा पुग्दा यहाँका सर्वसाधारणहरू फूलमाला लिएर स्वागत गर्दै थिए । सोच्दै नसोचेको समय र ठाउँमा छोटै समयमा यातायातका साधन पुग्दा लालीगुराँसका फूलसहित राती १० बजेसम्म स्वागतका लागि तयार भएर बसेका सबै उमेर समूहका सर्वसाधारणहरूको अनुहारमा खुसी मात्र थिएन, अब थुप्रै खालको विकास छिटो हुनुपर्ने भाव समेत 
झल्किएको थियो । कर्णाली प्रदेश प्रदेश योजना आयोग उपाध्यक्ष डाक्टर सर्वराज खड्का, सदस्य डाक्टर दीपेन्द्र रोकाया, योगेन्द्र शाही, प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह र प्रदेशका सबै कार्यालय प्रमुखहरू बारेकोट गाउँपालिका –१ सिर्पाचौर सडक हेर्न त्यहाँ पुगेका थिए । प्रदेश
योजना आयोगले स्थलगत रुपमा गाउँ बस्तीमै पुगेर योजना बनाइ कार्यान्वन गर्नुपर्ने भन्दै सिर्पाचौर पुगेको आयोगका सदस्य डाक्टर दिपेन्द्र रोकायाले जानकारी दिए । बारेकोट गाउँपालिका गएको वर्षायाममा बाढी,पहिरो छिया,छिया बनाएको स्थलको समेत अध्ययन गरिएको छ। त्यस्तै राती नै वडा ४ को जिरीमा समेत यसैगरी भव्य
स्वागत गरिएको छ । स्वागतमा आएका ६ वर्षदेखि ७० वर्षसम्मका सबै सर्वसाधारणले सडक निर्माणसँगै अन्य विकासको लागि भारी काम गर्न बजेट तथा योजना बनाउन समेत आग्रह गरिएको छ । आयोग टोली लगायत प्रदेशसभा सदस्य सिंहलाई स्थानीयले विभिन्न माग राखेर हैरान समेत बनाएका छन् । विद्यालय,
खानेपानी, भौतिक संरचनाको माग उच्च रुपमा उठेको छ । गाउँ–गाउँमा सडक क्रान्ति नै भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । उनले भने, ‘जाजरकोट सदरमुकाममा गाडी सञ्चालनमा आएको देख्दा मेरो गाउँमा यसरी नै यातायातका साधन कहिले सञ्चालन होला भनि राती सपना समेत देख्ने गर्थे । तर मेरो
पालामा गाउँपालिका भरी सडक पुगेर यात्रा गर्न पाएको छु ।’ सडक सञ्जाल विस्तारसँगै बारेकोटको उच्च भागमा रहेको जैविक विविधता नाश हुने चिन्ता बढेको छ। वडा ४ मा रहेका दर्जन बढी पाटन, हिमाल तथा वहुमूल्य जडिबुटीहरू नाश
हुनबाट रोक्न सचेत बन्नुपर्नेमा जोड दिइएको छ । नलगाड नदीको मुख्य मुहान समेत रहेको चाखुरे क्षेत्र भौगोलिक रुपमा मात्र सुन्दर नभइ यहाँका स्थानीयवासीको मुख्य आम्दानीको स्रोत समेत बन्दै आएको छ । प्रदेशका योजना अनुगमन,निरीक्षण तथा
नयाँ योजना कस्तो बनाउने भन्नेबारे स्थलगत अध्ययनमा गएका प्रदेश योजना आयोगको टीमसँग यो कुरा उठाएको छ । विकास भारी गर्ने तर यहाँको जैविक विविधता बचाइराख्न सके पछिल्लो पुस्तालाई नासोको रुपमा समेत रहने गाउँपालिकाका अध्यक्ष शाहले बताए ।





