हिउँले खोप अभियान प्रभावित
सुर्खेत, २५ फागुन ।
कर्णाली प्रदेशका हिमाली भेगमा हिउँ परेपछि कोरोनाविरूद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ । आइतबारदेखि सुरु भएको खोप कार्यक्रम हिउँ परेपछि सोमबार अवरूद्ध भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आइतबार रातिबाट नै हिउँ पर्न थालेपछि सोमबार खोपकार्यक्रम अवरुद्ध भएको हो । हिउँ परेपछि हुम्ला, माथिल्लो मुगु र माथिल्लो 
डोल्पामा खोप लगाउने कार्यक्रम अवरूद्ध भएको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । ‘ प्रदेशका हिमाली जिल्लाका माथिल्लो भेगमा हिमपात हुँदा सोमबार खोप कार्यक्रम हुन सकेको छैन्, हिमपात कम भए बुधबारदेखि सुरु गछौं,’ चौधरीले भने । चौधरीका अनुसार आइतबार मात्रै कर्णाली
प्रदेशका १४ हजार ५६ जनाले खोप लगाएका छन् । ८ स्थानीय तहबाट भने अझै रिर्पोट आउन नसकेको उनले बताए । कर्णालीका १० जिल्लामा २८८ खोप केन्द्र तोकेर कोरोनाविरूद्धको खोप लगाउने काम भइरहेको निर्देशनालयले जनाएको छ ।





