बाँके प्रहरीद्वारा जेठमा मात्रै एक करोड बढिको अवैध सामान बरामद

बाँके प्रहरीले जेठ महिनामा मात्रै सवा करोड बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले जेठ महिनामा मात्रै १ करोड ३१ हजार ९ सय ८० रुपैयाँ बराबरको भन्सार छली गरेर ल्याइएका अवैध सामान बरामद गरेको जनाएको छ ।

बाँके प्रहरीले पछिल्लो जेठ महिनामा मात्रै अवैध उत्खनन लगायत अवैध सामान नियन्त्रणमा थप कडाइ गर्दै उक्त रकम बराबरको अवैध सामान बरामद गरेको जनाएको छ । बाँकेमा जेठ महिनामा प्रहरीले चलाएको अपरेसनमा चोरीको बस, बोलेरो जीप लगायत ७ वटा मोटरसाइकल समेत बरामद गरेको छ । त्यसैगरी अवैध उत्खननमा संलग्न भएका ५ वटा जेसिबी र ६ टिपरलाई कारबाही गर्दै १ लाख ४५ हजार रुपैयाँ राजश्व उठाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

यस्तै २ लाख ५८ हजार रुपैयाँ बराबरको भारतबाट अवैधरुपमा ल्याइएको करिब २ क्विन्टल बोइलर कुखुरा र १८ सय चल्ला बरामद गर्दै आवश्यक कारबाहीका लागि क्वारेन्टाइन कार्यालयमा पठाएको जनाइएको छ । जेठ महिनामा बाँकेमा १७१३ सवारीसाधनलाई कारबाही गर्दै १४ लाख ६१ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ । बाँके प्रहरीले सवारी धनी नखुलेका १२१ वटा मोटरसाइकल र स्कुटर लिलाम गर्दै ६ लाख १२ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएको छ ।

त्यसैगरी जेठमा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका १७२ मुद्दाहरूमा १२७ जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै कानुनी कारबाही गरिएको छ । प्रक्रिया अगाडि नबढेका ६३ मुद्दालाई जेठ महिनामै फर्छ्यौट गरिएको हो । ठाडो उजुरीतर्फ बाँके प्रहरीमा आएको ४९९ मध्ये ३५१ लाई फछ्र्यौट गरिएकोमा १५ वटा सम्बन्धित निकायमा पठाइएको छ भने १३३ वटा उजुरी फर्छ्यौट गर्न बाँकी रहेको बाँके प्रहरीले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत जेठमा ४४ जनालाई पक्राउ गर्दै त्यसबापत १८ वर्ष २ महिना २९ दिन कैद र २३ लाख ७९ हजार २७४ रुपैयाँ राजश्व सङ्कलन गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ । जेठ महिनामा चोरी भएका ७ थान मोबाइल फेला पार्दै सम्बन्धित मोबाइल धनीलाई बुझाइएको छ भने चार जना मोटरसाइकल चोरलाई पक्राउ गर्नुका साथै ९ वटा चोरी भएका मोटरसाइकल फेला पारिएको छ । त्यस्तै स्कुटर चोरीमा संलग्न रहेका दुई जनालाई स्कुटरसहित नियन्त्रणमा लिएर कारबाही गरेको बाँके प्रहरीले जनाएको छ ।

यसैगरी बाँके प्रहरीको महिला तथा बालबालिका सम्बन्धि ११ मुद्दा अन्तर्गत ३ मुद्दाका आरोपीलाई पक्राउ गरी कारबाही प्रक्रियामा ल्याइएको छ । घरेलु हिंसाको उजुरीतर्फ ६१ मध्ये ३१ वटा फर्छ्यौट गरिएको र अन्य उजुरीको अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । बाँके प्रहरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धि हराएका ९ वटा निवेदनमा ३ जनालाई फेला पार्दै परिवारको जिम्मा लगाएको जनाएको छ ।

बाँके प्रहरीद्वारा जेठमा मात्रै एक करोड बढिको अवैध सामान बरामद

हिल्सा नाकाबाट ५ हजार क्विन्टल खाद्यान्न भित्रियो

बाँके प्रहरीद्वारा जेठमा मात्रै एक करोड बढिको अवैध सामान बरामद

पानी माग्दै जुम्लामा देवताको भाकल