सडकमा पार्किङ तथा गिट्टी नराख्न अल्टिमेटम


सदरमुकाम सिमकोट बजारको सडकमा जथाभावी सवारी पार्किङ नगर्न र सडकमा निर्माण सामग्री नराख्न १५ दिन अल्टिमेटम दिइएको छ । यस्तो कार्यले यातायात व्यवस्थापनमा अवरोध पु¥याएको र बजारमा दुर्गन्ध फैलाई बजारको सौन्दर्यमा ह्रास पु¥याएको कारण यो कार्य नगर्न सबै पक्षले सिमकोट गाउँपालिकाले चेतावनी दिएको हो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले सिमकोट बजार क्षेत्रको सडक, बाटोघाटो चोक, प्रतिक्षालय, विमानस्थल वरपरका सार्वजनिक स्थलमा जथाभावी सवारी साधन पार्किङ गर्ने, ढुङ्गा, माटो, बालुवा गिट्टी थुपार्ने कार्य नगर्न सबैलाई सचेत गराउँदै १५ दिनभित्र यो कार्य पूर्णरुपमा बन्द गर्न अल्टिमेटम दिइएको बताए ।
त्यसैगरि सडक तथा विमानस्थलमा फोहोर तथा फोहोर पानी फाल्ने कार्य समेत नगर्न उनले सबैलाई सचेत गराए । उनले हाल भइरहेको यस्तो कार्यले यातायात व्यवस्थापनमा अवरोध पु¥याएको, सिमकोट बजारमा दुर्गन्ध फैलाई बजारको सौन्दर्यकरणमा ह्रास ल्याएकोले तत्काल यो कार्य रोक्नु पर्ने बताए । फोहोरका कारण कुकुर, चील र काग लगायतका पशुपन्छीहरु विमानस्थलमा प्रवेश गरी हवाई उडानमा समेत जोखिम बढाउने कार्य भएकोले त्यसलाई तत्काल बन्द गर्नुको अन्य विकल्प गाउँपालिकासँग नभएको उनले बताए ।
उनले सिमकोटको फोहोर उठाउनका लागि गाउँपालिकाले गाडीको व्यवस्था गरेको कारण तोकिएको दिनमा बजार क्षेत्रमा आउने गाडीमा फोहोर राखेर सिमकोट सरसफाई गर्ने अभियानमा सहयोग पुर्याउन समेत अनुरोध गरे । हाल भइरहेका यी नियम विरुद्धका कार्यहरु १५ दिनभित्र रोक्न सिमकोट बजार र गाउँपालिकावासीलाई आग्रह गर्दै यदि नरोकिए १५ दिनपछि कानुनी कारवाहीमा उत्रन बाध्य हुने उनले बताए । बजार क्षेत्रमा जथाभावी सवारी पार्किङ गर्ने र निर्माण सामग्री थुपार्ने समस्या टड्कारो देखिएको छ ।






