एमाले सल्यानको अधिवेशन केन्द्रीय उपाध्यक्ष ज्ञवालीले उद्घाटन गर्ने


नेकपा एमाले सल्यानको दशौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । चैत १८ गते आइतबार देखि २० गते सम्म सल्यान खलंगामा हुने दशौं जिल्ला अधिवेशनको लागि सम्पुर्ण तयारी पूरा भएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष गोबिन्द कुमार पुनले जानकारी दिए । अध्यक्ष पुनका अनुसार दशौं जिल्ला अधिवेशनलाई चैत १८ गते नेकपा एमाले केन्द्रिय कमिटी उपाध्यक्ष युवराज ज्ञवालीले उद्घाटन गर्नेछन् ।
उद्घाटन कार्यक्रममा नेकपा एमालेका पार्टी केन्द्रिय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, निर्वाचन आयोगका केन्द्रिय अध्यक्ष डा. विजय सुब्बा, पार्टीका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरब सुन्दर श्रेष्ठ, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाब जङ्ग शाह लगायतका नेताहरुको उपस्थिती रहने पार्टी अध्यक्ष पुनले जनाए । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भन्दै उनले सकभर सर्वसम्मत नेतृत्व चयन हुने, नभए चुनावी प्रक्रियामार्फत नेतृत्व चयन हुने बताए ।
अधिवेशनमा भूगोलबाट २१०, सल्लाहकार परिषद बाट २५ जना, मुल आयोजक समितिबाट ८० जना, जनबर्गिय संगठनबाट १९ जना र मनोनीत बाट १७ जना गरि ३५१ जना प्रतिनिधि सहभागी हुन लागेको नेकपा एमाले सल्यान जिल्ला कमिटी उपाध्यक्ष तथा प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजक भिम बहादुर सेनले जानकारी गराए ।
पार्टीको १० औं जिल्ला अधिवेशनको तयारी भएको र आइतबार बिहान १० बजे सम्म सबै प्रतिनिधि खलंगा आइपुग्ने र बिहान ११ बजे जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम उद्घाटनको तयारी भएको पार्टी जिल्ला कमिटी सचीव तथा प्रचार बिभाग प्रमुख ओज बहादुर बुढाथोकीले जनाए । उनले उद्घाटन कार्यक्रम पार्टीका सुभचिन्तक र पार्टी नेता कार्यकर्तालाई मात्र निमन्त्रणा गरेको जानकारी गराए ।
पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटको निश्कर्ष र पार्टी केन्द्रको सर्कुलर अनुसार देशभरका जिल्ला कमिटीको अधिवेशन हुन थालेको बताइएको छ ।






