१६ बर्षपछि सर्वसम्वत बन्यो एमाले दैलेख

नेकपा एमाले दैलेखको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । विगतका अधिवेशनमा निर्वाचनबाट नेतृत्व छनौंट हुने दैलेखमा यसपटक भने सर्वसम्मत नेतृत्व चयन भएको हो ।

गत माघ २७ गतेदेखि फागुन १ गतेसम्म चलेको आठौँ जिल्ला अधिवेशनले सूर्यबहादुर शाहीको अध्यक्षतामा ९१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत भएको छ । अध्यक्षमा सर्वसम्मत भएका शाही पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओली निकटका हुन् ।

त्यस्तै, उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा हिमालयजंग शाह, उपसचिवमा मीनबहादुर बुढा र ताराकुमारी सोनी सर्वसम्मत चयन भएका हुन् । त्यस्तै, पाँच सदस्यीय लेखा कमिटी पनि सर्वसम्मत चयन गरिएको छ । जसको अध्यक्षमा प्रेमबहादुर खड्का, उपाध्यक्षमा मनोज गौतम, सचिवमा टोपबहादुर नेपाली, सदस्यहरूमा गीताकुमारी थापा र प्रेमबहादुर बुढा निर्विरोध निर्वाचित भएका छन् ।

चार दिनसम्म चलेको अधिवेशनमा पहिलो दिन माघ २७ गते एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए । उद्घाटन सत्र सकिए लगतै पहिलो दिन बेलुका ६ बजेदेखि ८ बजेसम्म बन्दसत्र चलेको थियो । उक्त बन्द सत्रमा राजनीतिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रस्तुत प्रतिवेदन पारितसँगै प्रस्तावित निर्वाचन क्लस्टर समेत प्रतिनिधिहरुबाट पारित भएको थियो ।

त्यसपछि अधिवेशनका लागि एमाले स्थायी कमिटी सदस्य तथा दैलेख इन्चार्ज यामलाल कँडेलको अध्यक्षमा ९ सदस्यीय अध्यक्ष मण्डल बनेको थियो । नेतृत्व चयनका लागि कँडेल अध्यक्ष रहेको अध्यक्ष मण्डलमा एमाले पोलिटब्युरो सदस्य लक्ष्मीप्रसाद पोखरेल, एमाले केन्द्रीय सदस्यहरू विनोदकुमार शाह, राजबहादुर बुढा, विष्णु रिजाल, धर्मराज रेग्मी, सूर्यकुमारी श्रेष्ठ, मीनासिंह रखाल, कर्णाली प्रदेश कमिटीका उपसचिव रवीन्द्रराज शर्मा सदस्य रहेका थिए ।

यसरी भयो नेतृत्वमा सर्वसम्मत
एमाले दैलेखको नेतृत्व करिब १६ वर्षपछि सर्वसम्मत चयन भएको हो । एमाले दैलेखको पाँचौँ जिल्ला अधिवेशनबाट निर्वाचन हुँदै आएको थियो । पाँचौ अधिवेशनमा हाल एमालेका पोलिटब्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल र हाल नेकपा एकीकृत समाजवादी केन्द्रका कर्णाली अध्यक्ष अम्मरबहादुर थापाबीच चुनावी प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनपछि थापासँग पोखरेल पाराजित भएका थिए ।

छैटौँ अधिवेशनमा पनि निर्वाचन भएको थियो । जसमा हाल कर्णाली प्रदेश कमिटीका उप–सचिव रविन्द्रराज शर्मा र चामुण्डाबीन्द्रासैनी नगरपालिकाका पूर्वनगरप्रमुख सूर्यबहादुर शाहीबीच चुनावी प्रतिस्पार्धा भएको थियो । शाही शर्मासँग पराजित भएका थिए ।

त्यस्तै २०७८ सालमा भएको एमाले दैलेखको सातौँ अधिवेशनमा पनि निर्वाचन भएको थियो । जसको अध्यक्ष पदमा रविन्द्रराज शर्मा र भर्खरै सम्पन्न आठौँ अधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका शाहीबीच प्रतिस्पर्धाहुँदा शर्मासँग शाही पराजित भएका थिए ।

पाँचौँ अधिवेशन भन्दा पहिला सचिवको नेतृत्वमा एमाले जिल्ला कमिटी हुने प्रणाली थियो । सचिव र उप–सचिव मात्रै हुने पदाधिकारीमा कमिटी सदस्यहरूले चयन गर्ने व्यवस्था रहेको एमालेले जनाएको छ ।

रत्नबहादुर खड्काले खेलेको त्यो भूमिका
नारायण नगरपालिका पूर्व नगर प्रमुख तथा पूर्व कर्णाली प्रदेश कमिटी सदस्य रत्नबहादुर खड्का अध्यक्ष पदका प्रमुख दाबेदारका रूपमा उत्रिएका थिए । एमाले दैलेखको सर्वसम्मत नेतृत्व चयन गर्नमा बाहिर जस्तो हल्ला गरिएपनि खड्काले नै मूख्य भूमिका खेलेका थिए ।

नेता खड्का र एमालेका केही केन्द्रीय सदस्यले अधिवेशनको विषयमा एक महिना पहिलादेखि आन्तरिक रणनीति तयार पारेको बुझिाएको छ । एमाले स्रोतका अनुसार हालका अध्यक्ष शाही सर्वसम्मत हुने स्थिति बनेपछि अध्यक्षका प्रमुख दाबेदार मानिएका खड्कापछि हट्ने र यदी सर्वसम्मत हुने स्थिति नदेखिएको खण्डमा उम्मेदवारी दर्ता गर्ने डिजाइन तयार पारेका थिए ।

‘अधिवेशनको बन्दसत्र सुरुभएपछि अध्यक्ष मण्डलमा रहेका अधिकाशं नेताहरु निर्वाचन गर्ने पक्षमा जानू भएको थियो । बन्दसत्र सुरुभएको दिन देखिनै सूर्यबहादुर शाहीको पक्षमा सर्वसम्मत हुने वातावरण बनेपछि रत्नबहादुर खड्काले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको थियो।’ एमाले स्रोतले भन्यो ।

अधिवेशनमा खड्काले आफु अध्यक्षमा दाबी नगरेर शाहीको नेतृत्वमा सर्वसम्मत गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनलाई एमाले प्रदेश कमिटी सदस्य तथा हाल नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले साथ दिएका थिए ।

त्यस्तै, अध्यक्ष मण्डलका कारण यस पट्क एमाले दैलेखको जिल्ला कमिटी सर्वसम्मत भएको चर्चा गरिए पनि यसको मूख्य भूमिकामा खड्का नै भएको एमालेका एक नेताले जानकारी दिए । उनले भने, ‘दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट अध्यक्षका लागि प्रमुख दुई जना मात्रै उम्मेदवारका लागि आकाङ्क्षी हुनुहुन्थ्यो, क. रत्नबहादुर खड्का र क. नन्दकिशोर बस्नेत । तर, खड्काले अध्यक्षमा सर्वसम्मत हुनेभएपछि आफुले अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको थियो ।’

त्यस्तै, यसअघि नै सर्वसम्मतका लागि अध्यक्षको उम्मेदवार सूर्यबहादुर शाही भएको तर, निर्वाचनको लागि अध्यक्षमा अर्को उम्मेदवार हुनुपर्ने कुरा चलिरहेको थियो । यता, एमाले केन्द्रीय सदस्य राजबहादुर बुढा, प्रदेश कमिटी उप–सचिव रविन्द्रराज शर्मा लगायतका नेताहरू भने उपाध्यक्षमा सर्वसम्मत भएका प्रेमबहादुर बुढालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी थालेका थिए ।

बुढा यसअघि पार्टीको उपाध्यक्षहुँदै कार्यवहाक अध्यक्षका रुपमा कार्यरत थिए । त्यस्तै, यस अधिवेशनमा अध्यक्ष मण्डलका अध्यक्ष रहेका एमाले दैलेख इन्चार्ज यामलाल कँडेलले कर्णाली प्रदेश अधिवेशनको जस्तो बाहिर रूपमा कुनै पनि उम्मेदवार सहयोग गरेका थिएनन् । तर, आन्तरिक रूपमा कँडेलले पनि प्रेमबहादुर बुढालाई सहयोग गरेका थिए ।

त्यस्तै, अध्यक्ष मण्डलका सदस्य तथा एमाले पोलिटब्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल पनि अन्तिममा आएर सूर्यबहादुर शाहीको पक्षमा लागेका थिए । तर, पोखरेलले सुरुमा धीरबहादुर शाही त्यसपछि सुशीलकुमार थापालाई अध्यक्ष बनाउनुपर्ने आन्तरिक अडान लिएका थिए ।

यदी दैलेखमा निर्वाचन भएको खण्डमा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनमा भएको सिनारी देखिने सम्भावना देखिएको थियो । यदी त्यसो भएको अवस्थामा हालका निर्विरोध निर्वाचित अध्यक्ष सूर्यबहादुर शाही स्थानमा एमाले पूर्व कर्णाली प्रदेश कमिटी सदस्य तथा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका पूर्व नगरप्रमुख सूर्यबहादुर शाही उम्मेदवार बन्ने तयारीमा थिए ।

त्यस्तै, अन्तिममा एमाले दैलेखको अध्यक्ष पदका लागि सूर्यबहादुर शाही र प्रेमबहादुर बुढाबीच प्रतिस्पर्धा हुने संकेत देखिएको थियो भने, शाहीको उपाध्यक्षको उम्मेदवार रत्नबहादुर खड्का हुने आन्तरिक योजना बनेको एमालेका एक प्रदेश कमिटी सदस्यले जानकारी दिए ।

१६ बर्षपछि सर्वसम्वत बन्यो एमाले दैलेख

भेरी–बबईको ६५ प्रतिशत प्रगति, रातदिन जनशक्ति परिचालन

१६ बर्षपछि सर्वसम्वत बन्यो एमाले दैलेख

YUGAAWHAN NATIONAL DAILY (2080-11-07)