बाँकेमा जलेको अवस्थामा युवतीको शव फेला
बाँके,१५ चैत ।
नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै एक अज्ञात महिलाको जलेर मृत्यु भएको घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ।
शनिबार राति करिब १२ बजेतिर सडक छेउमा जलेको अवस्थामा करिब २५–३० वर्षीया महिला फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृतकको पहिचान अझै खुल्न नसकेको र उनी कसरी जलेको हुन् वा कसैले जलाएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दिपक पातलीका अनुसार घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान तीव्र बनाइएको छ। घटनास्थल प्रहरी विट नजिकै भए पनि घटना कसरी भयो भन्ने स्पष्ट हुन सकेको छैन। महिलाको शव राति नै पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ भने उनको शरीरका अधिकांश भाग जलेको अवस्थामा रहेको छ।
यसैबीच, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले ले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ। उहाँले यस्तो घटनाले समाजमा सुरक्षा र मानव अधिकारको प्रश्न उठाएको भन्दै निष्पक्ष र छिटो अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।
घटनाले नेपालगञ्ज क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ भने स्थानीयवासीले पनि यथाशीघ्र सत्य सार्वजनिक गर्न माग गरेका छन्। बाँकेमा महिलामाथि हुने घटनाहरू बढ्दै गएको भन्दै महिला अधिकारकर्मीहरूले स्थानीय प्रशासनप्रति असन्तुष्टि जनाएका छन्।




