ट्याक्टर दुर्घटनामा जुम्लामा एकको मृत्यु
गाेल्डेन बुढा
जुम्ला,१७ चैत।
जुम्लाको तिला गाउँपालिका–५ स्थित खोलीगाउँको बिराली ढुस्कामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।मंगलबार बिहान करिब ८ बजे कुडारी बजारबाट डुंग्री गाउँतर्फ जाँदै गरेको भे २ त १७७२ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा अनियन्त्रित भई करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएर उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक निर्देश बरालले जानकारी दिए।प्रहरीका अनुसार बालुवा बोकेको उक्त ट्याक्टर उकालो चढ्न नसकी पछाडि सर्दा पल्टिएको हो। दुर्घटनाका चालक भैर रावत फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।




