जलविद्युतमा नयाँ प्रविधिको परीक्षण: कर्णाली नदीको बहाव  नछेकी निकालिदैँ विजुली 

सुशील खड्का

सुर्खेत, १७ चैत ।

नेपालको जलविद्युत इतिहासमा हामीले अहिलेसम्म एउटै भाष्य सुन्दै र पढ्दै आएका छौं की नदी थुन्ने, ठूलो बाँध (ड्याम) बनाउने, पहाड खोपेर सुरुङ खन्ने र पानीलाई उचाइबाट खसालेर बिजुली निकाल्ने । यो हाम्रो स्थापित र पारम्परिक हाइड्रोपावर मोडेल हो । तर समय बदलिँदै जाँदा प्रविधिले यस्तो फड्को मारेको छ कि अब बिजुली निकाल्न न त नदीको बाटो छेक्नुपर्छ, न त पहाडका छाती चिर्नुपर्छ । सुन्दा कुनै कथा जस्तो लागे पनि कर्णालीको तीव्र बहावमा अहिले ठ्याक्कै यस्तै एउटा चमत्कारिक निर्माण भइरहेको छ ।

सुदूरपश्चिमको कैलाली र कर्णाली प्रदेशको सुर्खेतको सिमाना भएर बग्ने कर्णाली नदीको किनारमा अहिले नेपालकै पहिलो हाइड्रोकाइनेटिक प्रविधिको परीक्षण भइरहेको हो । विना कुनै बाँध र वातावरणीय क्षति, बगिरहेको नदीको आफ्नै गतिबाट १०० किलोवाट बिजुली निकाल्ने यो नौलो प्रयासले नेपाली ऊर्जा क्षेत्रमा नयाँ बहस र उत्साह सिर्जना गरेको छ । यो परियोजनाको एउटा रोचक पाटो के छ भने, कर्णालीको छालमा राखिने यी भीमकाय संरचनाहरू त्यहीँ निर्माण गरिएका भने होइनन् । बिजुली उत्पादनका लागि आवश्यक पर्ने डुंगाशैलीका दुई वटा ठूला डिब्बाहरू रुपन्देहीको बुटवलमा तयार पारिएका हुन् । मेघा हाइड्रो एण्ड इन्जिनियरिङ, बुटवलको कारखानामा महिनौँ लगाएर इन्जिनियरहरूले यी विशेष संरचनाहरू बनाएका हुन् । बुटवलमा तयार भएका यी गह्रौँ र जटिल संरचनाहरूलाई ठूला ट्रकमा लोड गरी कैलालीको मोहन्याल गाउँपालिका–७, साँझ बसेरी पुर्‍याइएको हो । अहिले कर्णाली नदीको बगरमा प्राविधिकहरू यी डिब्बाहरूलाई जोड्ने र टर्बाइन जडान गर्ने काममा दिनरात खटिएका छन् । बुटवलबाट कर्णालीको बगरसम्मको यो यात्रा आफैँमा चुनौतीपूर्ण थियो, तर स्वदेशी सीप र विदेशी प्रविधिको संयोजनले यसलाई सम्भव तुल्याएको छ ।

साधारणतया जलविद्युत निकाल्न पानीको उचाइ चाहिन्छ । तर, हाइड्रोकाइनेटिक प्रविधिमा पानीको बहावको गति मुख्य कुरा हो । यसलाई सजिलो गरी बुझ्दा जसरी हावाको गतिले हावा चक्की घुम्छ, त्यसैगरी नदीको पानीको गतिले पानीमुनि रहेको टर्बाइनलाई घुमाउँने छ । ‘हामीले नदीको पानीलाई कतै डाइभर्ट गर्दैनौं, न त नदीको प्राकृतिक बहावलाई नै रोक्छौं,’ मेघा हाइड्रोका इन्चार्ज अम्बिकाप्रसाद बस्याल भन्छन्, ‘नदीको बीचमा यी डुंगाशैलीका संरचनाहरूलाई फलामको बलियो साङ्लाले बाँधेर राखिन्छ । नदी जति तीव्र गतिमा बग्छ, यसले टर्बाइनलाई त्यति नै छिटो घुमाउँछ र विना कुनै वातावरणीय विनाश बिजुली उत्पादन हुन्छ ।’ धेरैको मनमा प्रश्न उठेको छ की वर्षायाममा कर्णालीमा आउने भीषण बाढीले यी संरचनालाई बगाउँदैन ? प्राविधिकहरूका अनुसार यसको डिजाइन नै तैरिने प्रकृतिको छ । यी संरचनाहरू पानीको सतहमा तैरिनेछन् । जब वर्षातमा नदीको बहाव र सतह बढ्छ, यी डुंगाहरू आफैँ माथि उठ्छन् र जब पानी घट्छ, यी विस्तारै तल बस्छन् । नदीको बीचमा यी संरचनालाई स्थिर राख्न जमिनमा गाडिएका पिलरहरूसँग बलियो साङ्लाले बाँधिएको हुन्छ । यसले गर्दा नदीको धार परिवर्तन भए पनि वा बाढी आए पनि विद्युत गृह सुरक्षित रहन्छ । यो प्रविधि नेपालका लागि एउटा उदाहरणीय परीक्षण हुन सक्ने बस्याल बताउँछन् ।

बाढी आएको बेला ठूला रुख बाहेक अन्य बालुवा र ढुंगाले यो संरचनालाई असर नगर्ने बस्यालले जानकारी दिए । यो परियोजनाको पछाडि बलियो अन्तर्राष्ट्रिय र राष्ट्रिय सहकार्य छ । बेलायत सरकारको इन्नोभेट यूकेको मुख्य लगानीमा यो काम भइरहेको हो । यसमा बेलायतको एकलस इनर्जीले मुख्य प्राविधिक डिजाइन उपलब्ध गराएको छ भने नेपालको तर्फबाट मेघा हाइड्रो एण्ड इन्जिनियरिङले निर्माण र जडानको जिम्मा लिएको छ । बस्यालका अनुसार, वर्षायामको बाढी सुरु हुनुअघि नै निर्माण सम्पन्न गरी १०० किलोवाट बिजुली निकाल्ने लक्ष्य राखिएको छ । ‘अहिले बगरमा जडानको काम अन्तिम चरणमा छ । यदि यो परीक्षण सफल भयो भने नेपालका अन्य ठूला र तीव्र बहाव भएका नदीहरूमा साना–साना ग्रिड बनाएर उज्यालो छर्न सकिनेछ,’ उनी उत्साहित हुँदै सुनाउँछन् । नेपालका कतिपय दुर्गम बस्तीहरू यस्ता छन्, जहाँ न राष्ट्रिय प्रसारण लाइन पुग्न सक्छ, न त ठूला जलविद्युत आयोजना बनाउन भूगोलले साथ दिन्छ । त्यस्ता ठाउँका लागि यो प्रविधि भविष्यको वरदान सावित हुने निश्चित छ ।

नेपालमा अहिले पनि हजारौं मेगावाट विद्युत उत्पादनको चर्चा हुन्छ, तर त्यो चर्चा अक्सर ठूला बाँध र वैदेशिक ऋणको वरिपरि घुम्दा निर्माणमा विलम्ब भइरहेको छ । कर्णालीको यो सानो तर अर्थपूर्ण १०० किलोवाटको परीक्षणले भने एउटा वैकल्पिक बाटो देखाएको छ । यसबाट बिजुलीको उत्पादन मात्र होइन, नेपाली इन्जिनियरिङ क्षेत्रका लागि एउटा नयाँ लर्निङ सेन्टर बन्ने बस्याल बताउँछन् ।

‘यो परियोजना सफल भएमा कर्णालीको पानीले बगर मात्र कटान गर्ने छैन, किनाराका बस्तीमा फलामे संरचनाहरूलाई घुमाएर स्थानीयको घरमा उज्यालो पुर्‍याउनेछ,’ बस्याल भन्छन्, ‘सफल नतिजा दियो भने, भोलिका दिनमा नेपालका कोशी, गण्डकी, कर्णाली र अन्य ठूला नदीहरू बिजुली निकाल्ने खुला कारखानाका रूपमा विकसित हुनेछन् ।’ अहिले सुर्खेत र कैलालीका बासिन्दाहरू मात्र होइन, सिङ्गो ऊर्जा क्षेत्रका विज्ञहरू कर्णालीको यो किनारमा भइरहेको अन्तिम जडानको कामलाई निकै चासोका साथ नियालिरहेका छन् । कर्णालीको यो बहावले नेपाली इन्जिनियरिङमा एउटा नयाँ र आशलाग्दो इतिहास लेख्ने तयारी गरिरहेको छ ।

जलविद्युतमा नयाँ प्रविधिको परीक्षण:  कर्णाली नदीको बहाव   नछेकी निकालिदैँ विजुली 

कञ्चनपुरको बैजनाथ मावि सङ्कटमा 

जलविद्युतमा नयाँ प्रविधिको परीक्षण:  कर्णाली नदीको बहाव   नछेकी निकालिदैँ विजुली 

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

Leave a comment

Your email address will not be published. Required fields are marked *