हिमाली जिल्लामा प्राथमिकता—हुम्ला र डोल्पामा नयाँ शैक्षिक सत्रका पाठ्यपुस्तक वितरण सुरु

बाँके ,१७ चैत ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले कर्णाली प्रदेशका दुर्गम हिमाली जिल्ला हुम्ला र डोल्पामा नयाँ शैक्षिक सत्र २०८३ का लागि पाठ्यपुस्तक पठाएर वितरण सुरु गरेको छ ।
प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख रुद्र खनालका अनुसार चैत १६ गते सोमबारदेखि हुम्ला र डोल्पामा पुस्तक वितरण सुरु गरिएको हो । नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा वितरण गर्न नेपालगन्जस्थित गोदाममा पर्याप्त मौज्दात पुगेको उहाँले जानकारी दिनुभयो ।
“लुम्बिनी र कर्णालीका जिल्लाका लागि आवश्यक पाठ्यपुस्तक नेपालगन्ज गोदाममा आइसकेको छ । हाल करिब ८५ प्रतिशत पुस्तक मौज्दातमै छ,” प्रमुख खनालले भन्नुभयो, “प्राथमिकताका आधारमा हिमाल, पहाड र तराईका जिल्लामा क्रमशः वितरण गरिरहेका छौँ । हुम्ला र डोल्पाका केही बिक्रेताले आवश्यक पुस्तक लगिसक्नुभएको छ ।”
जिल्लागत रूपमा वितरणलाई व्यवस्थित बनाउन समयतालिका समेत तय गरिएको छ । सो अनुसार चैत १६ गते हुम्ला र डोल्पा, १७ गते रुकुम पूर्व, १८ र १९ गते रुकुम पश्चिम, २० र २१ गते रोल्पा, २२ गते जाजरकोट, २३ र २४ गते सल्यान, २५ र २६ गते दाङ, २७ र २८ गते बर्दिया तथा २९ र ३० गते बाँके जिल्लामा पुस्तक वितरण गरिनेछ ।
प्रमुख खनालका अनुसार पहिलो चरणमा चैत १६ देखि ३० गतेसम्म वितरण गरिनेछ भने दोस्रो चरणमा वैशाख १ देखि १५ गतेसम्म छुटेका बिक्रेतालाई पुस्तक उपलब्ध गराइनेछ । “विद्यार्थीले विद्यालय खुलेकै पहिलो दिन सबै पाठ्यपुस्तक पाउने सुनिश्चितताका लागि सेटमै वितरण गर्ने व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो ।
यस वर्ष १५ लाख ९१ हजार थान पुस्तक बिक्री गर्ने लक्ष्य राखिएकोमा हालसम्म १३ लाख ३५ हजार थान पुस्तक (करिब ८५ प्रतिशत) गोदाममा मौज्दात रहेको र बाँकी पुस्तक आउने क्रममा रहेको जनाइएको छ ।
गत आर्थिक वर्षमा १२० बिक्रेतामार्फत १९ करोड ६० लाख रुपैयाँ बराबरका १४ लाख ७३ हजार थान पुस्तक बिक्री वितरण गरिएको थियो । चालु आर्थिक वर्षमा भने करिब २१ करोड रुपैयाँ बराबरका १५ लाख ९१ हजार थान पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको छ ।
नेपालगन्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यान तथा लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी १० जिल्लामा पाठ्यपुस्तक वितरण हुँदै आएको छ ।
जनक शिक्षा सामग्री केन्द्रले कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तक वितरण गर्दै आएकोमा गत वर्षदेखि कक्षा ३ का पुस्तक समेत बिक्री सुरु गरेको छ । संस्थाले विराटनगर, पोखरा, भरतपुर, बुटवल, सुर्खेत, नेपालगन्ज, धनगढी र काठमाडौँस्थित आफ्ना बिक्री केन्द्रमार्फत देशभर पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ ।

हिमाली जिल्लामा प्राथमिकता—हुम्ला र डोल्पामा नयाँ शैक्षिक सत्रका पाठ्यपुस्तक वितरण सुरु

ट्याक्टर दुर्घटनामा जुम्लामा एकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds