भाडगाउँकाे दिलौरीमा प्राविधिक शिक्षालय निर्माण सुरु
गाेल्डेन बुढा
जुम्ला,१७ चैत ।
जुम्लाको सिँजा गाउँपालिका–६ को दुर्गम भाडगाउँस्थित दिलौरी चौरमा बहुप्राविधिक शिक्षालय निर्माणको काम सुरु हुनु कर्णालीको शैक्षिक रूपान्तरणतर्फको एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी, भक्तपुरले २०७९ साल माघमा सिँजामा शिक्षालय स्थापना गर्न स्वीकृति दिएपछि स्थानीय तह, प्रदेश र बाह्य सहयोगको बहुस्तरीय प्रयास अहिले भौतिक संरचना निर्माणसम्म आइपुगेको हो।पहिलो चरणमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत १५ लाख रुपैयाँ बजेट विनियोजन भई निर्माण कार्य अघि बढाइएको छ। यद्यपि, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार २४ वटा भवनसहितको शिक्षालय निर्माणका लागि कुल ७८ करोड रुपैयाँ आवश्यक पर्नेछ, जसले यो परियोजना दीर्घकालीन र चरणबद्ध लगानीमा आधारित हुने स्पष्ट संकेत गर्दछ।यता सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार विगत तीन वर्षदेखि निरन्तर पहलकै परिणामस्वरूप परियोजना अहिले कार्यान्वयन चरणमा प्रवेश गरेको हो। उनका अनुसार भारतीय दूतावाससँग १९ करोड रुपैयाँ सहयोगका लागि डेढ वर्षदेखि निरन्तर कूटनीतिक तथा प्रशासनिक पहल भइरहेको छ। प्रस्ताव आवश्यक कागजातसहित दूतावासमा पेश भइसकेको छ।भारतीय पक्षले १९ करोड रुपैयाँ लगानी गर्ने सर्तमा स्थानीय तहले करिब पाँच प्रतिशत अर्थात् तीन करोड रुपैयाँ बराबरको साझेदारी गर्नुपर्ने शर्त अघि सारेको छ। सीमित आन्तरिक स्रोतका बाबजुद गाउँपालिकाले उक्त सर्त पूरा गर्ने दिशामा पहल गरिरहेको अध्यक्ष धिताल बताउँछन्। उनका अनुसार गाउँपालिकाको आर्थिक क्षमता कमजोर रहे पनि संस्थागत समन्वय, कागजी प्रक्रिया र पहुँच विस्तारमा जनप्रतिनिधि तथा कर्मचारी सक्रिय रूपमा लागिरहेका छन्।यस परियोजनाको अर्को महत्वपूर्ण पक्ष भनेको स्थानीय समुदायको उल्लेखनीय सहभागिता हो। भाडगाउँका स्थानीयवासीले झन्डै एक लाख वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन्। पन्नलाल रावत, कर्णबहादुर रावत, जोमानसिंह रावत र सौऱ्य रावतलगायतले जग्गा दान गरेका हुन् भने अन्य स्थानीय पनि थप सहयोगका लागि इच्छुक रहेको बताइएको छ। जग्गा पास प्रक्रियामा गाउँपालिकाले राजस्व व्यहोरेको छ।दुर्गम भौगोलिक अवस्थाका कारण शिक्षा र सीपमूलक अवसरबाट वञ्चित भइरहेका कर्णालीका विद्यार्थीका लागि यो शिक्षालय अवसरको नयाँ ढोका बन्ने अपेक्षा गरिएको छ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाका अनुसार ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षाको पहुँच विस्तार हुनु आफैंमा ठूलो उपलब्धि हो, जसले स्थानीय जनशक्तिलाई दक्ष बनाउन र रोजगारी सिर्जनामा टेवा पुर्याउनेछ।उक्त भाडगाँउका स्थानीय बुद्धिजीवी पूर्णबहादुर रावतका अनुसार सरकारी लगानीमा भाडगाउँजस्तो विकट क्षेत्रमा शिक्षालय स्थापना हुनु सामाजिक न्याय र समावेशी विकासको संकेत हो। उनले यसलाई दीर्घकालीन रूपमा ‘हिमालयन युनिभर्सिटी’ को आधारका रूपमा समेत व्याख्या गरेका छन्। उनका अनुसार सिँजाको जैविक सम्पदा र जडिबुटी स्रोतलाई ध्यानमा राख्दै यहाँ जडिबुटी अनुसन्धान केन्द्र विकास गर्ने सम्भावना समेत प्रबल छ।स्थानीय सरकारको सक्रियता, समुदायको उदार सहयोग र बाह्य स्रोतको खोजी,यी तीनै आयामको संयोजनले यो परियोजना केवल भौतिक संरचना निर्माणमा सीमित नभई कर्णालीको शैक्षिक, आर्थिक र सामाजिक रूपान्तरणको आधारशिला बन्न सक्ने देखिन्छ। अबको चुनौती भनेको स्रोत व्यवस्थापन, दिगोपन र गुणस्तरीय कार्यान्वयन सुनिश्चित गर्नु हो।





