सुर्खेत बहुमुखी क्याम्पसमा एलएलबी कार्यक्रम सञ्चालन तयारी : सम्भाव्यता अध्ययन र सरोकारवालासँग अन्तरक्रिया सम्पन्न
सुर्खेत ,१५ चैत ।
सुर्खेत बहुमुखी क्याम्पसमा तीन वर्षे स्नातक तह कानून (एलएलबी) कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस प्रमुख माधवप्रसाद खनालको अध्यक्षता तथा कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्णबहादुर हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा क्याम्पस कार्यसमिति तथा व्यवस्थापन समितिका सदस्यहरू, वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख, प्राध्यापक संघका सभापति, वार एसोसिएसनका सचिव, सुर्खेतस्थित अधिवक्ताहरू, पूर्व क्याम्पस प्रमुखहरू, सह–महान्यायाधिवक्ता, लुम्बिनी प्रदेश सरकारका सचिव, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले कर्णाली प्रदेशमा तीन वर्षे एलएलबी कार्यक्रम सञ्चालनको आवश्यकता र औचित्य रहेको धारणा राख्दै कार्यक्रम सुरु गर्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले स्थानीय स्तरमै कानून शिक्षा उपलब्ध हुँदा दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
यसै क्रममा स्थलगत सम्भाव्यता अध्ययनका लागि आएका त्रिभुवन विश्वविद्यालय, कानून संकायका सहायक डीन डा. नेवल चौधरीले सुर्खेत बहुमुखी क्याम्पसमा एलएलबी कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति तथा स्रोत–साधन पर्याप्त रहेको उल्लेख गरे।साथै, सरोकारवालाबाट प्राप्त सकारात्मक सहयोगका कारण कार्यक्रम स्वीकृत हुनेमा आफू विश्वस्त रहेको उनले बताए।
यद्यपि, कार्यक्रम सञ्चालनसँगै शैक्षिक गुणस्तर कायम राख्न विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।





