भारतबाट ल्याउँदै गरेको अवैध ४५ क्विन्टल तोरी बरामद
बर्दिया ,१५ चैत ।
बर्दियामा प्रहरीले भारतबाट अवैधरुपमा नेपाल तर्फ ल्याउँदै गरेको ४५ क्विन्टल तोरी सहित आटो र अटो चालक पक्राउ गरेको छ । भारतबाट तोरी ल्याउँदै गरेको अवस्थामा सो तोरी गुलरिया नगरपालिका वडा नं ११ भादापुल स्थित सिमानाकाबाट पक्राउ गरिएको हो ।
लुम्बिनी प्रदेश प्रहरी दाङ र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको तोरी आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको छ । प्रहरीले ४५ क्विन्टल तोरी, अटो ८ ओटा, मोटरसाइकल एक थान र ९ जना मानिस पक्राउ गरेको जनाएको छ । पक्राउ परेका समानको अन्दाजी बजार मूल्य १६ लाख ८० हजार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक प्रमेश विष्टले बताउनु भयो ।
पक्राउ पर्नेमा मोटरसाइकल सहित गुलरिया नगरपालिका वडा नं १० बस्न ५० वर्षीय ल्याकद अली रहेका छन् भने अटो सहित पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नं ८ बस्ने ३० वर्षीय नसिम मनिहार,६० वर्षीय बराती मनिहार, २४ वर्षीय राजा मनिहार, ३२ वर्षीय शकिल मनिहार, २८ वर्षीय जाबेत अहमल जोहाल, ४० वर्षीय जाहित अलि अन्सारी, ४३ वर्षीय अनिप मनिहार र गुलरिया नगरपालिका ९ बस्ने २० वर्षीय आलिक तेली रहेका छन् ।
पक्राउ परेका सामान सहित उहाँहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाइएको प्रहरी नायव उपरिक्षक विष्टले बताउनुभयो ।




