बाँके ,१२ चैत ।
बाँकेको बैजनाथ गाउँपालिकामा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न गरिएको छ। ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र, फुल्टेका–५ नेपालगन्जको आयोजना तथा बैजनाथ गाउँपालिकाको समन्वयमा पालिकाका सबै वडामा उक्त शिविर सञ्चालन गरिएको हो।
शिविरमा कुल ८१६ जनाको कान परीक्षण गरिएको छ। परीक्षणका क्रममा १२७ जनामा कान पाक्ने समस्या, १०२ जनामा काने गुजी र ३५ जनामा शल्यक्रिया आवश्यक पर्ने अवस्था पहिचान गरिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्रका आउटरिच इन्चार्ज भीषण कुमार थारुले जानकारी दिनुभयो।
ग्रामीण क्षेत्रमा कान स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने तथा उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले स्थानीय सरकारसँगको सहकार्यमा यस्ता निःशुल्क शिविर सञ्चालन गर्दै आएको केन्द्रले जनाएको छ। जटिल समस्या भएका बिरामीलाई विशेष छुटसहित केन्द्रमै शल्यक्रिया सेवा प्रदान गरिँदै आएको प्रमुख चेतनारायण चौधरीले बताउनुभयो।
उक्त शिविरमा कान सहायक चिकित्सक तथा स्वास्थ्यकर्मीहरू भीषण कुमार थारु, दामोदर चौधरी, सीता चौधरी र तिर्थमान थारुले बिरामीहरूको परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।